२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

२ लाख भन्दा तलका योजना नबनाउने गरी बजेट बनाउँदै शितगंगा नगरपालिका

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २१:२६
२ लाख भन्दा तलका योजना नबनाउने गरी बजेट बनाउँदै शितगंगा नगरपालिका

सरु भुसाल/मध्यान्ह 

अर्घाखाँची : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्न अर्घाखाँचीका ६ स्थानीय तहहरु यतिबेला व्यस्त छन् । 

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार बजेटको तयारीमा जुटेको शितगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

शर्माका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट नगरसभा, गाउँसभामा  पेस गरी पारित गर्ने व्यवस्था भएकोले सोही अनुसार बजेट ल्याउने तयारी शितगंगाले गरेको छ ।  

उक्त ऐनको दफा ७१ अनुसार उपप्रमुख गिता भाटले आगामी आर्थिक वर्ष २०८१/२०८२ को  राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार ७ र ८ गते नगरसभा पेस गर्ने गरी कार्यपालिका बैठकले निर्णय गरेको नगरपालिकाका प्रमुख छबिलाल पौडेलले जानकारी दिए । 

उक्त बजेटको वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको असार ३० गतेसम्म नगरपालिकामा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण समेत नगरसभामा पेस गर्ने गरी शितगंगा नगरपालिका बजेट ल्याउने तयारीमा जुटेको उपप्रमुख भाटले बताइन् ।

उपप्रमुख भाटका अनुसार नगसभामा पेस भएको बजेटमाथि कार्यतालिकामा १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्ने भएकाले बजेट ल्याउन घनिभूत रुपमा छलफल शुरु गरिएको छ । सभामा पेस भएको बजेट असार मसान्तभित्र पारित गरी साउन १ गतेबाट सबै स्थानीय सरकारले लागू गर्ने व्यवस्था कानूनमा उल्लेख छ ।

शितगंगा नगरपालिकामा बुधबार बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि १४ वडालाई प्रत्येक वडामा४० लाखमा नघट्ने गरी अन्तिम सिलिङ निर्धारण गरेको नगरपालिकाका योजना अधिकृत नुमलाल खनाले जानकारी दिए  । अधिकृत खनालले भने, ‘बजेट तर्जुमा गर्दा वडा र नगरले अवलम्बन गर्ने मार्गदर्शन समेत टुंगो लगाएको छ । सोही अनुसार काम हुन्छ । हामी कर्मचारी पनि काममा जुटिसकेका छौं ।’

नगरकार्य पालिकाको निर्देशन अनुसार वडामा जाने बजेट सिलिङबाट पूर्वाधारतर्फको कूल विनियोजन बजेटमध्ये ७० प्रतिशत बजेटबाट २ लाख भन्दा माथिका आयोजना निर्माण गर्ने र बाँकी ३० प्रतिशत बजेटबाट  ५० हजारमा नघट्ने गरी बढीमा पाँच वटासम्म आयोजना प्रस्ताव गर्न कार्यपालिकाले निर्देसन दिएको कार्यपालिका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

नगरपालिकाले पूर्वाधारतर्फ विनियोजनको ७० मध्येबाट दुई लाख भन्दा बढीका आयोजना बनाउने र बाँकी ३० प्रतिशत बजेटबाट रु. १ लाख देखि २ लाख भित्रका आयोजना निर्माण गर्नुपर्ने  भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘नगरपालिकाले  १ लाख भन्दा तलका कुनै पनि आयोजना निर्माण गर्न नपाउने गरि कार्यविधि बनाएको छ । सोही अनुसार जनप्रतिनिधिले कार्यन्वयन गर्नु हुन्छ ।’ 

भौगोलिक हिसावले शितगंगा नगरपालिका नेपालको ठूलो नगरपालिका हो । यो नगरपालिकामा आन्तरिक श्रोत झण्डै ३ करोड ५० लाखको अनुमान गरेर बजेट निर्माण गर्ने गरेपछि सोचेजस्तो राजस्व उठ्न कठिन हुने गरेकोे योजना अधिकृत नुमलाल खनालले मध्यान्हलाई जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise