-बालकुमार क्षेत्री ‘साइनो’, पर्वत
हेर आमा पुत्र सच्चा बन्छु सेवा खातिर
जिन्दगी यो रैछ मर्ने पाहुना झैं आखिर ।
भाग्य लेख्ने हो विधाता जन्म तिम्रै काखमा
काख तिम्रो मिल्छ आमा एक लाखौं लाखमा । १
पाउ तिम्रा छुन्छु जैले हातले यो माथले
कर्मयोगी मार्ग रोजे हेर आमा चाहले ।
गर्छु सेवा भार थेग्दै यो धरामा कञ्चन
हर्ष सारा पोख्छु आमा दुःख भोग्ने जीवन । २
जिन्दगीका हर्ष खोज्दै दिन्छु आमा गर्वका
फूल टिप्दै वासनाका लाख सेवा धर्मका ।
पुज्छु जैले ढोग सेवा गर्छु आमा अर्पण
जन्मदाता कर्मदाता देवता हुन् दर्पण । ३
के भरोसा जिन्दगीको मातृ सेवा गर्नु छ
पाउ चुम्दै काख बस्दै हर्ष सारा छर्नु छ ।
दूःख पर्दा साथ जैले मिल्छ आमा पुत्रको
भार थेग्ने कर्म खोज्ने प्रेम नै यो सुत्र हो । ४
रम्न पाए काख चुम्दै जन्म लाखौं लिन्छु म
कर्मले संसार जित्दै नाम सच्चा दिन्छु म ।
दर्द झेल्दै जिन्दगीका गर्नेछु लौ सामना
दिन्छु आमा हर्ष छर्दै लाख लाखौं कामना ।५
छन्द– मेनका
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies