२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सोमबार र शिवतत्व

ADV
२०८१ साउन ७ गते ०६:३०
सोमबार र शिवतत्व

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

श्रावण आरम्भसँगै भगवान् पशुपतिनाथ मन्दिर परिसर झकिझकाउ हुन थालेको छ, यसपालि त यो महिनाभरि नै त्यहाँ विशेष कार्यक्रम नै रहेको छ । श्रावणको सोमबार विशेष दिन नै हो, भक्तहरूको भीड नै हुन्छ बढी । पशुपति क्षेत्र मात्रै होइन देशभरिका शिवालयहरूमा भक्तहरूको भीड हुने गरेको छ ।

संसारमा ५ मुख्य तत्व छन् । सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह ! यी ५ तत्व नै ब्रह्माण्ड सम्बन्धी कार्य हुन् । संसारको रचनालाई आरम्भ भनौँ सर्ग या सृष्टि भनिन्छ । सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, संरक्षण गर्ने कार्य शिवको पालन स्वरूप कार्य हो । सृष्टिपछि विनाश हुन्छ, जसलाई संहार भनिन्छ । जीव प्राण सञ्चालन तिरोभाव हो, यी सबैबाट छुटकारा मिल्नु अनुग्रह हो, यसलाई मोक्ष भनिन्छ, कसैले यसलाई पञ्च महाभूत भन्दछन् । सृष्टि माटोमा हुन्छ, स्थिति जलमा हुन्छ, संहार अग्निमा हुन्छ, तिरोभाव वायुमा र अनुग्रह आकाशमा हुन्छ । पृथ्वी तत्वबाट सृष्टि हुने हो, स्थिति या जीवन रक्षा जलद्वारा हुन्छ, अग्निले सबैलाई संहार गर्छ, वायुले प्राण सञ्चालन । यी ४ तत्वलाई शब्द ब्रह्म आकाश रूपले अनुगृहीत गराइएको हुन्छ । यी ५ मुख्य कार्य सञ्चालनका लागि शिवजीका ५ मुख भएका हुन् । ४ दिशामा ४ मुख छन्, पाँचौँ मुख यी सवैका बिचमा छन् । पञ्चमुखी शिवजीको प्रार्थना गरेर ब्रह्मा र विष्णुले सृष्टि र पालनको अभिभारा लिएका हुन् । रुद्र र महेश्वर शिवको २ विभूति स्वरूप हो । 

यो ५ कार्यको स्रोत ॐ कार हो । सबैभन्दा पहिले ॐ कार शिवजीको मुखबाट निस्केको हो । ॐ कार वाचक हो, शिवजी वाच्य हुन्, ॐ कार शिव स्वरूप हो । सदा दिन ॐ कारको स्मरण गर्नाले मानिसहरू शिव रूप हुन्छन्, कल्याणमयी पनि । शिव भनेको कल्याण नै हो, सर्व कल्याण । उदार भावले सेवा भावमा संलग्न हुन शिव कृपा चाहिन्छ । उनको कृपाले क्रोध, रिस, वैमनस्य स्वतः हट्छ । शिवजीको उत्तर मुखले अ कार, पश्चिम मुखले उ कार, दक्षिण मुखले म कार, पूर्व मुखले ॐ को विन्दु र बिचको मुखले नादको सङ्केत दिन्छन् जसलाई स्वर भनिन्छ । शिवको स्वरूप ॐ कार हो, अ, उ, म र विन्दु तथा नाद स्वरबाट यो संसार सञ्चालित छ । ॐ लाई एकाक्षर प्रणव मन्त्र भनिन्छ । सबैको स्रोत हो यो !

संसारमा वेददेखि सारा ब्रह्माण्ड र यसभित्रका सबै सर्ग विसर्ग यसैमा छन् । मानव स्वरूप, स्त्री, पुरुष सबै यसैबाट निःसृत भएका हुन् । यो मन्त्रले शिव र शक्ति दुवैको सङ्केत गर्छ । जीव र जगत्, ईश्वर र नश्वर सबै यसैमा छ । यसैबाट पञ्चाक्षर मन्त्रको सुरुवात भएको हो । पञ्चाक्षरबाट ५ मूल स्वर र ५÷५ वर्णको व्यंजन तयार भएको हो । अ, इ, उ, ऋ, लृ ५ मूल स्वर र क, च, ट, त, प आदि वर्ण यसैबाट निस्केका हुन् । ॐ कारदेखि म कार सम्मका क्रमले ॐ नमः सिवाय पंचाक्षरी मन्त्र सिर्जना भएको हो । यसैबाट गायत्री मन्त्रको सुरुवात भएको हो । गायत्री मन्त्रबाट सम्पूर्ण वेदहरू प्रकट भए, ती वेदहरूबाट करोडौँ मन्त्रहरू निस्के । भिन्न, भिन्न मन्त्रहरू भिन्न भिन्न कार्यको लागि प्रेरित भए । मन्त्रहरू कार्य सिद्धिका लागि प्रयोग हुन्छन् । मनोरथको पूर्ति मन्त्रहरूबाटै हुन्छ । जीवका आफ्ना मनोरथहरू हुन्छन् । यो २ थरी हुन्छ, भुक्ति र मुक्ति ! इह लौकिक सुख आनन्द भुक्ति हो, मृत्युपछि भव बन्धनबाट छुट्ने कार्य मुक्ति हो, जसलाई मोक्ष भनिन्छ, मोहको क्षय हुनु भनेको मोक्ष हो । आशक्तिको अन्त्य भएपछि भव बन्धन छुट्छ, अलि कति पनि राग र आशक्ति रहुन्जेल मुक्ति प्राप्त हुँदैन । प्रणव मन्त्रले भोग तृप्ति दिन्छ र मुक्ति पनि । 

सकाम भावले पहिलो उद्देश्य र निष्काम भावले दोस्रो उद्देश्य प्राप्ति हुन्छ । शिव सबैका आत्मा हुन् । शिव ब्रह्म हुन्, उनको शक्ति अनन्तः छ । शिवजी सद्गुरु हुन्, उनलाई शम्भु भनिन्छ, शम्भु स्वयम्भू हुन् । नमो निस्कलरूपाय नमो निष्कलतेजसे । नमः सकलनाथाय नमस्ते सकलात्मने ।। नमः प्रणववाच्याय नमः प्रणवलिंगने । नमः सृष्टयादिकत्र्रे च नमः पंचमुखाय ते ।। पञ्च ब्रह्मस्वरूपाय पञ्चकृत्याय ते नमः ।  आत्मने ब्रह्मणे तुभ्यमनन्त गुण शक्तयेसकलाकल रूपाय शम्भवे गुरवे नमः ।। प्रार्थना यसरी गरिन्छ ।.

सृष्टिको आरम्भमा सर्वज्ञ, दयालु शिवजीले सबै लोकको उपकारका लागि विभिन्न बारहरूको कल्पना गरे । शिव एक चिकित्सक हुन् । औषधि विज्ञानको प्रणेता शिवले सबैलाई आरोग्य दिन्छन् । आरोग्य दिने सन्दर्भमा आफूले माया शक्तिका विभिन्न बारहरू उनले निर्माण गरे । बार विशेषको भगवत् उपासनाले सम्पत्ति प्राप्त हुन्छ । शुरुमा जन्म समय बाल्य अवस्थाको रक्षाको लागि कुमार बारको परिकल्पना भयो । त्यसपछि भगवानले मानिसमा हुने आलस्य र पाप निवृत्तिका लागि र समस्त लोकको अनुग्रह गर्न लोक रक्षक भगवान् विष्णुका बारहरू बनाए । तत्पश्चात् भगवान् शिवले मानिसहरूको सृष्टि र रक्षाको लागि आयुकर्ता ब्रह्माको बार बनाए । सबैको आयु र सिद्धि प्राप्ति हुने उद्देश्यले यसरी बारहरूको परिकल्पना भयो । त्यसपछि पाप र पुण्य तीन नै लोकको रचनाका साथमा शुभ अशुभ फल दिन शिवले इन्द्र र यमको बार कल्पना गरे । यी बारहरू संसारमा भोग दिने र सम्पूर्ण प्राणीहरूको मृत्यु भय दुर गर्नलाई तयार भयो । 

सुख, दुःखको सूचक पाप र पुण्यको उपलब्धि जनाउने सात बारको निश्चित भयो । जसका अलग–अलग नाम, तिनका स्वामी अलग–अलग छन् । शिवजीबाट परिकल्पना भएका यी बारहरूका दिनका स्वामी सूर्य हुन् । शक्ति सम्बन्धी बारका मालिक सोम हुन् । कुमारका अधिपति मङ्गल हुन् । विष्णु बारका अधिपति बुध हुन् । ब्रह्माजीको बारका अधिपति वृहस्पति हुन् । इन्द्र बारको स्वामी शुक्र, यम बारका स्वामी शनिश्चर हुन् । आ–आफ्ना बारको उपासना अनुसार फलहरू अलग–अलग हुन सक्छन् । 

सूर्य बारको उपासनाले शरीरमा आरोग्य मिल्छ । चन्द्र सोमबारको उपासनाले भोग, ऐश्वर्य प्राप्ति हुन्छ । व्याधि रोग निवृत्तिको लागि मङ्गलवारको उपासना गरिनुपर्ने हुन्छ । शरीरमा पुष्टि चाहनेले बुधवारको उपासना, आयु वृद्धि चाहनेले बृहस्पति बारको उपासना, भोग, ऐश्वर्य, मनोरञ्जन चाहनेले शुक्रबारको उपासना, मृत्यु सुधारण गर्न चाहनेले शनिवारको उपासना गर्नु पर्ने हुन्छ । सबै बारको उपासनाका फल दाता भने सदा शिवजी नै हुन्छन् । रविबार सूर्यका उपासना पापको शान्ति कारक, सोमबारको चन्द्र उपासनाले लक्ष्मी प्राप्ति, मङ्गलवार को उपासनाले शरीर निरोगी हुने, बुधवारको विष्णु पूजाले पुत्र, परिवार र मित्र वृद्धि हुने, दीर्घायुको लागि वृहस्पतिबार, भोग प्राप्ति र सुखको लागि शुक्रबार, शनिश्चरको उपासनाले घटना दुर्घटना, अल्प मृत्यु निवारण र निरोगता प्राप्ति हुनेछ । 

सूर्य आदि ग्रहको उपासना हरेक मङ्गल कार्यमा आवश्यक छ । अशुभ कार्यको पछाडि पनि नवग्रहको उपासना जरुरी छ । गृहस्थ व्यक्तिहरूको लागि ग्रहको उपासना जरुरी छ । पूजाका अनुष्ठानका विविध प्रक्रिया र विधिहरू छन् । निर्धन व्यक्तिहरूले तपबाट उपासना गर्न सक्छन्, व्रत आदि हुन सक्छ, धनवान् व्यक्तिले वृक्षारोपण, पाटी, पाठशाला, नहर, ढल, मन्दिर, शौचालय, सडक जस्ता सार्वजनिक निर्माण कार्य गरेर धर्म लिन सक्छन् । दिनदिनै समयानुसार भगवत् प्रार्थनाले, अनुष्ठानले अन्तः करण शुद्धि हुँदै जान्छ । तन, धन र मन शुद्ध हुँदै जान्छ । विशेष दिन, पर्व वा अन्य पर्वहरूमा गरिएको धर्म कर्मले अधिक फल दिन्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise