सिरहा : सिरहाको लक्ष्मीपुर पतारी र सखुवानन्कारकट्टीलाई भौरसम्म जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । मधेश प्रदेश सांसद राजकुमार गुप्ता (राजू) को प्रमुख आतिथ्यमा सडकको शिलान्यास गरिएको हो । सो क्रममा सांसद गुप्ताले चुनावी वाचाअनुसार सडक निर्माणमार्फत लक्ष्मीपुर पतारी र सखुवानन्कारकट्टी गाउँपालिकालाई जोड्ने आफ्नो प्रतिबद्धता पूरा गरेको घोषणा गरे ।
सांसद गुप्ताले चुनावी अभियानका क्रममा उक्त सडक स्तरोन्नति गर्ने वाचा गरेका थिए । यो सडकले दुई गाउँपालिकाबीचको यातायात सञ्जाललाई बलियो बनाउँदै सामाजिक–आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका अध्यक्ष मधेश प्रदेश समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष दीपेश कुमार यादवले भने, ‘यो सडक लक्ष्मीपुर पतारीको पत्थरगाडादेखि सखुवानन्कारकट्टीको कटैयाहुँदै भौरसम्म जोडिनेछ । विगतमा हिलो र खाल्डखुल्डीले आवागमन कठिन थियो। अब यो सडकले जनजीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।’
कार्यक्रममा लक्ष्मीपुर पतारी वडा नं. ४ का वडाध्यक्ष अजय कुमार, जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष नागेन्द्र कुमार यादव, भगवानपुर गाउँपालिका पूर्व अध्यक्ष बेचन प्रसाद यादव, जसपा नेपालका जिल्ला उपसचिव इन्दल कुमार मण्डल र पूर्व वडा अध्यक्ष महेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
‘लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति योजना’ मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय, सिरहाले कार्यान्वयन गरिरहेको छ । पथलगाडा स्कूलदेखि भौरको हनुमान मन्दिरसम्म फैलिएको यो सडक लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति उपभोक्ता समितिको नेतृत्वमा निर्माण हुँदैछ । समितिका अध्यक्ष सन्तोष कुमार बादवले भने, ‘जनश्रमदान र स्थानीय सहभागिताले यो योजना पारदर्शी र गुणस्तरीय हुनेछ । हामी समयमै काम सम्पन्न गर्न प्रतिबद्ध छौं ।’योजनाको कुल लागत रु.२५,५६,५०७.८२ अनुमान गरिएको छ, जसमा रु. १,५६,५०७.८२ जनश्रमदान र बाँकी रु. २४,००,००० मधेश प्रदेश सरकारले उपलब्ध गराउनेछ ।