२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

अर्को झमेलामा रास्वपा

shivam cement
जीवन शर्मा
२०८२ असार ८ गते ०७:४१
अर्को झमेलामा रास्वपा

काठमाडौं : स्थापनाको चौथो वर्षमा प्रवेश गरेको प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्को झमेलामा फसेको छ । पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेका पूर्वमहामन्त्री डा.मुलुक ढकाललाई निर्वाचन आयोग नेपालले महामन्त्री कायम रहेको तथ्य सार्वजनीक गरेसँगै पार्टीमा नयाँ समस्या बल्झिएको हो । 

ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेका थिए । सो निवेदनका सन्दर्भमा आयोगले २० चैत, २०८० यता पार्टीको विवरण अद्यावधिक नभएको जवाफ दिएपछि रास्वपाको आधिकारीक सूचीमा ढकाल नै महामन्त्री देखिन्छन् । पार्टीको केन्द्रीय समिति र सदस्यहरूको विवरण १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको आयोगको जिकीर छ । 

शनिवार तेस्रो वार्षिक उत्सव मनाउँदै गर्दा पार्टीले कार्यबाहक महामन्त्री  कबिन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णय गरेको छ । तर,  निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको सन्देश प्रवाह गरेपछि रास्वपामा २ वटा महामन्त्रीको लफडा थपिएको रास्वपाका एक नेताले बताए । उनले मध्यान्हसँग भने ‘पार्टी स्थापना देखिनै समस्यामा पर्दै आएको पार्टी हो । आन्तरिक र बाह्य समस्या झेल्दै आएका कारण यो पार्टीले नागरिकका सास्यालाई उचाईमा पु¥याउँनै सकेन ।’

२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए । त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । महामन्त्री मुकुल ढकालले देशव्यापी भ्रमण गरी पार्टीको वास्तविक अववस्था चित्रण गरेर प्रतिवेदन पेश गरेपछि सभापति रवि लामिछाने लगायत संस्थापन पक्षले ढकालमाथि कारबाहीको डण्डा चलाएको थियो । पार्टी अनुशासन विपरीत काम गरेको आरोपमा उनलाई २५ असार, २०८१ मा केन्द्रिय समितिको बैठकबाट निर्णय गरी केन्द्रीय सदस्य, प्रवक्ता एवं महामन्त्रीको जिम्मेवारीबाट हटाउएको थियो । त्यही दिन पार्टीका पदाधिकारीहरूको हेरफेर भएको रास्वपाले जनाएको छ  ।

त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए । त्यहीदिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको आयोगको अभिलेख मार्फत जानकारी प्राप्त भएको डा मुकुल ढकालले बताए । ‘निकै दुखः गरेर निर्माण गरेको पार्टीलाई एउटा व्यक्तिगत क्लवजस्तो बनाउने कुरामा फरक मत राख्दा मलाई निकालिएको हो’, ढकालले भने ‘आधिकारीक रूपमा म अझै पार्टीमै छु, केही व्यक्तिहरूले रविलामिछाने क्लवबाट निकालेका हुन् । विस्तारै पार्टी हामीसँगै आउँछ ।’  

तर रास्वपाका नेताहरूले निर्वाचन आयोगमा समयमै विवरणलाई अध्यावधिक नगरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीले दलको विवरण परिवर्तनको पत्र १७ साउन २०८१ मा निर्वाचन आयोगमा दर्ता गरिएपनि हाल सम्म अध्याबधिक नगरिनु सरकारी कामको बदमासी भएको टिप्पणी गरे । रास्वपाले महामन्त्री मुलुक ढकाललाई हटाएर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी र मनिष झालाई कार्यबाहक प्रवक्ताको जिम्मेवारीसहित सहमहामन्त्री हेरफेर गरेको नयाँ विवरण अध्यावधिक गर्न १७ साउन २०८१ मा आयोगमा पत्र दर्ता गराएका थिए । सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन । उनको विवरण समेत आयोगमा अद्यावधिक भएको छैन । 

स्थापना दिवसको अवसरमा रिक्त रहेका पदहरूमा केन्द्रिय समितिको निर्णय अनुसार जिम्मेवारी पुनः हेरफेर गरेको छ । निर्णय अनुसार महामन्त्रीको जिम्मेवारीमा बुर्लाकोटीलाई बढूवा गरेको छ भने मनिषलाई प्रवक्ता बनाएको छ । नव नियुक्त प्रवक्त मनिष झाले भने ‘वैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने अठोटका हामी अभियानकै रुपमा पार्टीको विस्तार र सुदृढीकरणमा सक्रिय छौं’, यसको निरन्तरताले जीवन्त र अनुशासित संगठनको रूपमा सुदृढ हुँदै आम नागरिकको आवाजलाई सशक्त बनाउने छौं ।’ 

परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको बताउँदै झाले निर्वाचन आयोगको समेत कमजोरी रहेको बताए । सहकारी ठगी तथा संगठित अपराध अनुसन्धानका क्रममा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेको विषयमा नैतिकताको प्रश्न र झमेला झेलिरहेको रास्वपा महामन्त्रीको अर्को झमेलामा फसेपछि कार्यकर्ताहरूको उत्साहसमेत कमजोर हुँदै आएको कतिपय नेताहरूले बताएका छन् । सधैँ झमेलामा मात्रै फस्दा पार्टीका कार्यकर्ता र सुभेच्छुकहरूमा निराशा छाउने अवस्था आएको उनिहरूको गुनासो छ ।  
 

ADV

सम्बन्धित खबर

Advertise