काठमाडौं : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) राष्ट्रिय परिचयपत्र प्रणाली (एनआइडी)मा जोड्ने प्रक्रियाले सफलता पाएको छ । विगतमा फेमिसमा प्राविधिक समस्या आएपछि वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने प्रभावित भएको थियोे ।
फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने श्रमिकको ‘ओरियन्टेसन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या जस्ता विषय समाधान गरी राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोड्ने प्रक्रियामा सहजता देखिएको विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए ।
प्रणालीमा सुधार नहुँदा दसैं, तिहार जस्ता नेपालीका ठुला चाडपर्वमा घर बिदामा आएका कामदार फर्किने समयमा समस्या देखापर्ने गरेको थियो । उक्त समयमा अग्रिम टिकट लिएका वैदेशिक रोजगारमा जाने कामदार र म्यानपावर व्यवसायी तनावमा रहने गरेका थिए । तर विभागले सेवाग्राहीको संख्या र चाप बढेको भन्दै त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउने गरेकोे थियोे । राष्ट्रिय परिचयपत्र प्रणालीमा लिंकअप भएपछि त्यस प्रकारका समस्या नदेखिने निर्देशक ढकालले बताए ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन विभागले एक दशकअघिदेखि फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । विभागले अनलाइन प्रणालीको माध्यमबाट सेवा प्रदान गरी फेसलेस, क्यमसलेस र पेपरलेस वैदेशिक रोजगार प्रशासनको पैरवी गरिरहेको छ ।
तर प्रणालीमा समय–समयमा समस्या आउने र ल्याउने गरिएको श्रमिकदेखि म्यानपावर कम्पनी सञ्चालकहरूको गुनासो छ । फेमिसमा हाल विभागसहित अभिमुखीकरण, मेडिकल, बिमा कम्पनीसहित २० वटा संस्था जोडिएका छन् । ती सबैले एकसाथ प्रणाली सञ्चालन गर्दा सञ्चालनमा समस्या हुने गरेको थियो ।