२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दशैं मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगितामा भंगारा क्लब फाइनलमा प्रवेश

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असोज २० गते २२:००
Shares
दशैं मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगितामा भंगारा क्लब फाइनलमा प्रवेश

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जारी बडा दशैं मेलामा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका–९ स्थित भंगारा क्लब फाइनलमा प्रवेश गरेको छ।

विजय दशमीको अवसरमा भगवती युवा क्लबद्वारा आयोजना गरिएको बडा दशैं मेला–२०८२ अन्तर्गत सोमबार साँझ भएको सेमिफाइनल खेलमा भंगारा क्लबले म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्ले मालिकाको मालिका युवा क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

म्याग्दी जिल्लाकै सबैभन्दा ठूलो र महँगो पुरस्कार राशीको इतिहास बोकेको बडादशैं मेलामा लिग सिस्टममार्फत सञ्चालन भइरहेको यो प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाएका छन्। सोमबार सम्पन्न पहिलो सेमिफाइनलपछि दोस्रो सेमिफाइनल मंगलबार बिहान हुने भएको छ। दोस्रो सेमिफाइनल खेल पर्वत जिल्लाकै कुस्मा नगरपालिका–११ पकुवा क्लब र अन्नपूर्ण गाउँपालिका–६ घारस्थित भुवानी यूथ क्लबबीच हुनेछ।

असोज १८ गतेदेखि सुरु भएको बडा दशैं मेलामा मंगलबारबाटै प्रौढ भलिबल खेल पनि सुरु हुने भएको छ। प्रौढ भलिबलमा समेत १२ टिमले नाम दर्ता गराएका छन्। मेला आयोजक समितिका अध्यक्ष सुलभ मल्लका अनुसार मेलामा यस वर्ष भलिबलका अतिरिक्त खेलहरू सीमित रूपमा आयोजना गरिएको छ। उनका अनुसार यस वर्ष ३ इन्टु ३ प्रणालीमा पुरुष बास्केटबल मात्र सञ्चालन गरिनेछ।

मल्लले प्रौढ बास्केटबल, महिला भलिबल र लठो तान्ने खेलजस्ता अन्य प्रतियोगिताहरू यस वर्ष समावेश नगरिएको जानकारी दिएका छन्। उनका अनुसार मेलाको समय तालिका अनुसार आगामी शुक्रबारसम्म सबै खेलका फाइनल सम्पन्न गरिने लक्ष्य राखिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ। आयोजक समितिका अनुसार खुल्ला पुरुष भलिबलको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ६० हजार १ सय ११ रुपैयाँ, प्रौढ भलिबलका विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४० हजार १ सय ११ रुपैयाँ पाउने छन्।

त्यस्तै, पुरुष बास्केटबलतर्फ विजेताले ५० हजार १ सय ११ र उपविजेताले ३० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, विजेता र उपविजेता टिमहरूलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित खबर