काठमाडौं : नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानुनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए । उनले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानबिन हुन आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘अख्तियारले अध्यक्ष माधवकुमार नेपाललाई जुन मुद्दा लगाएको छ र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरुलाई जानकारी गराउने काम भयो । यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्यौं । हामी के निष्कर्षमा पुगेका छौं भने यो कानूनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने कुरामा पुगेका छौं । अध्यक्ष नेपालमाथि जुन मुद्दा लगाइएको छ त्यो कानूनी मुद्दा होइन । अख्तियारले नै २०६९ सालमा यो मुद्दालाई तामेलीमा राखेको छ । बरु के भनेको छ भने मन्त्रिपरिषद्ले जुन पतञ्जलीलाई जग्गा किनबेच दियो । त्यसको लागि पाँच वर्षको समय तोकेको रहेछ । त्यो विषयमा पतञ्जलीले कार्यान्वयन गरोस् भनेर मालपोत कार्यालय काभ्रेलाई जिम्मा दिएको रहेछ ।’
उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिष्ट आन्दोलनमाथिकै प्रहार रहेको समेत बताए । उनकाअनुसार सचिवालय बैठकले किसानलाई यथाशीघ्र रासयनिक मल वितरण गर्न सरकारसँग माग समेत गरेको छ । साथै बैठकले पार्टीका नेता, कार्यकर्ताहरुलाई उक्त कार्यमा सक्रियतापूर्वक तयारीका साथ लाग्न अपिल गरेको छ ।