२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

समाजवादी मोर्चामा दरार

shivam cement
जीवन शर्मा
२०८२ साउन १४ गते ०६:४०
समाजवादी मोर्चामा दरार

काठमाडौं : कम्युनिष्ट तथा वामपन्थीदलबीच सहकार्य हुँदै पार्टी एकतासम्मको योजनासहित बनाइएको समाजवादी मोर्चामा दरार उत्पन्न भएको छ । मोर्चा गठनको उद्देश्य छाडेर पार्टीका नेताहरू मौसमी गतिविधिमा लागेपछि आपसी अविश्वास बढ्दै गएको हो ।  

मोर्चाको सुरुवाती चरणमा सहभागी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसअघि नै मोर्चाबाट बाहिरिएका थिए । संविधानको रक्षा, कार्यान्वयन, संशोधन र विकाससँंगै शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिँदै समाजवादको दिशामा अघि बढ्ने उद्देश्यका साथ बनाइएको मोर्चालाई खासगरी मोर्चाको सबैभन्दा ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूूअनुकूल चलाउँदै आएका छन् ।  यसै विषयमा मार्चाका नेताबीच आन्तरिक द्वन्द्व चुलिँदै गएको नेताहरूले स्वीकार गरेका छन् ।  

मोर्चाको मंगलबार बसेको बैठकले उद्देश्यअनुरूप काम गर्न नसकेको निष्कर्ष निकालेको छ । बैठकमा मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मोर्चाले उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उनले काम गर्न नसक्ने अवस्थामा मोर्चा विघटन गर्दा हुने सुझाव अघि सारेका हुन् ।  

मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा संयोजकसमेत रहेका विप्लवले विघटनको बाटो रोज्नुले मोर्चामा समस्या थपिएको छलफलमा सहभागी एक नेताले बताए । विप्लवको यस्तो प्रस्ताव आए पनि अन्य नेताहरूले मोर्चालाई व्यवस्थित गर्दै उद्देश्य प्राप्तिमा लाग्नुपर्ने विषयमा बढी छलफल भएको नेकपा एसका वरिष्ठ नेता वामदेव गौतमले बताए । यसअघि मोर्चा बैठकमा सम्मानित नेता झलनाथ खनाल सहभागी हुँदै आएका थिए । मंगलबारको बैठकमा भने वामदेव गौतम बैठकमा सहभागी भएका थिए । ‘बैठकमा समस्याहरू पनि उठे,’ गौतमले मध्यान्हसँग भने, ‘गर्न नसकेका कुरा केलाउने भन्दा पनि समीक्षा गर्दै मोर्चालाई अझ व्यवस्थित बनाउने र समाजवादसम्मको यात्रामा जान सकिने विषयमा बढी केन्द्रित भयौं ।’ 

विप्लवले भनेजस्तो तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले विचार राखेको उनको भनाइ छ । विप्लवको प्रस्ताव अहिले नै कार्यान्वयन गर्नु उपयुक्त नहुने नेताहरूको निष्कर्ष छ ।  

‘विप्लवजीले मोर्चामा समय दिने कुरामा पनि नेताहरूमा समस्या देखियो र हामीले भने जसरी गतिविधि गर्ने कुरामा पनि समस्या नै भयो,’ बैठकमा विप्लवको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मोर्चा अहिले स्थगित गरौं ।’ तर, अरू नेताहरूले विप्लवको प्रस्ताव अस्वीकार गरे । तीन/तीन महिनामा संयोजक परिवर्तन गर्ने सहमतिसमेत नेताहरूले कार्यान्वयन गरेका छैनन् ।  बैठकले विप्लवलाई नै मोर्चाको संयोजक दोहोर्‍याएको छ ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाका सबल पक्ष र दुर्बल पक्षको समीक्षा भएको भन्दै यसलाई प्रभावकारी बनाउन अझ सुदृढ गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए । यसबीचमा भए गरेका काममा मोर्चा सफल रहेको उनको धारणा छ । ‘जुन ढंगले गति लिनुपथ्र्यो, जनता र मोर्चामा सहभागी पार्टीका नेता कार्यकर्ता र इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त काममा केही सीमा रहे,’ विश्वकर्माले भने, ‘जसकारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । अब निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं ।’ मोर्चाको कामको समीक्षा गर्दै आगामी दिनमा थप सशक्त बनाउन विचार मिल्नेहरूलाई मोर्चामा आबद्ध गराउने निर्णय भएको नेताहरूले बताएका छन् ।

आफैं प्रधानमन्त्री हुँदा २०८० असार ४ मा सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसलाई ‘साइज’मा राख्न योजनाका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार दलीय मोर्चा गठन गरेका थिए । सरकार टिकाउने अस्त्रका रूपमा हेरिएको मोर्चा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार रहुन्जेल निष्क्रिय थियो ।  गत वर्ष असार  १७ मा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै मोर्चालाई सशक्त बनाउने प्रयास भए पनि मोर्चाले खासै गतिविधि गर्न सकेको छैन । मोर्चालाई माओवादीसहितका केही कम्युनिस्ट पार्टीले आफू प्रतिकूलका घटनामा प्रयोग गर्नेबाहेक उद्देश्यअनुसार अघि बढ्न नसकेको मोर्चामा सहभागी दलका नेताहरूले नै टिप्पणी गर्दै आएका छन् ।  

संघीय संसद्मा रहेका तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसद् बाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको मोर्चाबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने बाहिरिएको छ । 

नेकपा एमालेसँगको सत्ता सहयात्रमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा ओली र प्रचण्डले यादव विदेश गएको मौका छोपेर जसपा फुटाएर अशोक राईलाई सरकारमा लगेर उपयोग गरेको प्रचण्डमाथि उपेन्द्र यादवको आरोप छ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, जसपाको १२ र एकीकृत समाजवादीको १० सिटसहित मोर्चामा ५४ सांसद थिए । पछि जसपा नेपाल फुटेर यादव मोर्चामा नरहेपछि अहिले मोर्चामा ४९ सांसद छन् । 

ADV

सम्बन्धित खबर

Advertise