२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

वाम राजनीति : बहसमा एकता, व्यवहारमा विभाजन

shivam cement
जीवन शर्मा
२०८२ असार ९ गते ०६:३०
वाम राजनीति : बहसमा एकता, व्यवहारमा विभाजन

काठमाडौं : नेपालको राजनीतिमा वाम तथा कम्युनिष्ट पार्टीहरू जति एकताको कुरा गर्छन्, त्यसभन्दा बढी क्षयीकरणको बाटो अबलम्बन गर्दै आएका छन् । 

वाम दलहरूले बहसमा वामपन्थी एकताको विकल्प नभएको निष्कर्ष निकाल्दै आएपनि व्यवहारमा विभाजनले निरन्तरता पाउँदा कम्युनिष्ट आन्दोलनमाथिको विश्वास घट्दै गएको स्वयं वाम नेताहरू बताउँछन् । 

पछिल्लो केही वर्षयता नेकपा (एमाले) सहित साना कम्युनिष्ट पार्टीहरू समेत फुटको शिकार भएका छन् । वाम घटकहरूको विभाजनले निरन्तरता पाइरहेपनि उनीहरूले बेलाबखत समान विचारधाराका दल तथा समूहसँग समन्वय, सहकार्य र एकताको रटान भने छाडेका छैनन्  । 

वामपन्थी एकताको अनिवार्य सर्त राखेका नेताहरू पद, प्रतिष्ठा र पैसाका लागि टुक्रिने प्रवृत्ति नरोकिएको स्वयम् कम्युनिष्ट नेताहरूले स्वीकार गरेका छन् । वाम तथा कम्युनिष्ट एकता अनिवार्य छ, तर त्यहाँसम्म पुग्ने अवस्था अहिले नै नरहेको नेताहरू बताउँछन् । 

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य पेशल खतिवडाले वाम एकता आवश्यक भएपनि भरेभोलि नै भइहाल्छ भनेर हिँड्ने अवस्था नरहेको बताए । ‘राष्टियता, जनजिविका, जनतन्त्र र सुशासनका पक्षमा संयुक्त मोर्चा बनेर जाने कुरा एउटा हो तर एकता भइहाल्ने भन्ने होइन’, उनले मध्यान्हसँग भने । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्र विक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको अवधारण अन्ततः पार्टी एकता नै भएको खतिवडाले बताए । 

सत्ता र शक्तिका लागि कम्युनिष्ट पार्टीहरूमा फुटको अवस्था निरन्तरता भएपनि कतिपय फुठले कम्युनिष्ट आन्दोलनमा घाटा नपुगेको उनको दाबी छ । ‘विचारमा फट्नेहरू फेरि जुट्नुुको विकल्प छैन’, उनले भने ‘तर, पद प्राप्तिकै लागि फुटेका साथीहरूसँग त्यो सम्भावना छैन् । बाबुराम भट्टराइजीहरू साम्यवादको विकल्पको खोजी गर्न थाल्नु भएका कारण उहाँहरूको कम्युनिष्ट एकताको रटान बोल्नका  मात्रै बोलिएको हो ।’

तर, वामपन्थी एकतालाई पूर्णता दिनेगरी साना वाम घटकका नेताहरू छलफलमा जुटेका छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराइ, नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंह, नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच छलफल भएको छ ।

पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको नेकपा एसका सम्मानित नेता खनालले बताए । ‘वामपन्थी एकताको विकल्प छैन भनेर हामीले पटक पटक छलफल चलाउँदै आएका हौं’, उनले मध्यान्हसँग भने ‘हामी विभिन्न समुहहरूसंँग निरन्तर छलफल गरिनै रहेका छौं । यसभित्रपनि मत भिन्नता र मतैक्यता छन ।’ 

अहिलेको राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा वामपन्थी शक्तिहरूबीच वैचारिक, सांगठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा भइरहेको उनले बताए । ‘हामीले मत भिन्नतालाई छाडेर एकतालाई जोड दिनुपर्छ भनेर लागेका छौं, विस्तारै सफल हुन्छ’, खनालले भने, ‘अहिलेको राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा वामपन्थी शक्तिहरूबीच वैचारिक, सांगठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गर्दै चाँडै निस्कर्षमा पुग्नेगरी छलफललाई निरन्तरता दिएका हौँ ।’

यद्यपि कम्युनिष्टको इतिहास हेर्दा टुटफुट, गुट र कहिलेकाहीँ एकताका शृङ्खलाबाट गुज्रँदै आएको विश्लेषकहरू बताउँछन । 

‘सिद्धान्तको लेपमा गुटगत राजनीति नेपालका कम्युनिष्ट पार्टी र नेताहरूको एउटै समस्या हो’, विश्लेषक मुमाराम खनालले भने ‘सैद्धान्तिक–राजनीतिक विषयमा मत–मतान्तर भन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिष्ट पार्टीहरू जुट्ने–फुट्ने गरेको पाइन्छ ।’ 

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधिनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकआपसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गरेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । तर, अहिले नै दलहरूबीच एकता हुने अवस्था भने नदेखिएको पनि उनीहरू बताउँछन् ।

फुट र एकताको इतिहास 

२००६ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना 
२०१९ मा तेश्रो महाधिवेशनपछि समूहगत विभाजन 
२०२८ मा झापा विद्रोह 
२०४६ सम्ममा एक दर्जनभन्दा बढी कम्युनिष्ट पार्टी निर्माण
२०४६ मा प्रजातन्त्र प्राप्तिसँगै एमाले संसदीय राजनीतिमा सहभागी 
२०४७ सालमा नेकपा एमालेका रूपमा विकसित 
२०४७ मा नेपाल मजदुर किसान पार्टी गठन
२०५२ सालदेखि नेकपा माओवादीका नाममा सशस्त्र संघर्ष 
२०५४ मा एमाले विभाजित। (एमाले र माले राजनीतिमा सक्रिय)
२०५८ मा एमाले र मालेबीच एकता 
२०६२–०६३ साल पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा फुट प्रारम्भ 
२०५७ मा माओवादी र मोहनविक्रम सिंहबाट मसालबीच एकता 
२०६०मा गोपाल किराँती नेतृत्वको किराँत वर्कस पार्टी र माओवादीबीच एकता 
२०६३ मा केशव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टी र माओवादी एकता केन्द्रबीच एकता 
२०६४ मा माओवादी र नेकपा मालेमा केन्द्रबीच एकता 
२०६५ माओवादी र विद्रोही मसालबीच एकता 
२०६५ मा माओवादी र जनमोर्चाबीच एकता  
२०६९मा  मोहन वैद्य नेतृत्वमा माओवादी विभाजन 
२०७१ मा नेत्रविक्रम चन्द विप्लवले वैद्यसँग विद्रकोह गरी नेपाल कम्युनिष्ट पार्टी गठन
२०७२ मा बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन  
२०७५ मा विश्वभक्त दुलाल ‘आहुति’को नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी गठन 
२०७५ मा नेकपा एमाले र माओवादीबीच एकता गरी नेकपा गठन
२०७८ मा जेठमा नेकपा विभाजन 
२०७८ मा भदौमा माधव नेपाल नेतृत्वमा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन 
२०७९ मा विप्लव नेतृत्वको नेकपा विभाजन गरी धर्मेन्द्र बाँस्तोलाको संयोजकत्वमा नेकपा बहुमत गठन 
२०८० मा बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजन 

ADV

सम्बन्धित खबर

Advertise