२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

मुन्दुम पदमार्गलाई तपोभूमिका रूपमा विकास गरिने

मध्यान्ह
२०८२ जेठ २८ गते १५:२६
मुन्दुम पदमार्गलाई तपोभूमिका रूपमा विकास गरिने

भोजपुर : संघीय सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । पूर्वी नेपालको सुन्दर र शान्त क्षेत्र भएकाले यसलाई तपोभूमिका रूपमा अघि बढाउने योजना बनाइएको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुन्दुम पदमार्गलाई पर्यटकीय, योग, ध्यान, अनुसन्धान र तपोभूमिको केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध काम गरिने उनको भनाइ छ । समथर घाँसे मैदानहरू रहेकाले यो क्षेत्रलाई गल्फ क्षेत्रका रूपमा पनि विकास गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे ।

‘यो पूर्वको सुन्दर पदमार्ग हो,’ अध्यक्ष बस्नेतले भने, ‘यो क्षेत्र शान्त र रमणीय छ । हामीले यसलाई तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गरेको प्रतिक्रिया दिएका छन् ।’

पदमार्गलाई ट्रेकिङ र शान्त तपोभूमिका रूपमा विकास गर्न सडक निर्माणमा रोक लगाइएको बस्नेतले बताए । प्राकृतिक स्वरूप जोगाउन पालिका सजग रहेको र योग, ध्यान, साधनाका लागि हप्तौँ बिताउन सकिने वातावरण बनाउने योजना रहेको उनले उल्लेख गरे ।

पूर्वको सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले पर्यटकीय गतिविधि विस्तारको योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । छोटो समयमा पर्यटक संख्या बढेपछि पूर्वाधार विकासमा जोड दिइएको उनको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिएको टेम्केमैयुङ गाउँपालिकामा पर्यटन र कृषि विकासलाई प्राथमिकता दिइएको उपाध्यक्ष रमादेवी राईले बताइन् । मुन्दुम पदमार्गमा आउने पर्यटकका लागि चखेवामा पर्यटन सूचना केन्द्र बनाइएको उनले जानकारी दिइन् ।

सूचना केन्द्रबाट पदमार्गको विशेषता, भौगोलिक अवस्था, घुम्नुपर्ने स्थान, यात्राको समय, आवास व्यवस्था र सुरक्षित यात्राबारे जानकारी दिइने राईले बताइन् ।

‘यो पदमार्ग पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ,’ उनले भनिन्, ‘हामी यो क्षेत्रको बृहत् विकासमा जुटेका छौँ । पदमार्गलाई साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।’

पदमार्गबाट सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजङ्घालगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । हावापानी सन्तुलित भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । बर्सेनि यहाँ भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

पदमार्ग हुँदै भोजपुरको४१५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । किराँत संस्कृति झल्काउने संरचना, घाँसे मैदान, चौँरी र भेँडीगोठले पर्यटकलाई आनन्दित बनाउने गर्छ । 
 

ADV

सम्बन्धित खबर