२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

ADV
मध्यान्ह
२०८१ असार ३१ गते २१:३७
नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

काठमाडौ : नागरिक लगानी कोषले आर्र्थिक वर्ष २०७९/८० को आम्दानीबाट १४ प्रतिशत शेयर दिने प्रस्ताव पास गरेको छ । कोषको २९ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए ।

उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिदै कोषको कारोबारलाई क्रमशः सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गर्दै लगिने उनले बताए । उनले शेयरधनीहरुको शेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको जनकारी दिए । 

उनले कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिबद्धता व्यक्त गरे । कोषको एकीकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकोले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको बताउँदै उनले भने ,‘आगामी वर्षदेखि रिकन्सिलेसन समस्या समाधान हुँदै जाने छ ।’ साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ४८ अर्ब एक करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise