काठमाडौँ : संघीय संसद्अन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।