२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

धोबीनी गाउँपालिकाको ३३ करोड ८८ लाख बजेट पारित

Nada
लालबाबु बानिया
२०८२ असोज १२ गते २०:१०
Shares
धोबीनी गाउँपालिकाको ३३ करोड ८८ लाख बजेट पारित

पर्सा : पर्साको धोबीनी गाउँपालिकाले चार महिना ढिलो भएपनि ११औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभामा चालु आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम पारित गर्दै ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैयाँ बराबरको बजेट अनुमोदन गरिएको छ ।

ncell

उपाध्यक्ष मन्जुदेवी पटेलको आदेशअनुसार प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले अनुमानित बजेट प्रस्तुत गरेका थिए । गाउँसभा धोबीनी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चौहानले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासमा हुने उल्लेख गरे । उनले राजनीतिक कारणले गाउँसभा ढिलो भएको बताउँदै यसले विकासका काम र जनताको सेवामा अवरोध पुर्‍याएको स्वीकार गरे । अब गाउँसभा सम्पन्न भइसकेकाले विकास कार्य र जनताको काम छिटोछरितो रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । साथै उनले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमीको अवसरमा गाउँवासी र सम्पूर्ण नेपाली जनतामा समृद्धि, प्रगति र शुभकामना व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले आफूले भ्याएसम्म इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकालाई स्वच्छ र समृद्ध बनाउँदै नमुना गाउँपालिका बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

गाउँसभा अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष मन्जुदेवी कुर्मिन, वडाध्यक्षहरू बन्धु साह तेली, देवन्द्र पटेल, राजकिशोर पटेल, अब्बास मियाँ चुरिहार, मनाउर मियाँ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, महिला सदस्यहरू, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, इन्जिनियर रबिभुषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, लेखापाल अकलेश सहनी, जिन्शी प्रमुख प्रदीप पटेल, प्रदीप गुप्ता, तेजेन्द्र माली, पत्रकार तथा सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले गरेका थिए । गाउँसभा सम्पन्न भएसँगै धोबीनी गाउँपालिकाले आगामी दिनमा विकास, पारदर्शिता र जनसेवामा अझै सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर