२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

नेपाल र कोरियाबीच उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता

shivam cement
२०८२ भदौ १२ गते ०६:१५
नेपाल र कोरियाबीच उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाको प्रविधि नेपालमा भित्र्याएर दक्ष जनशक्ति उत्पादन गर्ने विषय नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संशाधन विभागको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले सो धारणा राखेका हुन् । उनले विस्तारै निजी तालिम प्रदायक संस्थाहरूलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालनका लागि आधार तयार गर्ने पनि जानकारी दिए ।

कोरिया सरकारले नेपालमा इपिएस कार्यक्रम सञ्चालन गरी नेपाली युवाहरूलाई रोजगारीका लागि भर्ना गर्ने गरेको छ । श्रममन्त्री भण्डारीले दक्षिण कोरिया सरकारले नेपाललाई स्रोत मुलुकमा राखेर नेपाली युवायुवतीलाई रोजगारीको अवसर प्रदान गरेको भन्दै कोरिया सरकारलाई धन्यवाद दिए ।

छलफलमा मन्त्री भण्डारीले इपिएस कार्यक्रममार्फत अवसर पाएका युवाहरूले कोरियाको विकासमा समेत योगदान पुर्‍याएको बताउँदै कोरिया नेपाली युवाहरूका लागि आकर्षक रोजगार गन्तव्यको रूपमा स्थापित भइसकेको उल्लेख गरे । उनले भने, ‘पाँच हजार युवाहरूका लागि खुलाइएको रोजगारीको अवसरमा एक लाखभन्दा बढीले आवेदन दिनु कोरिया जान युवाहरू कति इच्छुक छन् भन्ने स्पष्ट प्रमाण हो ।’

श्रममन्त्री भण्डारीले नेपाली युवाहरूलाई केवल रोजगारीका लागि मात्र नभई कोरियामा काम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सीप हासिल गर्न पठाउनुपर्ने बताए । उनले विदेशमा काम गरेर केही पुँजीसहित फर्किएपछि मुलुकको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले भने, ‘सीपबिनाको रोजगारी सम्भव हुँदैन । त्यसैले कोरियाको प्रविधि नेपालमा हस्तान्तरण गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो प्राथमिकता हो ।’ 

कोरियन सरकारले हाल पनि विभिन्न माध्यमबाट नेपालमा दक्ष जनशक्ति निर्माणमा सहयोग गर्दै आएको छ । मन्त्री भण्डारीले कोरियाबाट आएको उच्च प्राविधिक टोलीले दुवै देशको हित हुने गरी ठोस निष्कर्षसहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकार र कोरिया सरकारबीच अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । उनले कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताए ।

हाल इपिएसमार्फत हुने भाषा परीक्षामा उत्तीर्ण हुने ४० हजारभन्दा बढी नेपाली कामदार दक्षिण कोरिया पुगेको इपिएस शाखाले बताएको छ । श्रम मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरी निजी क्षेत्रमार्फत श्रमिक पठाउने बाटो खोलेको छ ।

ADV

सम्बन्धित खबर

Advertise