२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सिमलताल देखेर नदुखेको राज्य

ADV
२०८१ असार ३० गते ०६:३५
सिमलताल देखेर नदुखेको राज्य

चितवनको सिमलतालबाट त्रिशुली नदीमा हराएको दुई वटा बस शनिबार दिनभर खोजी गर्दा पनि भेटिएन । शुक्रबार बिहान काठमाडौंबाट रौटहटका लागि छुटेको दुई वटा यात्रु बाहक बस भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पुरिएको थियो । उक्त बस पुरिदा बाँचेका तीन यात्रुका बयान अनुसार, सडक माथिबाट झरेको पहिरोसँगै बस त्रिशुली नदीमा धकेलिएको थियो । बसमा ५० जना भन्दा बढी हराइरहेको अनुमान गरिएको छ । शनिबार गैंडाकोटस्थित नारायणी नदी किनारमा दुई वटा र गोलाघाटबाट एक जनाको शव फेला परेको स्थानीय अधिकारीहरुले बताएका छन् । ती शव सिमलतालबाट हराएको बसकै यात्रु भएको अनुमान गरिएको छ । बस त्रिशुली नदीमा हराएको, तीन जना जिवित भेटिएका र तीन जनाको शव भेटिनु बाहेक थप तथ्य उद्धार टोलीले पत्ता लगाउन सकेको छैन । 

तर शुक्रबारदेखि सुरु भएको खोजी कार्य जारी छ । नेपाली सेना सहित तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले हराएको बस र त्यसमा रहेका यात्रुहरुको खोजी गरिरहेको छ । यद्यपि गोताखोर टोली, चुम्बकको प्रयोग जस्ता उपाय लगाउँदा पनि हराएका बसको कुनै अस्तित्व फेला पर्न सकेको छैन । अविरल बर्षाका कारण गएको पहिरोमा परेर हराइरहेको बस र त्यसमा रहेका यात्रुहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । शुक्रबारै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएकाले उक्त बैठकमा सम्बोधन गरेका अरु दलका नेताहरुले पनि सिमलताल घटनाप्रति दुःख व्यक्त गरेका छन् । गृहमन्त्री रवि लामिछानेले उद्धार कार्यलाई तीव्र पारिएको जानकारी दिएका थिए । 

यद्यपि सिमलताल घटनामा सरकार प्रष्ट असफल देखियो । एकातिर सिमलताल घटनासहित देशभरको बाढी, पहिरो र डुबानमा परेर ठूलो क्षति मुलुकले भोगिरहेका बेला संसद् बैठकमा नेताहरु एकअर्काप्रति आरोप–प्रत्यारोप गरिरहेका थिए । प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल भएको र कांग्रेस–एमाले सहित नेताहरुले असफल भएको टिप्पणी गरे । यस्तो दृष्य देखेका नागरिकले मुलुकको नेतृत्वप्रति सकारात्मक धारणा बनाएनन् । जबकी शुक्रबारको संसद् बैठकमा सिमलताल घटनाबाट मुलुकले सिक्नुपर्ने पाठबारे बहस हुनुपर्ने थियो । किनकि भयानक ठूलो दुर्घटनाले अर्को दुर्घटनाबाट बच्ने शिक्षा दिएको हुन्छ । मानिसले पृथ्वीमा अरु प्रजातिलाई पछाडि पार्नु र शासन गर्नुमा पनि थप दुर्घटनाबाट बच्ने शिक्षा लिन सक्नु नै हो । तसर्थ सिमलताल घटनाले मुलुकमा उस्तै प्रकृतिका दुर्घटनाबाट जोगाउनेगरी शिक्षा दिन र लिन सक्नुपर्छ । तर सत्ताको मात्र उद्देश्य बोकिरहेका नेताहरुले यसतर्फ सोच्न नसक्नु दुखद् हो । हराइरहेकाहरुको पीर नदेखिनु निन्दनीय छ ।

ADVADV

सम्बन्धित खबर

Advertise