काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव गरेर हटाएपछि आज नयाँ नेता चयनका लागि मतदान हुन लागेको हो ।
निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुनेछ । उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत । अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।
नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदान कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।
दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन ।
अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ ।