२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

लगानी खोजिरहेको क्रिकेट 

ADV
२०८१ साउन ६ गते ०६:३०
लगानी खोजिरहेको क्रिकेट 

वुमन एसिया कप क्रिकेटमा शुक्रबार नेपालले सम्झनायक प्रदर्शन गर्दै ऐतिहासिक जित निकाल्यो । युएईविरुद्ध ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झना खड्काको लगभग एकल प्रदर्शनी रह्यो । एसिया कपमा कुनै नेपाली खेलाडीका तर्फबाट पहिलो अर्धशतक मात्र गरिनन्, ७२ रनमा नटआउट रहँदै सम्झनाले टीमलाई जिताइन् । यो जित एसिया कपमा नेपालको पहिलो जित थियो । उद्घाटन खेल जितेपछि नेपाली खेलाडीहरु थप खेलका निम्ति उत्साहित छन् । डम्बुला मैदानमै नेपाली खेलाडीहरुको खुशी देखिएको थियो । अब हुने बाँकी खेलमा जितेर सेमिफाइनल प्रवेश गर्ने हिम्मत पनि नेपाली टीममा देखिएको छ । यद्यपि अबका प्रतिस्पर्धी पाकिस्तान र भारत जस्ता बलिया टीम छन् ।

त्यसैले नेपाली टोलीले बाँकी खेलहरु नजित्न पनि सक्छन् । तर सिंगो देशलाई खुशी दिलाउनेगरी शुक्रबार ऐतिहासिक जित दिलाइन् । भलै पुरुष र महिला खेललाई हेर्ने दृष्टिकोणमा समस्या छ । तर बिस्तारै बदलिएको चेतले एसिया कपमा नेपालले शुक्रबार निकालेको खुशीको हकदार हाम्रा खेलाडीहरु नै हुन् । राज्यको लगानी र सरकारले दिएको प्राथमिकताको जोडबलमा अहिलेको सफलता मिलेको होइन । यदि राज्यले क्रिकेटमा लगानी गरेको हुन्थ्यो भने खेलाडीहरुले तलब नपाएको समाचार बेलाबेला सार्वजनिक भइरहेको हुन्थेन । तर वास्तविकता नेपालमा क्रिकेटले जुन तहको सफलता हासिल गरिरहेको छ, राज्यको लगानी सरमलाग्दो छ । कतिसम्म भने तलब पाएकै खेलाडीहरुकै पनि गुनासो हुने गरेको छ, त्यति तलबले बाँच्न पनि सकिदैन । 

यद्यपि खेलाडीहरुले जित्दा राजनीतिक नेतृत्वले पनि खुशी साट्ने गरेको पाइन्छ । शुक्रबार एसिया कपमा जित निकाल्दा पनि नेताहरुले सामाजिक सञ्जालमा बधाई दिए । नेताहरुले सामाजिक सञ्जालमा उत्सव मनाउनुको प्रयोजन भने युवाहरुको मन जित्नु हो । युवाहरुबीच खेल प्रिय रहेकाले नेताहरुले बधाई सन्देश लेख्ने गरेका छन् । युवाहरुको मन जित्नेगरी गतिविधि गरिनु प्रशंसाकै कुरा हो । किनकि राज्यको दायित्व नै नागरिकलाई खुशी बनाउनु हो । तर त्यसरी खुशी बनाउने कुरामा पनि  दीर्घकालीन आधार सिर्जना गरिनुपर्छ । त्यो भनेको क्रिकेटकै कुरा गर्दा आवश्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिनुपर्छ । खेलाडीहरुलाई आकर्षक तलब सुविधा दिलाउने नीति निर्माण गरिनुपर्छ, खेलाडीहरुको भविष्य सुरक्षित गर्नेतर्फ सोच्नुपर्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise