२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

नेपाल लाओससँग पहिलो पटक पराजित

मध्यान्ह
२०८२ जेठ २७ गते २०:३५
नेपाल लाओससँग पहिलो पटक पराजित

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक लाओससँग हार व्यहोरेको छ । मंगलबार न्यू लाओस नेसनल स्टेडियममा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओसले नेपाललाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

खेलको १३औं मिनेटमा लाओसका अनाउसोने छापान्याले कर्नरबाट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा नेपालले गोल गर्ने अवसर सिर्जना गर्न नसक्दा लाओस १–० ले अगाडि रह्यो । दोस्रो हाफको चौथो मिनेटमा पिटर फान्थाभोङले गोल थप्दै लाओसको अग्रता २–० बनाए ।

खेलको ७१औं मिनेटमा नेपालका मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर घटाए । तर, थप गोल गर्न नसक्दा नेपाल हार व्यहोर्न बाध्य भयो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलमा नेपालले अंक जोड्न सकेको छैन ।

नेपाल र लाओसबीचको यो सातौं भेट थियो। यसअघि नेपालले लाओसलाई तीन खेलमा हराएको थियो भने तीन खेल बराबरीमा सकिएका थिए । सन् २०२३ मा भएको थ्री नेसन्स कपमा नेपालले लाओसलाई दुई खेलमा पराजित गरेको थियो । तर, यसपटक लाओसले घरेलु मैदानमा बदला लिन सफल भयो ।

नेपालले छनोटअघि हङकङसँग मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । प्रशिक्षक म्याट रसको नेतृत्वमा नेपालले चौथो खेल खेल्दा सिंगापुरविरुद्ध जित, मलेसियासँग हार र हङकङसँग बराबरीको नतिजा निकालेको थियो ।

नेपाल रहेको समूहमा लाओस, मलेसिया र भियतनाम छन्। वरीयतामा भियतनाम र मलेसिया नेपालभन्दा बलिया छन् । प्रत्येक टोलीले होम एन्ड अवे आधारमा ६ खेल खेल्नेछन् । समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औं एसियन कपमा स्थान बनाउनेछ ।

ADV

सम्बन्धित खबर