२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

स्थायित्वको आश

ADV
२०८१ असार ३१ गते ०६:३०
स्थायित्वको आश

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री दाबी गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस बाहेक ओलीलाई जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवाद पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गर्दैछ । अर्थात् प्रतिनिधि सभामा ओली दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका छन् । तर २०७४ सालमा जति शक्तिशाली भने होइन । किनकि यसपटक सात वटा दलको समर्थनमा दुई तिहाइ बहुमत पुग्छ । तर २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग चुनावी सहकार्य र लगत्तै एकता हुँदा एउटै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग झण्डै दुई तिहाइ थियो । तत्कालीन समाजवादी पार्टीको समर्थन हुँदा ओली प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका थिए ।

तर त्यो सरकारलाई समेत ओलीले पाँच वर्ष चलाउन सकेनन् । प्रतिनिधि सभाको असंवैधानिक विघटन र नेकपाको एकता भंग गराएकाले ओलीले तीन वर्षभित्रै पदमुक्त भए । बहुमत प्राप्त दलको विभाजनका कारण मुलुक राजनीतिक अस्थिरतामा फस्यो । प्रदेश सरकारहरु लगातार परिवर्तन भइरहे । संघीय सरकार फेरिदा प्रदेश सरकार पनि परिवर्तन हुने प्रवृत्तिको थालनि नेकपाको विभाजनबाटै भएको थियो । जुन प्रवृत्तिलाई २०७९ मंसिरको चुनावी नतिजाले सुधार्न सकेन । उल्टै अस्थिर राजनीतिको आधार सिर्जना हुनेगरी जनमत आयो ।

प्रतिनिधि सभामा ३२ सिट मात्र ल्याएको दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने परिस्थिति सिर्जना भयो । निकै ठूलो अन्तरको तेस्रो दलले सरकारको नेतृत्व गर्दा राजनीतिक स्थायित्व कायम हुन सकेन । कांग्रेस र एमालेलाई पालैपालो उपयोग गरी पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद जोगाउँदै आएका थिए । तर गत १७ असारमा कांग्रेस र एमालेबीच नै सत्ता सहकार्यको सहमति भयो । कांग्रेससँग जुटेको सहमति बमोजिम ओली दुई वर्ष प्रधानमन्त्री हुनेछन् । यो दुई वर्ष ओलीलाई विगतका गल्ती सच्याउने अवसर समेत हो भने आफैले गरेको प्रतिबद्धता पूरा गर्ने चुनौती पनि । सँगै, पहिलो र दोस्रो ठूलो दल मिलेर बनेको सरकार असफल भए मुलुकमा उत्पन्न हुन सक्ने निराशा चिर्नुपर्ने चुनौती समेत ओलीकै काँधमा आइलागेको छ । यसतर्फ समेत सचेत हुँदै ओलीले राजनीतिक स्थायित्वको आधार निर्माण गर्नु चुनौती हो ।

ADVADV

सम्बन्धित खबर

Advertise