२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सवा २४ खर्ब नाघ्यो सार्वजनिक ऋण

ADV
मध्यान्ह
२०८१ साउन ४ गते २१:५०
सवा २४ खर्ब नाघ्यो सार्वजनिक ऋण

काठमाडौं : नेपालको सार्वजनिक ऋण सवा २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.६५ प्रतिशत पुगेको छ ।

कार्यालयकाअनुसार अहिलेको ऋण प्रतिवेदन पश्चात प्राप्त भएको, वैदेशिक मुद्राको विनिमयदर घटबढको हिसाब मिलान नभएको प्रारम्भिक तथ्यांक मात्रै भएकाले वार्षिक प्रतिवेदन तयार पार्दा फरक पर्न सक्ने छ । गत आर्थिक वर्षको पहिलो महिना साउनसम्म राज्यको जम्मा सार्वजनिक ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको थियो । एकै वर्षमा एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप हुँदा यस्तो दायित्व २४ खर्ब रुपैयाँ नाघेको हो । 

जेठ महिनाको तुलनामा असारमा ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ ऋण थपिएको कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयकाअनुसार सार्वजनिक ऋण आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख र बाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सरकारले ऋणको साँवा–ब्याज बापत दुई खर्ब २३ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख र बाह्यतर्फ ४० अर्ब ७२ करोड २१ हजार रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

सरकारले गत आर्थिक वर्षभित्र चार खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । असार मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा ७९.०८ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जानकारी दिएको हो । जसमा आन्तरिक ऋण प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ९७.६८ र बाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise