२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

संसदमा गरम सुनिए प्रधानमन्त्री

ADV
दिवाकर अधिकारी
२०८१ साउन ८ गते ०६:४०
संसदमा गरम सुनिए प्रधानमन्त्री

काठमाडौं : चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’मा सांसदहरूका प्रश्नको सामना गरे । आइतबार दुईतिहाइ बढी बहुमत पाएका ओली सोमबार सांसदका कतिपय प्रश्नमा गरम सुनिए । 

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शून्य समयमा डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर प्रधानमन्त्रीले झुट बोलेको दाबी गरे । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको उल्लेख गर्दै उनले भनेका थिए, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने !’ 

त्यसपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरे । संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे ।

डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीको दाबी छ ।

‘विवाद टुंग्याउनुपर्छ, सरकारले पाउनुपर्ने रकम असुल गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले  भने, ‘जुन विद्युत उपभोग गरेका छन्, त्यसको तिर्नुपर्छ । जुन प्रयोग गरेका छैनन्, त्यो तिर्न पर्दैन । मैले भनेको त्यो हो ।’

९/१० वर्ष अगाडिदेखिकै विवाद भएको र बेलाबेला लाइन काट्ने र जोडिने भइरहेको भन्दै प्रधानमन्त्रीले थपे, ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, बेठिक खालका सेटिङ र विभिन्न खालका तन्त्रका पछाडि कुद्नु पनि छैन ।’

६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उनले बताए । हिजो पनि आफूले यही मत राखेको भन्दै उनले भने, ‘हिजो हुनुहुन्थ्यो भने रेकर्ड सुनेर कन्फर्म भएर कुरा गर्नु बान्छनीय हुन्छ । हामी गरिमामय संसदमा छौं ।’

‘कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक प्रकारको फोटाहरु छपाएको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन,’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध कुरा बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगरौं ।’

तर, प्रधानमन्त्रीको अभिव्यक्ति प्रश्नोत्तर कार्यक्रममा प्रस्तुत प्रश्नसँग मिलिरहको थिएन । प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गरेर कहिले सक्ने लक्ष्य छ भनेर सोधेका थिए । 

यसको जवाफ दिनुपर्ने प्रधानमन्त्री अन्यत्रै मोडिएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नियमापत्ति गरे । उनले सोधे, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’

त्यसपछि सभामुखले भने, ‘माननीय ज्यू आसनग्रहण गरौं, मैले त्यतै लान कोशिस गरिरहेको छु ।’

तर प्रधानमन्त्रीले आफू प्रश्नोत्तरमै रहेको र उठेका प्रश्नको जवाफ दिइरहेको जवाफ दिए । त्यसपछि संसदमा केही होहल्ला भयो, एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय मागे । तर सभामुखले कसैलाई समय दिएनन् ।

उनले माओवादी सांसद पुनलाई बस्न आग्रह गरे र प्रधानमन्त्रीलाई ‘विषय केन्द्रित भएर अगाडि बढ्न निर्देश’ गरे ।

तर, प्रधानमन्त्री ओलीले भने आफू विषयमा नै केन्द्रित रहेको बताए ।

‘म विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नहरुको लिखितको जवाफ दिनुपर्ने त्यो भन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो । त्यसकारण यसो नगरौं भन्ने मात्र मेरो आग्रह हो’, उनले भने । 

प्रधानमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुलाई अन्यथा लिन मिल्दैन् । तर, फरक समय, सन्दर्भमा जवाफ दिन हतारिनु र त्यसत्रममा कडा शब्द प्रयोग गर्नुले प्रधानमन्त्री ओली आफूमाथि उठ्ने प्रश्नहरूप्रति कति जिम्मेवार हुन्छन् भन्ने संकेत गरेको सांसदहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise