२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आफूलाई बर्खास्त गरेर देखाउन मुख्यमन्त्रीलाई चुनौती

Nada
२०८२ असार ११ गते १७:०६
Shares
आफूलाई बर्खास्त गरेर देखाउन मुख्यमन्त्रीलाई चुनौती

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन गरेको निर्देशन अलपत्र परेको छ । 

ncell

मन्त्री चौधरीले उल्टै मुख्यमन्त्रीलाई ‘सक्ने भए बर्खास्त गर्न’ चुनौती दिएका छन् । मुख्यमन्त्री शाहले असार ३ गते उनलाई टेलिफोन गरेर पदबाट राजीनामा गर्न निर्देशन गरेका थिए ।

मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले राजीनामा मागेका थिए । तर चौधरीले भने टेरेनन् । निर्देशनलाई अवज्ञा गर्ने मन्त्री चौधरीविरुद्ध मुख्यमन्त्री शाहले ९ दिनसम्म ‘कुनै एक्सन’ लिन सकेका छैनन् ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । अहिलेको अवस्थमा मुख्यमन्त्रीसँग कुन मन्त्रीलाई राख्ने वा हटाउने भन्ने अधिकार भएपछि यतिबेला मुख्यमन्त्रीको आफ्नै निर्देशन फितलो देखिएको छ ।

मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार जीतु उपाध्यायले मुख्यमन्त्रीले गम्भिरतापूर्वक आवश्यक छलफल गरिरहेको बताए । चौधरी नागरिक उन्मुक्तिबाट जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्री चौधरीले राजीनामा नगर्ने बताइन् ।

‘मुख्यमन्त्रीले बर्खास्त गर्नुभयो भने उहाँको कुरा भयो । तर पार्टीले रामेश्वर चौधरीलाई राजीनामा गर्न नलगाउने निर्णय गरेको छ,’ अध्यक्ष श्रेष्ठले भनिन् । मुख्यमन्त्री शाह बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका कामबाट उनीसँग असन्तुष्ट भएर राजीनामा मागिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर