काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले गत साता मलेसियामा प्यारालाइसिसबाट पीडित बनेका खोटाङ रुपाकोटका ३५ वर्षीय सुजन सार्की र मानसिक असन्तुलनबाट पीडित बनेका धनुषा जनकपुरका २७ वर्षीय आनन्द पाण्डे गरी दुई जना कामदारलाई नेपाल फर्काएको छ । तीन महिना थलिएका सार्कीलाई एम्बुलिफ्टमार्फत उद्धार गरिएको हो ।
वैदेशिक रोजगारीमा मलेसिया गएका पाण्डेले कम्पनीमै काम गर्ने क्रममा दुईपटक आत्महत्याको प्रयास गरे । दोस्रोपटक आत्महत्या प्रयास गरेपछि कम्पनीले दूतावासलाई जानकारी दियो । दूतावासको पहलमा उनलाई दुई सातासम्म क्रिस्टिना केयर सेन्टरमा राखियो । फिङ्गर प्रिन्टका लागि अध्यागमन कार्यालय लैजाँदा भागेका उनलाई खोज्न मलेसियाको प्रहरीलाई दुई घण्टा समय लाग्यो । उनलाई स्वदेश फर्काउँदा हवाई यात्रा अवधिभर लठ्याउने औषधिको समेत प्रयोग गर्नुपरेको थियो ।
वैदेशिक रोजगारीमा मानसिक समस्यामा पर्ने नेपालीको संख्या पछिल्ला दिन उल्लेखनीय रूपमा बढेको छ । मलेसियामा समस्यामा परेका सार्की र पाण्डे प्रतिनिधि उदाहरण मात्र हुन् । श्रम स्वीकृति लिएर वैधानिक तथा भिजिट भिसा प्रयोग गरेर युरोपेली मुलुक र अमेरिका पुग्ने सपनामा ठुलो रकम खर्चेर हिँड्ने दुवै अवस्थाका कामदार मानसिक स्वास्थ्य समस्यामा पर्ने गरेको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ ।
युरोपेली मुलुक छिर्ने भन्दै यूएईलाई पहिलो गन्तव्य बनाएर उड्नेहरू एजेन्ट मोटो रकम लिएर सम्पर्कविहीन बनेपछि चर्काे मानसिक समस्यामा पर्ने गरेका छन् । कतिपय पार्कमा बर्बराउँदै हिँड्ने र कतिपय मानिसक स्वास्थ्य समस्याका कारण सडक दुर्घटनामा परे अंगभंग हुँदै थप मानसिक सन्तुलन गुमाउने अवस्थामा पुग्ने गरेको बताइन्छ ।
आबुधावीस्थित नेपाली दूतावासले भिजिट भिसामा पुग्ने यस्ता थुप्रै नेपालीहरू मानसिक तनावबाट गुज्रिएर मानसिक स्वास्थ्य समस्या पुग्ने र कतिपयले आत्महत्या नै गर्ने गरेको देखिएको बताएको छ । यूएईमा गत जनवरीयतामात्रै २५ जनाले आत्महत्या गरेका छन् । दूतावासकी नियोग उपप्रमुख रञ्जिता दाहालले अहिले मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या बढिरहेको जानाकारी दिइन् ।
अपेक्षाअनुसार काम, सेवा सुविधा र तलब नहुनु र घरमा ऋणको बोझ जस्ता तनावले धेरै कामदारलाई मानसिक समस्यासम्म पुर्याइरहेको उनले बताइन् ।
एउटा जागिर छोडेर अर्को जागिर नपाउनेहरू पनि मानसिक स्वास्थ समस्यामा पर्ने गरेको उनको भनाइ छ । कतिपय नेपालमा नै मानसिक स्वास्थ्य समस्या पीडित भएर जाने र गन्तव्य देशमा औषधि नपाउँदा थप समस्यामा पर्ने गरेका छन् ।
श्रम विज्ञ मिना पौडेल आर्थिक दबाब, मानसिक दबाब, गलत साथीहरूको संगतमा लाग्ने, सामाजिक दबाब जस्ता कारणले कामदारमा मानसिक समस्या बढेको बताउँछिन् ।
मानसिक समस्यामा पर्ने कामदारलाई राहत दिन वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको समन्वयमा टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ । कतार, यूएई मलेसियालगायत देशबाट धेरैले मनोसामाजिक परामर्श खोज्ने गरेकोे देखिएको छ । खाडी र मलेसिया बाहेक दक्षिण कोरिया, जापान जस्ता विकसित देशमा वैदेशिक रोजगारीमा जाने कामदार र विद्यार्थी दुवैमा मानसिक स्वास्थ्य समस्या बढेका विवरणहरू आएका बिबिसीको समाचारमा उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुख जीवलाल भुसाल मानसिक स्वास्थ्य समस्या अझै बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई जिम्मेवार बनाउँदै डिजिटल एपहरू निर्माण गरेर टेलिमेडिसिन जस्ता उपायबाट मनोपरामर्श सेवालाई बढाउने लक्ष्य राखिएको बताउँछन् ।
वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि गत आर्थिक वर्षसम्म १५ वर्षको अवधिमा १४ हजार ३ सय ५२ जना नेपालीले ज्यान गुमाएका थिए । त्यसमा मानिसक स्वास्थ्य समस्यामा पर्नेहरू पनि धेरै रहेकोे आँकलन छ ।