मोफसलमा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा क्रियाशील गायक भुवन प्यासी प्रायःं उपत्यका बाहिर नै भेटिन्छन् । चार दर्जन बढी गीतमा स्वर दिएका गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर निरन्तर गीतसंगीतमा लागिरहेका छन् । सानैदेखिको गीतसंगीत प्रतिको रुचीले गर्दा आज यो स्थानसम्म पुग्न सफल भुवनले स्थायी बसोबास रहेको भरतपुरकै गौरीगञ्ज मावि र प्रेमबस्ती उच्च माध्यमिक विद्यालयबाट शिक्षा हासिल गरेका हुन् । पप, आधुनिक, तीज तथा लोक पप लयमा शब्द, संगीत र स्वर दिँदै आएका उनलाई आधुनिक भाका अलि बढी मनपर्छ । ‘यादहरू’ बोलको आधुनिक गीत स्रोतामाझ पस्केर औपचारिकरूपमा सांगीतिक क्षेत्रमा उपस्थिति जनाएका गायक भुवनले चलचित्र ‘यो पागल मन’, ‘भेटी’ को गीतमा स्वर दिएका छन् । प्रदर्शनमा आउन बाँकी ‘चोर सिपाही’ र ‘कुण्डली’मा पनि उनको स्वर सुन्न सकिन्छ । भुवन प्यासीले नारायणी संगीत विद्यालयबाट तीन वर्ष औपचारिकरूपमा संगीतको प्रशिक्षण पश्चात यस क्षेत्रमा लागेका हुन् । उनी आफैं शब्द कोर्छन्, संगीत सिर्जना गर्छन् र गाउँछन् पनि । भुवनले आफ्नै शब्द, संगीत र स्वरमा आधा दर्जन गीत गाएका छन् । भुवनको दर्जनौं गीत स्रोता रुचीका छन्, जसमा लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ट्राफिक जाम, झम्के झम्के, हे बरै अलिबडी चर्चामा रहे । गायक भुवन विभिन्न पुरस्कारहरूबाट पुरस्कृतसमेत भएका छन् । उनलाई २०६७ मा आयोजित चितवन महोत्सवमा आधुनिक गायन प्रतियोगितामा ‘सर्वोकृष्ट आधुनिक गायक’ अवार्डबाट सम्मान गरिएको थियो भने कालिका म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवाड, बक्स अफिस म्युजिक अवार्ड २०७४, नाट्यस्वर म्युजिक अवार्ड लगायतका अवार्डहरूबाट सम्मानित भइसकेका छन् । सांगीतिक कार्यक्रमको क्रममा आधा दर्जन देशहरूको भ्रमण गरिसकेका चर्चित गायक भुवन प्यासीले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानी :
कसरी बिताउँदै हुनुहुन्छ दिनहरु ?
हालै ‘मखमली रातोचोली’ बोलको भिडियो सार्वजनिक गरें । जसमा मलाई स्वरमा एलिना चौहानजीले साथ दिनुभएको छ । कोभिड १९ का कारण अरु बेलाजस्तो गीत, संगीतको कामलाई तिब्रता दिन सकिरहेको छैन । घरतिरै बसिवियालो गर्दैछु ।
कोभिडले गीत संगीतलाई कस्तो असर पारेको छ ?
कोभिड १९ ले गीत, संगीतमा निक्कै असर पु¥याएको छ । पहिलेको जस्तो स्टेज कार्यक्रम छैन । हामी गायक कलाकारहरूलाई जति कार्यक्रमहरू भयो उति राम्रो सिर्जनाका हिसावले पनि अर्को कुरा आयआर्जनको हिसावले नि । कोभिडका कारण कार्यक्रमहरू ठप्प छ । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रम ठप्प छ । गीत, संगीतको क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा असर पारेको छ ।
गीत, संगीतको बजार खुम्चिएको छ आयआर्जन कसरी भैरहेको छ ?
माथि पनि भनें, हामी गायक कलाकारहरुको मुख्य आयश्रोत भनेकै स्टेज प्रोगाम हो । त्यो हुन सकिरहेको छैन । युट्युब अर्को विकल्प बन्दैछ । कमाई छैन भन्दैमा आफ्नो क्षेत्र छाड्न सकिन्न ।
मोफसलमा रहेर पनि गीत संगीतलाई निरन्तरता दिइरहन मुश्किल छैन ?
आफुले इच्छाएको क्षेत्र भएकोले यसबाट अलग रहन सकिन्न । स्रष्टाको काम हो सिर्जना गर्नु गाउँ र शहर भन्ने हुँदैन, जहाँ बसेर पनि आफ्नो श्रोता, दर्शकहरु माझ आफ्नो सिर्जना पस्किन सक्नुपर्छ जस्तो लाग्छ ।
कस्तो खाले गीतहरू गाउन मन लाग्छ ?
मैले सबै प्याटर्नको गीतहरू गाउने गरेको छु । तर, म विशेष गरी आधुनिक गीतमा अलि बढी रमाउने भएकाले आधुनिक नै मन पर्छ ।
गीत संगीत के हो ?
गीत संगीत दुःख सुख साटासाट गर्ने सबैभन्दा नजिकको साथी हो । तपाईं हामी खुशी हुँदा नि गीत नै गाउँछौं, दुःखी हुँदा त झनै गीतको सहारा लिएर मन बुझाउँछौँ । त्यसैले गीत संगीत मानिसको अभिन्न साथी हो जस्तो लाग्छ ।
संगीतमा कलाकारहरूले सन्तोष गर्ने ठाउँ कति छ ?
गीत संगीतमा सन्तोषको कुरा कलाकारको मिहेनत, धैर्यता, लगावमा भर पर्छ । कमाई अनुसार रम्न सके सन्तुष्ट हुने ठाउँ प्रशस्तै छ ।
संगीत विधा नै रोज्नुको कारण ?
भाका र भाषा जुनसुकै भएपनि संगीतधुन मन नपर्ने सायदै होलान् । पशुपन्छी त संगीतमा रम्छन् भने हामी चेतनशील प्राणी भएको नाताले पनि संगीत मन पराउनु स्वभाविक हो । त्यसैले संगीतको संसारमा अर्कै मज्जा छ । त्यही मज्जामा रमाउन चाहेको हुँ ।
स्रष्टा र उत्पादकबीच भैरहने विवादको बारेमा के भन्नु हुन्छ ?
यो राम्रो पक्ष होइन । हाम्रो सानो आन्तरिक बजार र न्यून अन्तर्राष्ट्रिय बजारको घेराभित्र अस्तित्वको संरक्षणका लागि संघर्षरत नेपाली संगीत उद्योगलाई बौद्धिक सम्पत्तिमाथि खेलबाड गर्नेहरुले स्रष्टाको सम्पत्तिमाथि आक्रमण गरेर धरमराउँदोे बनाएका छन् । यस्तो खेलबाडको क्रम आधुनिक युगमा रोकिनुको साटो उल्टै बढ्दो छ । यो समस्यालाई सम्बोधन गर्न भनेर ल्याइएको प्रतिलिपि अधिकार ऐन ०५९ र नियमावली ०६१ ले व्यावहारिकरूपमा श्रष्टा र सम्बन्धित पक्षलार्ई न्यायोचित संरक्षण दिन सकिरहेको अवस्था छैन । यो सोचनीय विषय हो ।
यस्तो कार्यबाट कसलाई फाइदा पुग्छ ?
बास्तबिक स्रष्टालाई त प्रभावित पार्छ नै उद्योगका आन्तरिक बजारमात्र नभएर अन्तर्राष्ट्रिय बजारसमेत प्रभावित हुन पुग्छ । चोरीका विभिन्न माध्यम हुँदै नेपालभित्र र बाहिर रहेका नेपाली समुदायबीच यसको अनाधिकृत व्यापार भइरहेको पाइन्छ । तर, यसबाट स्रष्टाहरू कति लाभान्वित हुन सके भन्ने अहम् प्रश्न हो । त्यसैले आफ्नै सिर्जनाको चोरी हुँदा बास्तबिक हकवालाले नै आवश्यकीय निगरानीमा चासो नदेखाउने हो भने यस्तो समस्या दोहरिरहने कुरामा कुनै शंका छैन ।
भावी योजना के छ ?
एउटा गायकको के नै योजना हुन्छ, निरन्तर गीतसंगीतको क्षेत्रमा लागेर स्रोता रुचीको गीतसंगीत पस्कने नै हो । महामारीको यो अवस्थामा पनि मोफसलमा रहेर गीतसंगीतमा रमाई रहेका मलाई सम्झेर आफ्नो कुरा स्रोता, दर्शकमाझ राख्ने अवसर दिनुभएकोमा लोकप्रिय राष्ट्रिय दैनिक मध्यान्ह परिवारमा नमन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies