२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

पारिवारिक कलहले पार्टीमा किचलो

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते ०६:२०
पारिवारिक कलहले पार्टीमा किचलो

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाबु लालावीर, छोरा रेशम चौधरी र बुहारी रञ्जिता श्रेष्ठबीचको पारिवारिक किचलोले थलिएको छ । नाउपामा केही समयअघिदेखि नै विवाद कायम रहे पनि अध्यक्ष रञ्जिता श्रेष्ठ घुस काण्डमा आरोपित भएपछि पार्टीमा विग्रहको अवस्था आएको हो ।

श्रेष्ठलाई पोखरास्थित लिचीबारीको १ सय ३४ रोपानी जग्गा प्रकरणमा घुस मागेको आरोप लागेको छ । रेशमकी श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष श्रेष्ठलाई बर्खास्त गर्दै बिहीबार उनका ससुरा लालवीर चौधरीलाई श्रीमान् पक्षधर नेताहरूले नयाँ अध्यक्ष चयन गरे । यो घटनाले पारिवारिक कलहले पार्टीमा किचलो कुन हदसम्म छ भन्ने विषय छरप्रस्ट गरिदिएको छ । 

रञ्जिता श्रेष्ठभन्दा फरक धारका नेताहरूले राष्ट्रिय भेला बोलाएर सो भेलाबाट श्रेष्ठलाई हटाउँदै पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको थियो । बुधबार मात्रै अध्यक्ष रञ्जितालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट बर्खास्त गरिएको र बिहीबार पार्टीको नेतृत्व नाउपाका सांसदसमेत रहेका लालवीर चौधरीलाई जिम्मा दिएको संरक्षक रेशमलाल चौधरीले बताए । लालवीर बर्दियाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।  

नाउपामा विगत एक वर्षअघिबाटै आन्तरिक किचलोले शिथिल बन्दै आएको थियो । पारिवारका सदस्यहरूको हालिमुहाली चल्दै आएको नाउपामा यतिबेला परिवारिक खटपटले ठुलो धक्का दिएको छ । आफ्नो अनुपस्थितिमा भेला गरी लालवीरलाई पार्टी अध्यक्ष बनाएपछि निवर्तमान बनेकी रञ्जिताले पार्टीको राष्ट्रिय भेलाको नाममा बसेको विधानविपरीत गतिविधि र निर्णय अमान्य भएको बताएकी छन् । पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक आह्वान नगरेको भन्दै श्रेष्ठले अहिले पनि पार्टीको अध्यक्ष आफैं कायम रहेको दाबी गरेकी छन् । 

रेशम पक्षका नेताहरूले पार्टी अध्यक्ष हटाए पनि आफ्नो अध्यक्ष पद कायमै रहेको दाबी गर्दै आएकी श्रेष्ठबीच निकै लामो समयदेखि विवाद चर्कंदै आएको थियो । सर्वोच्च अदालतबाट टीकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर भएका रेशमले जेलमै रहेका बेला श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी खोलेका थिए । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेपछि उनले टीकापुरमै नाउपाको महाधिवेशन गरेर आफैं अध्यक्ष बनेका थिए । तर हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य हुनै नसक्ने भन्दै निर्वाचन आयोगले श्रेष्ठकै नेतृत्व ब्युँताएको थियो । 

अहिले रेशमको आममाफीविरुद्ध पनि मुद्दा विचाराधीन छ । कुनै पनि समय आममाफी बदर हुने त्रासमा रहेका रेशम शीर्ष नेताहरूसँग बारम्बार भेटिरहन्छन् । आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटलाई पनि उनले महत्वपूर्ण राजनीतिक भेटघाट भनेका छन् । आफू राजनीतिक पदमा आउन नमिल्ने भएपछि रेशमले सुरुमा श्रीमतीलाई अघि सारेका थिए । अहिले बुबालाई अघि सारेका छन् ।

पार्टी अध्यक्ष तोकिएपछि लालवीरले विधि र पद्धतिअनुसार नै पार्टीलाई निकास दिनका लागि यो निर्णयमा पुगेको बताए । उनले पार्टी कमिटीको सुझाव सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताएका छन् । रेशम पक्षका नेताहरूले बुधबार नै रञ्जितालाई हटाउने र लालवीरलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेका थिए । सोहीअनुसार पार्टीको राष्ट्रिय भेलाले आफूूलाई अध्यक्ष बनाएको लालवीरले बताएका छन् । कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले भने ‘म यो अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले सुझाव सल्लाह र विधिपद्धतिका आधारमा नाउपालाई अघि बढाउनेछु ।’

रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्न यो प्रक्रिया अघि बढाइएको प्रतिक्रिया दिए । ‘उहाँलाई हामीले बैठकमा आएर आफ्नो कुरा राख्नुस् भनेका थियौं तर डेढ वर्षसम्म बैठक त राख्न सक्नुभएन, उहाँ हिजोको बैठकमा पनि आउनुभएन । त्यसपछि एउटा निकासका लागि मात्रै पार्टीमा नयाँ निर्णय गरेका हौं ।’

उपनिर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीमा कुनै बैठक तथा सरसल्लाह नभएपछि यस्तो निर्णय लिनुपरेको नेताहरूले बताएका छन् । कारबाहीमा परेकी श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै श्रेष्ठले नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएकी छन् ।  

तर दलका नेता चौधरीले भने पार्टीलाई अनिर्णयको बन्दी बनाएपछि नेताहरूले यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । ‘डेढ वर्ष भयो उहाँ (रञ्जिता)ले बैठक नबोलाएकाले विकल्प खोजेका हौं,’ चौधरीले मध्यान्हसँग भने, ‘अहिले उपनिर्वाचन हुँदै छ, उम्मेदवारी दिनुपर्नेछ । त्यसका लागि पार्टीले विधानसम्मत, निर्वाचन आयोगमा दर्ता गराउनुपर्नेलगायत नियमित काम नै प्रभावित बनेपछि पार्टीमा नयाँ नेतृत्वको खोजी गरिएको हो ।’ 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise