सोलुखुम्बु : सोलुखुम्बुमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मंगलबार बिहान सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरस्थित सडकमा सल्लेरीबाट पत्तालेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स ९१९४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा अटोमा सवार ओखलढुङ्गा मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अटो चालक समेत ३ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।