सरकारको एक वर्षे समीक्षाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डबीच सवाल–जवाफ नै चल्यो । सरकारको एक वर्षे समीक्षा हुनेगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रचण्डले वर्तमान सरकार सुशासनको कडीमा चुकेको, अर्थतन्त्रमा सुधार ल्याउन नसकेको र जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष प्रस्तुत गरेका थिए । त्यही सन्दर्भमा प्रचण्डले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणमा सरकार चुकेको बताएका थिए । ओलीले प्रधानमन्त्री पदको शपथ लिएपछि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माण कार्य ३०० दिनभित्र पुरा गर्ने पहिलो निर्णय लिएका थिए । यो निर्णयलाई ओलीले प्रतिष्ठाकै रुपमा लिएर सामाजिक सञ्जाल मार्फत् शेयर गरेका थिए ।
तर सार्वजनिक घोषणा गरिएको ३०० दिनमा यो परियोजना पुरा भएन । यसपछि थपिएको दुई महिनामा पनि काम सकिएन । प्रचण्डले प्रमुख विपक्षी नेताका हैसियतमा यही प्रश्न प्रतिनिधि सभा बैठकमा उठाए । यो प्रश्नको जवाफमा ओलीले फ्लड लाइट जडान र प्याराफिट निर्माण शिल्यान्यास गरेनन् । यस्तो गर्नलाई संभव पनि थिएन । बरु सामाजिक सञ्जालबाट प्रचण्डलाई जवाफ फर्काउने काम गरे– कीर्तिपुरमा जानु, त्यहाँ काम भइरहेको छ । पक्कैपनि कीर्तिपुर मैदानमा फ्लड जडान र प्याराफिट निर्माणको कार्य भइरहेको छ । ढिलो भएपनि काम भइरहेको दुनियाँले देखेकै छन् । त्यसैले यो कुरा मुख्य नेताहरुबीचको सवाल–जवाफ नहुनुपर्ने हो ।
तर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री बीच चलेको यो सवाल–जवाफलाई उनीहरुका समर्थकहरुले समेत साथ दिइरहेका छन् । यस्तो परिस्थितिको सिर्जना हुनुमा नियमित कामकै पनि जस लिने स्वार्थ नेताहरुमा कायम रहनु हो । आफ्नो पार्टी, नेता र नेतृत्व सही रहेको देखाउन भइरहेको कामको जस लिनु राजनीतिक परम्परा नै बनिसकेको छ । अरु पार्टीको सरकार हुँदा काम नहुने, र आफ्नो नेतृत्वमा कायापलट नै भएको तर्क नेताहरूले गर्दै आएका छन् । त्यसैको एउटा प्रतिनिधि घटना त्रिवि क्रिकेट रंगशालाको प्रशंग हो । जबकि यो क्रिकेट रंगशाला निर्माणका लागि अघिल्लो सरकारकै पालामा बजेट विनियोजन भएको थियो । तर जस लिने होडमा अहिले अपजसको लफडा चलिरहेको लुकेको छैन । यसको अर्थ ‘भोटका लागि जसको राजनीति’ गर्ने भन्दा पनि प्रणालीलाई बलियो बनाउनेतर्फ जोड दिदा यस्तो रस्साकस्सी र आरोप–प्रत्यारोपको राजनीतिक टुंगिन्छ ।