२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

नैतिकताको खडेरी

shivam cement
२०८२ साउन ३० गते ०६:०५
नैतिकताको खडेरी

–प्रेमचन्द्र झा

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पूरा गर्नु नै नैतिकता हो । यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो । हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौँ भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ । नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ । जब व्यक्ति, परिवार, समाज, संस्था र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ ।

तर, अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ । मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन् । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, कृषि, सेवा सबै क्षेत्रमा अनैतिकता बढ्दो छ । यस्तो अवस्थामा नैतिकता के हो, कसरी हराउँदै गइरहेको छ र कसरी पुनस्र्थापना गर्न सकिन्छ भन्नेबारे गहिरोरूपमा बुझ्नु आजको आवश्यक छ ।

नैतिकता भनेको आत्म भान हो– आफ्नो व्यवहार, निर्णय र सोचमा के सही हो, के गलत हो भन्ने छुट्टाउने चेतना । नैतिकता कुनै कानुन होइन, तर यसले कानुनभन्दा गहिरो असर पार्छ । जसको मनभित्र नैतिकता हुन्छ, उसले कसैले नहेर्दा पनि राम्रो काम गर्छ, झूट बोल्दैन, चोरी गर्दैन, अरूलाई दुःख नदिई आफ्नो काम गर्छ । नैतिकता जीवनका धेरै पक्षसँग जोडिएको हुन्छ– जस्तैः सत्यता, इमानदारी, सहिष्णुता, कर्तव्य बोध, करुणा, अनुशासन, जिम्मेवारी, आत्मसंयम, सेवा भावना र पारदर्शिता । जब यी गुणहरू व्यक्ति र संस्थामा हुन्छन्, तब नै समाज न्यायपूर्ण र सुरक्षित हुन्छ ।

नेपालमा सबैभन्दा बढी नैतिकताको प्रश्न राजनीति क्षेत्रमा उठाइन्छ । नेताहरूले चुनावमा जनतालाई अनेक वाचा गर्छन्, तर सरकार बनेपछि ती वाचा बिर्सिन्छन् । पदको दुरुपयोग, भ्रष्टाचार, आपसी लडाइँ, भागबन्डा र पहुँचको राजनीति आज नेपाली राजनीतिमा सामान्य बनिसकेको छ । कतिपय नेताहरू जनताको सेवा गर्नुको सट्टा सत्तामा टिकिरहन, आफन्त र कार्यकर्तालाई लाभ दिन र आफू धनी बन्न राजनीति गर्छन् । दलहरूले घोषणा पत्रमा जे लेख्छन्, व्यवहारमा त्यो देखिँदैन । संसद् जस्तो उच्च निकायमा पनि विचारभन्दा शक्ति प्रदर्शन बढी देखिन्छ ।

राजनीतिमा नैतिकता भन्नाले सत्ताको लोभ नलिने, जनतासँग गरेको वाचा पूरा गर्ने, सार्वजनिक सम्पत्तिलाई आफ्नो सम्पत्ति नठान्ने, पारदर्शी निर्णय गर्ने, भ्रष्टाचार नगर्ने र राष्ट्र हितलाई प्राथमिकता दिने, यिनै हुन् राजनीतिक नैतिकताको मूल तत्व । जब नेताहरू नैतिक हुन्छन्, तब मात्र जनताले पनि राजनीतिलाई सम्मान गर्न थाल्छन् ।

सरकारी कर्मचारीहरूलाई प्रायः ‘जनताको सेवक’ भनिन्छ । तर, आजको यथार्थ त्योभन्दा धेरै टाढा छ । सरकारी कार्यालयमा काम गराउन जानु भनेको घण्टौ कुर्नु, फाइल खोज्नु, सिफारिस ल्याउनु र कहिलेकाहीँ घूस खुवाउनु भन्ने बुझिन्छ । धेरैजसो कर्मचारीहरू काममा ढिलो पुग्छन्, समयमै फाइल हेर्दैनन्, सेवाग्राहीलाई हेलचेक्र्याइँ गर्छन् । कतिपयले त ठूला नेतासँगको सम्बन्ध देखाएर गैरकानुनी काम गरिदिन्छन् । सरकारी योजना, अनुदान, ठेक्कापट्टा, भर्ना, सरुवा आदि सबैमा पारदर्शिता नभएको गुनासो सर्वत्र सुनिन्छ । राष्ट्र सेवक कर्मचारीहरूमा कार्यक्षमता, समय पालन, निष्पक्षता, उत्तरदायित्व, सेवा भावना, इमानदारी र कर्तव्यप्रति निष्ठा हुन जरुरी छ । जब कर्मचारीहरू आफ्नो कामलाई धर्म सम्झेर गर्छन्, तब जनताले पनि सरकारी सेवा प्रति भरोसा राख्न थाल्छन् ।

महिला समाजको आधा हिस्सा हुन् । उनीहरू घर, समाज र राष्ट्रको विकासमा समानरूपमा महत्वपूर्ण छन् । तर, लामो समयसम्म महिलालाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको इतिहास छ । पछिल्ला वर्षहरूमा शिक्षा, रोजगार, राजनीति र कानुनी अधिकारमा प्रगति भए पनि व्यवहारिकरूपमा महिला अझै पनि धेरै समस्यामा छन् । केही महिला सशक्त भए पनि अवसरको दुरुपयोग, पहुँच र राजनैतिक संलग्नताका कारण अनैतिक गतिविधिमा पनि संलग्न भएको पाइन्छ । कतिपय महिलाले योजनाको नाममा लाभ लिने, तर काम नगर्ने, संगठित रूपमा दबाब दिने, पदको दुरुपयोग गर्ने गरेका उदाहरण पनि छन् । 

विद्यार्थीहरू राष्ट्रको भविष्य हुन् भन्ने भनाइ सबैले सुनिसकेका छन् । तर आजका विद्यार्थीहरू राजनीतिक दलका समर्थक भएर आफू पढ्नभन्दा बढी अरूलाई दबाब दिने काममा लागेका छन् । शिक्षण संस्था भित्र हडताल, तोडफोड, गुरु–शिष्य सम्बन्धमा गिरावट, नकल, अनुशासनहीनता आदिले नैतिक मूल्य खस्किरहेको देखिन्छ । 

नेपालको ठूलो जनसंख्या कृषि पेसामा निर्भर छ । किसानहरू देशका मेरुदण्ड हुन् भन्ने कुरा सबैले भन्छन् तर उनीहरूको अवस्था भने दिनदिनै कमजोर हुँदै गइरहेको छ । केही किसानले अनुदानको दुरुपयोग गर्ने, झूटा कागजात बनाउने, सहकारीमा अनियमितता गर्ने जस्ता व्यवहार पनि देखिन्छ । यस्तो प्रवृत्तिले सबै किसानको नाम बदनाम हुन्छ । 

व्यापारीहरू समाजका आर्थिक इन्जिन हुन् । उनीहरूकै माध्यमबाट सामान, सेवा र उत्पादन जनतासम्म पुग्छ । तर आज नेपालमा व्यापारिक नैतिकता कमजोर हुँदै गएको छ । नाफा कमाउने लोभमा नापतौलमा बेइमानी, म्याद सकिएको सामान बेच्ने, गुणस्तरहीन उत्पादन, मिसावट, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, कर नतिर्ने, सरकारी अनुगमन छल्ने जस्ता कार्यहरू देखिन्छन् । 

नेपालमा विभिन्न पेसा गर्ने व्यक्तिहरू, जसमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षकजस्ता सम्मानित व्यक्तिहरू छन्– तिनीहरूलाई समाजले ठूलो आदर गर्छ । तर, हालका दिनमा यिनै पेसामा पनि नैतिकताको गिरावट देखिँदै गएको छ । डाक्टरहरूमा करुणा, संवेदनशीलता, समयको कदर र बिरामीप्रतिको सहानुभूति अत्यावश्यक छ । इन्जिनियरहरूमा गुणस्तरीयता, पारदर्शिता, प्राविधिक इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारी जरुरी छ ।

आजको युग सञ्चारको युग हो । मिडिया र सामाजिक सञ्जालको युगा हो । आजको युग सञ्चारको युग हो । मिडिया र सामाजिक सञ्जालको प्रभाव अहिलेको समाजमा अत्यन्त बलियो छ । सूचना, समाचार, विचार, बहस र चेतना जनतासम्म पुर्‍याउने काम यिनै माध्यमबाट हुन्छ । तर, सूचनाभन्दा अफवाह, सत्य भन्दा सनसनी, शिक्षाप्रद कुरा भन्दा विवादास्पद सामग्रीहरू बढी प्रस्तुत हुने क्रम बढेको छ । कुनै पनि विषयको पुष्टि नगरी समाचार बनाउने, वा सामाजिक संजालमा अफवाह फैलाउने काम बढ्दो छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा सत्य, विवेक, शिष्टता र सहनशीलता हुनु अत्यावश्यक छ । जसरी कागजको समाचार विश्वासिलो हुनुपर्छ, त्यसैगरी डिजिटल पोस्ट पनि साँचो, प्रमाणमा आधारित र समाज हितमा हुनुपर्छ । अरूको गोपनीयता, आत्मसम्मान, र सामाजिक सद्भावलाई असर पुर्‍याउने कुनै पनि सूचना अनैतिक हुन्छ । त्यसैले मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले आफू जिम्मेवार नागरिक भएको प्रमाण दिनुपर्छ ।

हाम्रो समाजको आधार भनेको नागरिक नै हो । हरेक नागरिकले आफू जहाँ छ, जस्तो छ, त्यहीँबाट नैतिक व्यवहार गर्न सुरु गरे भने समाज बदलिन धेरै समय लाग्दैन । सार्वजनिक ठाउँमा फोहोर नगर्नु, लाइनमा पालो पालना गर्नु, कर तिर्नु, झूट नबोल्नु, सवारी नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, छिमेकीसँग सहिष्णु व्यवहार गर्नु, यी सबै साधारण लाग्ने कामहरू नै हाम्रो नैतिकता हो ।

कहिलेकाहीँ हामी कानुन नलाग्ने ठाउँमा जानीजानी अनैतिक काम गर्छौँ, जस्तो—पानी चोरेर सिँचाइ गर्नु, लोडसेडिङमा अनधिकृत लाइन जोड्नु वा चाडपर्वमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नु । यस्ता व्यवहारले समाजको अनुशासन मात्र होइन, हाम्रो व्यक्तित्व पनि कमजोर पार्छ । नैतिक नागरिक बन्ने काम स्कुल, धर्म, समाज वा सरकारको मात्र जिम्मा होइन– व्यक्ति स्वयंको हो । सानैदेखि यो चेतना विकास गरे मात्रै दीर्घकालीन प्रभाव पर्छ ।

नैतिकता समाजमा पुनस्र्थापना गर्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । पहिलो, हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य हुनुपर्छ । विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, राम्रो मानिस बन्ने शिक्षामा जोड दिनुपर्छ । दोस्रो, शिक्षक, अभिभावक र समाजले केवल उपदेश होइन, व्यवहारबाट उदाहरण देखाउनुपर्छ । तेस्रो, धार्मिक र सांस्कृतिक संस्थाहरूले मानवता र सदाचारको प्रचार गर्नुपर्छ, अन्धविश्वास होइन । चौथो, सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सचेत बनाउने अभियानहरू चलाउनुपर्छ, जसले साइबर मर्यादा सिकाउँछ । पाँचौँ, भ्रष्टाचार, अनियमितता, र पदको दुरुपयोग गर्नेलाई जुनसुकै तहको व्यक्ति भए पनि कानुनी रूपमा कडा कारबाही गरिनुपर्छ । छठौँ, सामुदायिक तहमा नैतिक बहस, गोष्ठी, नाटक, चित्रकला, कविता, लेखनजस्ता सृजनात्मक कार्यक्रमबाट चेतना फैलाउनु पर्छ । अन्तिममा, नैतिक व्यक्ति, संस्था वा नेतृत्वलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्छ, जसले समाजमा राम्रोको प्रेरणा दिन्छ ।

नैतिकता भन्नु केवल आदर्श होइन, व्यवहार हो । यो हाम्रै बोली, चालचलन, सोच, कर्म, सम्बन्ध र जिम्मेवारीमा झल्किन्छ । जब मानिसहरूमा नैतिकता बलियो हुन्छ, तब समाज स्वतः सुरक्षित, न्यायपूर्ण र शान्त हुन्छ । तर, जब नैतिकता कमजोर हुन्छ, तब कानुनले मात्र सबै कुरा रोक्न सक्दैन । नेपालमा आज जुन संकटहरू छन्– भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, सेवा प्रवाहमा कमजोरी, शिक्षा र स्वास्थ्यमा गिरावट, सामाजिक असहिष्णुता, यी सबैको मूल कारण नै नैतिकताको कमी हो । जब व्यक्ति, संस्था र राज्य नैतिक बन्छ, तब कानुन, नीति, योजना र विकास स्वाभाविकरूपमा सफल हुन्छन् ।

त्यसैले अब समय आएको छ कि हामी सबै राजनीतिज्ञ, कर्मचारी, महिला, विद्यार्थी, किसान, व्यापारी, पेसाकर्मी, मिडिया र सामान्य नागरिक आ–आफ्नो ठाउँबाट नैतिकता अभ्यासमा लागौँ । त्यसैबाट मात्रै साँचो परिवर्तन सम्भव हुन्छ । व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ—न्याययुक्त, समावेशी, स्वाभिमानी र समृद्ध ।

(झा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise