२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

shivam cement
२०८२ जेठ २९ गते १२:०१
Shares
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

लुम्बिनीः राजस्व अनुसन्धान कार्यालय बुटवलले चालू आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । 

बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । 

चालू आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।

त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए । उनका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो ।

रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गरे । 

तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशङ्का व्यक्त गरे । ‘सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन’, उनले भने । 

प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताए । 

ताजा खबर

सम्बन्धित खबर