२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

मानव विकास सूचकांकमा नेपाल १४५औं स्थानमा

shivam cement
२०८२ जेठ २७ गते २१:१३
Shares
मानव विकास सूचकांकमा नेपाल १४५औं स्थानमा

काठमाडौं : मानव विकास सूचकांकमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले मंगलबार एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरेको मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५)ले नेपाल शून्य दशमलव ६२२ सूचकांकसहित एक सय ४५औँं स्थानमा पुगेको देखाएको हो । 

पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकांकमा ५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपालको मानव विकास सूचकांक खराब हुनुमा प्रतिव्यक्ति आय कमजोर हुनु र लैंगिक असमानता कायम रहनुलाई पनि प्रमुख कारण मानिएको छ ।

प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।

उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेगरी नीतिगत प्रयासहरू अगाडि बढाइएको उनको भनाइ छ । मन्त्री गुरूङले अनुसन्धान र विकासक्षेत्रमा एआईको प्रयोग बढाउने नीति लिइएको समेत बताए । 

त्यस्तै शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा एआईलाई कसरी प्रभावकारी ढंगले उपयोग गर्न सकिन्छ र यसले नेपालको उत्पादकत्व तथा नागरिक सेवा प्रवाहलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने बारे पनि अध्ययन भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर