२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

उपेक्षामा कर्णाली

shivam cement
२०८२ साउन ३० गते ०६:००
उपेक्षामा कर्णाली

–गोरखबहादुर बी.सी.

पूर्वीय दर्शनका प्रथम विचारक वैवश्वत मनु कालिकोट मान्मका हुन् । मनुस्मृतिको २६९४ श्लोकमा राज्य, राजा, देश, विदेश अनि जनताका लागि शासक कस्तो हुनुपर्दछ भनी पाँचौँ शताब्दीमा दिएको विचार आज पनि संसारभरमा लागु भइरहेको छ । मनुस्मृति नै विश्वको सबैभन्दा प्रथम र ठूलो संविधान मानिन्छ । यस्तै, इन्द्रपुरी जुम्लो, देवपुरी हुम्लो भन्ने कुरा सुर र असुरको नाममा देवासुर सङ्ग्राम भएको सामरिकमा जुम्ला इन्द्र र हुम्लामा महादेवको जन्मस्थल र ऐतिहासिक भूमि हो भन्ने कुरा पूर्वीय दर्शन स्पष्ट छ । यस्तै, नेपालमा मध्यकालिन इतिहासमा खस साम्राज्यको केन्द्रभूमी कर्णाली हो । खस सभ्यता र भाषाको मूल भूमि कर्णाली भद्र प्रदेश हो । यो कर्णाली नदीसँग पनि जोडिएको छ । कर्णाली नदी पृथ्वीको केन्द्रबिन्दु नेरू वा सुमेरु अर्थात् कैलाश पर्वत दक्षिणमा रहेको मानसरोवर तथा लम्कारी दहबाट उत्पन्न भएको नदी हो । यहाँको मानसरोवर ताल तालहरूको राजा सबैभन्दा पवित्र मानिन्छ । यही मानव खण्डबाट सुरु भएका सतलज, ब्रह्मपुत्र र कर्णाली नदीहरू हुन् । यसमा कर्णाली नदीलाई जडानमा माच्चाचुङ्गÞो भनिन्छ र कैलाश पुराणमा कर्णाली नदीलाई यसको प्राचीन संस्कृत नाम सिन्धु नदी भनिएको छ । यसबाट कर्णाली नदी सिन्धु घाटीको सभ्यताको समेत श्रोत हुन सक्ने देखिन्छ । कर्णाली नदीलाई अवधमा सरजु नदी भनिन्छ । सरजु अर्थात् सूर्यसँग यसको सम्बन्ध देखिन्छ । 

यसर्थ, कर्णाली नदी उत्तरमा कैलाश र दक्षिणमा अयोध्यासम्म यसको विभिन्न रूप र लोकल भाषाअनुसार प्रयोग गरिन्छ । त्यसैले कर्णाली नदी धार्मिक सांस्कृतिक र सामाजिक पक्षसँग जोडिएको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको रूपमा नामकरण दिए पनि कर्णाली भनेको मूल हिम्मवत खण्डको सभ्यता हो । यसलाई कोही कसैले पनि सानो बनाएर बन्ने सवाल नै हुँदैन । आज कर्णाली ऐतिहासिक पृष्ठभूमिमा र महत्वमा रहेको कर्णाली प्रदेश आजको २१औँ शताब्दीमा भोक रोग, अशिक्षित एवम् अन्धकारमय अवस्थामा पुगेर अकालमै ज्यान गुमाउने र खानै नपाएर मर्न पर्ने अवस्थामा सिर्जना भएको छ । सडक बाटोघाटो पनि असहज छ । कर्णाली राजमार्ग त बनाएको छ, तर अकाल मृत्युको शय्या जस्तै हो ।

विशाल खस साम्राज्यको केन्द्रबिन्दु र खस भाषा, सभ्यता एवम् हाम्रो सांस्कृतिक ऐतिहासिक पृष्ठभूमि बोकेको कर्णालीलाई आज संसारकै दर्दनाक र मध्ययुगिन जंगली समाज जस्तो बनाइएको छ । यसका पछाडि सबै कुरा राज्य यन्त्र र राजनीतिक पूर्वाग्रही हो भन्ने कुरा करिब कर्णाली प्रदेशका जनतामा जागरण आउँदै छ । विशेषतः  सन् १८४६ मा शाह वंशीय शासकले कर्णाली कब्जा गरिसकेपछि आफ्नो उपनिवेशमा राखे जस्तै कर्णालीमा शासन लाग्ने कायम बाहेक अरू केही उपलब्धि र अधिकार नदिएकोले कर्णाली अशिक्षित, विकासमा रोकावट, जनतामा चेतनाको कमी गराएर तल झार्ने र कहिल्यै पनि शक्तिमा नलिने परम्पराले गर्दा कर्णाली तल पर्नुको मूल कारण हो । सदियौँदेखिको उत्पीडन एवम् उपेक्षित कर्णाली प्रदेशलाई माथि उठाउन हालका राजनीतिक दल एवम् शासकहरूले पनि केही कुनै गतिलो काम नगरेकोले पनि अहिले पनि उही अवस्थामै रहेको छ । संघीय ढाँचामा प्रदेश बनाए पनि त्यो ढाँचा नमिलेको छ । हावा, पानी र खनिजसँग जोडिनु पर्दछ, तर त्यो भएन ।

कर्णाली प्रदेश प्राकृतिक सम्पदामा सम्पन्न छ । कर्णाली प्रदेशको विकासका पूर्वाधारहरू तयार पार्ने हो भने मुलुकलाई नै सम्पन्न बनाउन सक्छ । तर, त्यसको उपभोग, प्रयोग र जानकारी समेत राज्यले दिएको छैन । यसर्थ, स्थानीय जनताको अग्राधिकार सहित प्राकृतिक स्रोत र साधनको बाँडफाँट गर्ने हो भने कर्णाली स्वर्ग बन्न सक्छ । तर, आज हावा र कौडीका भरमा कर्णाली प्रदेशका प्राकृतिक स्रोत र साधन बेचिएका त्यहाँका नदीहरू सबै विदेशीले कब्जा गरेर आफ्नो झोलामा राखेका छन् । कर्णाली अहिले देशी विदेशीहरूको ठेक्का गर्ने र कब्जा गर्ने खेलौना बनेको छ ।

विकासका नाउँमा ठूला–ठूला अखबारमा विशेष कर्णाली भनेर योजनाविद्हरूले सिंहदरबारको रेडबुकमा राख्ने र बजेट नगईकनै फ्रिज बनाउने एवम् गएको बजेट पनि कमिसनमा खाएर सिद्ध्याउने विकास योजनाहरू कर्णालीलाई दिएका छन् । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश सरकार सबैभन्दा गरिब प्रदेश हुन्, जहाँ विकास बजेट निकै न्यून छ । त्यसैले सिधै केन्द्रबाट केही समयको लागि बजेट दिनु पर्दछ । 

आज कर्णाली प्रदेशका सबै जिल्लाका सदरमुकाममा सरकारी कार्यालयभन्दा एन.जि.ओ.का साइनबोर्ड मात्र पाइन्छ । उनीहरूले कर्णालीको नाम बेचेर काठमाडौंमा महल ठड्याउने बाहेक कर्णालीमा कुनै विकास गरेको देखिँदैन । नागरिक समाजबाट पनि कर्णालीलाई ठग्ने काम भइरहेको छ । नेपालको यस्तो विडम्बना स्थितिमा गुज्रेको कर्णाली क्षेत्रलाई माथि उठाउन अब कर्णालीका बुद्धिजीवी, पत्रकार एवम् इमानदार राजनीतिज्ञहरूले पहल गर्नुपर्छ । अन्यथा, कर्णाली उही मध्ये पुगिन अवस्थामा नै रहिरहने छ । 

(लेखक, नेपाल पत्रकार लेखक समाजका केन्द्रीय अध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise