– झलक शर्मा
मानव अस्तित्वलाई संकटमा पार्ने आकंलन गरिएको कोरोना भाइरसको संक्रमणलाई अझै पनि विश्वले नियन्त्रण गर्न सकेको छैन । यस संक्रमणलाई नियन्त्रण गर्न धेरै राष्ट्रले लकडाउन तथा निषेधाज्ञाको विधि अवलम्बन गरे । भाइरसको निधानका लागी कुनै पनि औषधी तयार नभएको कारण आम मानिस घर भित्रै थुनिनु पर्ने अवस्था आयो । मानिसले मानिसबाट नै डर मान्नु पर्ने स्थितिले समाजलाई आक्रान्त पार्यो । दोश्रो भेरियन्टले भारत र नेपाललाई नराम्रोसँग गाँजो । नागरिक चेतनाको अभाव, अव्यवस्थित शहरीकरण, राजनीतिक दलका सभा सम्मेलन, जुलुसलगायतका भीडभाडका गतिविधिले गर्दा नेपालमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढ्दै गयो । कोरोना भाइरसविरुद्धको खोपको विकास र यसको प्रयोगसँगै नेपालले पनि आफ्ना नागरिकलाई खोप सेवा प्रदान गर्दै आएको छ । तर खोप सेवा समन्यायिक तवरबाट वितरण हुन सकेको छैन भन्ने कुराको जनगुनासो रहेको छ ।
अहिले गुनासो सोर्स फोर्सबाट खोपको दुरुपयोग भएको भन्ने छ । सरकारले लक्षित समूहहरु छुट्याए पनि त्यसमा लक्षित समूहको पहुँच पुगेको छैन । स्थानीय तहहरुले खोप सञ्चालन गर्ने कार्यक्रमको सूचना सहजरुपमा नागरिक समक्ष पुगेको छैन । नगरपालिका तथा गाउँपालिकाका वडा, स्वास्थ्य चौकिमा राजनीतिक दलका कार्यकर्ता, आफ्नो नातेदार वा त्यस क्षेत्रमा पहुँच पुगेकाले सूचना पाउने तर अन्य नागरिकलाई सूचना प्रवाह एउटा झारा टार्ने मात्र काम बन्दै गएको छ । खोपबारे सूचना तथा जानकारी लिन जाँदा अपुरो, अपरिपक्व जवाफ बेहोर्नु परेको स्थिति छ । नागरिकहरु स्वयम् सचेत भई इन्टरनेटको माध्यमबाट विभिन्न सूचना खोज्ने वा प्राप्त गर्ने गरेता पनि कैयौं प्रविधिसँग घुलमिल हुन नसकेका नागरिकलाई सूचना प्राप्त गर्न धौ–धौ हुने गरेको छ ।
स्थानीय तहहरुले खोपबारे जानकारीका लागी माइकिङ्ग गर्ने, पर्चा बाँड्ने, सबैले देख्ने ठाउँमा सूचना टाँस्ने कार्य गर्न हेलचक्राँई गरेको देखिन्छ । वडा कार्यालयमा सूचीकृत टोल सुधार समितिलाई खोप वितरणको सूचना प्रवाह गर्न जिम्मेवारी किटान नगरेको देखिन्छ । अझ भन्ने हो टोल सुधार समितिलाई स्वयंसेवी कार्यमा जुटाउन सकेको देखिएन । कतिपय जनतालाई खोपको उपयोगिता बारेमा नै जानकारी छैन । खोप लगाएपछि भावि दिनमा विभिन्न समस्या आइपर्छ भन्ने कुप्रचार, अप्रमाणित एवं अवैज्ञानिक प्रचारले मानिसमा डर पैदा गराएको छ । वाच डगको रुपमा रहेको नागरिक समाजको भूमिका पनि सकारात्मक हुन सकेको छैन ।
खोप वितरण केन्द्रको हातामा सामाजिक दुरी पालना गरिएको तर हाता बाहिर लाइन वा पङ्क्तिमा बसेको भीडमा सामाजिक दुरी पालना गराउन नसकेको वा बेवास्ता गरिएको देखिन्छ । खोप वितरणको परिमाण, लक्षित समूह, खोप लगाउन आउदा पेश गनुपर्ने कागजातहरु, निर्धारित समय, लाइन बस्दा अपनाउनु पर्ने सामाजिक दुरी तथा विधि, लगायतका विविध जानकारीलाई स्पष्ट पार्न सकेको पाइदैन । कतिपय मानिसहरु खोप लगाउन पाइन्छ भन्ने आशामा घण्टौँसम्म लाइनमा बसेको तर खोप लगाउन नपाएको स्थिति छ । फगतमा लाइनमा बस्नुपर्ने र सो दिनमा खोप नपाए अन्य दिनमा खोप पाइन्छ कि पाइदैन भन्दा खोप वितरण केन्द्रबाट थाहा छैन, सम्बन्धित वेबसाइट, फेसबुक पेज हेर्नुहोस् भन्ने सल्लाह आउँछ । तर, ति सम्बन्धित केन्द्र, कार्यालय वा स्थानिय तहका वेबसाइट, फेसबुक पेजमा सूचना देख्न सकिदैन । खोजतलास गरी सूचना खोज्दा पुरानै सूचना भेटिने हुदा सूचनाको अद्यावधिक गरेको पाइदैन । एक स्थानीय तहमा बसिरहेको स्थायी वा अस्थायी मानिसहरु भनसुनका आधारमा अर्को स्थानीय तहमा गएर खोप लगाउने गरेको पाइन्छ । आफू बसिरहेको स्थानीय तहमा खोपको उपलब्धताको अनिश्चताले सोर्सफोर्स र भनसुनको माध्यम अपनाउने गरेका छन् ।
खोप वितरणमा स्थानीय संघ संस्था, नागरिक समाज तथा आम् नागरिकसँग समन्वय नगर्दा पहुँचवालाहरुले खोपको दुरुपयोग गरेको देख्न पाइन्छ । लोकतान्त्रिक शासन प्रणालीमा जनतालाई नै सबैभन्दा माथि राखेर शासन गरिन्छ तर, यस्तो स्वास्थ्य प्रतिकूल अवस्थामा निमूखा जनता नै उपेक्षामा परेको देखिन्छ । कोभिड फोकल पर्सनबाट नै खोपको दुरुपयोग भएको घटना पनि बाहिरिएको छ । उच्च अहोदामा रहेका परिवार, नातागोता र राजनीतिक दलका नेता तथा कार्यकर्ताले कुनै लक्षित समूहमा नपरी सहजरुपमा खोप पाउने तर गरिब जनता त्यसबाट बञ्चित हुनुपर्ने अवस्था सृर्जना भयो । अझै पनि धेरै नागरिकले यस्तै असमानता र बेखबरबाट नै खोपको पहिलो डोज÷मात्रा लगाउन पाएका छैनन् । खोप सेवालाई समन्यायिक तवरबाट उपलब्ध गराउन स्थानीय तहहरु जागरुक हुन सकेको देखिँदैन ।
नेपालको वर्तमान संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हकको व्यवस्था गरेको छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनि उल्लेख गरेको छ । संविधानकै अनुसूची ९ मा स्वास्थ्य सेवाको व्यवस्थापनलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचिमा राखिएको छ । यिनै तहहरुले खोप सेवालाई प्रभावकारी बनाउन समन्वयगत भूमिका निर्वाह गर्नुपर्दछ भने स्थानीय तहलाई बढी जिम्मेवार बनाउनु आवश्यक छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ को लक्ष्य संघीय संरचनामा सबै वर्गका नागरिकका लागि सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच उपभोग सुनिश्चित गर्ने रहेको छ । चालु १५ औं योजनामा स्वास्थ्यसम्बन्धि कार्य नीतिमा रोेगको भार तथा लागत प्रभावकारिताको आधारमा समयानुकुल खोप सेवाहरु प्रदान गरिनेछ । त्यसैगरी खोप सेवालाई दिगो बनाउन खोप कोषलाई सुदृढ बनाइनेछ भन्ने कुरा उल्लेख गरिएको छ । संविधान, नीति तथा योजनाका मूल मर्मलाई आधार मानेर स्वास्थ्य क्षेत्रको विकास र विस्तार गर्ने हो भने आम् नागरिकहरु स्वास्थ्यको पहुँचबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन ।
सरकारले खोप वितरणका लागी आवश्यक सम्पूर्ण तयारी गर्ने, यसको निरन्तर अनुगमन एवं निगरानी गर्नु आवश्यक हुन्छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न सरकारी निकाय सरोकारवाला पक्ष एवं आमजनसमुदायको समन्वयबाट नै यस भाइरसको संक्रमण तथा फैलावटलाई रोक्न सकिन्छ । सबै नागरिकमा सूचनाको पहुँच पुग्ने खालको स्वास्थ्य सूचना प्रणालीलाई आधुनिकीकरण गर्दै प्रभावकारी बनाउनु पर्छ । खोपबारे अफवाह तथा भ्रामक समाचारबाट जोगिनु पनि आवश्यक छ । राज्यले नागरिकप्रति स्वास्थ जनचेतना अभिबृद्धि गर्ने र नागरिकले पनि सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाको बारेमा चासो बढाउनु आवश्यक छ ।
खोप केन्द्रलाई व्यवस्थित बनाउन स्वास्थ्यकर्मी, कर्मचारीलाई तालिम प्रदान गरी सेवालाई प्रभावकारी बनाउन उपयुक्त कदम चाल्नु पर्दछ । जसले गर्दा असल आचरण परिपालना गरी नागरिकप्रति उपयुक्त व्यवहार देखाउन सकियोस् । केही दिन यता कोरोना भाइरसको संक्रमणमा केही कमी आएता पनि यसमा पु¥याउनुपर्ने सावधानी नअपनाइएको खण्डमा पुनः संक्रमण फैलिनेमा आकंलन गर्न सकिन्छ । तसर्थ कोरोना भाइरस प्रति सचेत, सजग र सुरक्षित हुदै विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ । जनअपेक्षाकृतरुपमा कोरोना भाइरस विरुद्धको खोप सेवालाई सबै नागरिकको पहुँच र एकरुपता कायम गर्नुपर्दछ । विशेषत हिन्दु नेपालीहरुको चाडपर्वहरु नजिकिँदै गरेको अवस्था र सँगै अत्याधिक वर्षाका कारण विपद्का घटना पनि बढ्दै गएको अवस्था छ । विपद्बाट विस्थापित भएका व्यक्तिको उद्धार गर्ने तथा सुरक्षित स्थानमा सामूहिकरुपमा बसोवाबास गराइएको क्षेत्र बढी भिडभाड हुने र विभिन्न सर्ने रोगको जोखिम हुने भएकोले विपद्मा परेकालाई प्राथमिकतामा राखी कोरोना भाइरस विरुद्धको खोप सञ्चालन गर्नु उपयुक्त हुन्छ । जसले सामूहिकरुपमा बसेका समुदायमा कोरोना भाइरसको संक्रमणको फैलावटलाई रोक्न सकोस ।
इमेल :sharmajhalakpkr@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies