पर्सा : पर्साको पोखरिया नगरपालिकाको ९औं नगरसभा अन्तर्गतको दोस्रो बैठक (बन्द सत्र) बिहीबार सम्पन्न भएको छ । नगरसभाको बन्द सत्र पोखरिया नगरपालिका सभाहलमा सम्पन्न भएको हो ।
बन्द सत्रमा पोखरिया नगरपालिकाकी उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४४८ रुपैयाँ ५८ पैसा बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेट प्रस्तुतिपछि प्रत्येक वडा लगायत विनियोजित बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
पोखरिया नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास क्षेत्रलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले जानकारी दिए । पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।