२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

एउटा मानक काम र नेतृत्व

ADV
२०८१ साउन २ गते ०६:३५
एउटा मानक काम र नेतृत्व

‘कतिपयले यो पत्याउने विषय थिएन । तर हामीले प्रतिबद्धताका साथ काम गर्‍यौं र उपलब्धि हासिल गर्‍यौं’, सोमबार पत्रकार सम्मेलन गरेर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भनेका छन् । यो पत्रकार सम्मेलनको प्रयोजन नै आफ्नो कार्य सम्पादनको सफलता सार्वजनिक गर्नु थियो । त्यसैले विशेष अदालतका अध्यक्ष कुँवरका यी अभिव्यक्ति अर्थपूर्ण छ । विशेष अदालतबाट  नपत्याएको काम भएको तर्क मात्र होइन, पत्रकार सम्मेलनमा तथ्यको फेहरिस्त समेत सार्वजनिक गरियो । सार्वजनिक तथ्य अनुसार अब विशेष अदालतमा ६ महिना नाघेका कुनैपनि मुद्दा बाँकी छैन । यस्तो अवस्था ल्याउन विशेष अदालतले दश वर्ष यताकै धेरै फैसला यस वर्ष गरेको छ । जबकी एक वर्ष अगाडिसम्म (२०८० असार मसान्त) ३५९ वटा पुराना मुद्दा थिए । तर अहिले ६९ वटा मात्र मुद्दा छन् । 

अर्थात् एकैवर्ष सबै पुराना मुद्दाको फैसला भयो, त्यो पनि चालु आर्थिक वर्षमा दर्ता भएका २१६ मुद्दा समेत गरेर । विशेष अदालतका अध्यक्ष कुँवरले यो तहको फैसला आफ्नै नेतृत्वमै संभव भएको दाबी गरेका छन् । त्यसका लागि अरु न्यायाधीशहरुको साथ रहेको पनि लुकाएनन् । आफ्नो सिंगो टीमको मेहनतकै कारण मुद्दा फैसलामा रहेको समस्या हल भएको दाबी उनको छ । १८ मंसिर २०८० मा उनी विशेष अदालतको नेतृत्वमा आएको र फैसलाको अवस्था हेर्दा कुँवरको दाबी खण्डन हुने स्थिति छैन । जबकी एक वर्ष अगाडिसम्म दुई वर्ष नाघेका ७४ वटा मुद्दा विशेष अदालतमा थियो । यस्तो अवस्था संवैधानिक प्राबधान बमोजिम पनि न्यायोचित थिएन । 

तर अध्यक्ष कुँवरकै दाबी जस्तो धेरैले पत्याउन नसक्ने काम विशेष अदालतले गरेको छ । यस्तो नतिजाका लागि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर प्रशंसाका हकदार छन्, र उत्तिकै हकदार उनको टीम समेत छन् । सँगै, यो सफलता हाम्रा अरु तमाम संरचनाका लागि उदाहरण समेत हो । सर्वोच्च, विशेष र जिल्ला अदालतहरुकै लागि पनि यो उदाहरण हो । विशेष अदालतको यो सफलताको प्रष्ट सन्देश हो, न्यायाधीशले सुनुवाई गरे फैसला समयमा आउँछ । तर त्यसका निम्ति अदालतको नेतृत्वमा तत्परता आवश्यक छ । समयमा सुनुवाइ गर्ने योजना र योग्य टीम निर्माणको कुशलता आवश्यक छ । र, हाम्रा अरु तमाम संस्थाहरुले अपनाउनुपर्ने बाटो पनि यही हो । 

ADVADV

सम्बन्धित खबर

Advertise