
अर्घाखाँची : कृषि ज्ञान केन्द्र अर्घाखाँचीले भूमिकास्थान नगरपालिकामा स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने योजना निर्माणमा एकरूपता ल्याउनका लागि स्थानीय तहका प्राविधिकहरूसँग गोष्ठी गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख उपसचिव बुद्धिराज घिमिरेले जानकारी दिए ।
गोष्ठीमा प्रमुख घिमिरेले केन्द्रको चालु आर्थिक वर्षको ४ महिनामा भएको कार्य प्रगति र आगामी आर्थिक वर्षका लागि प्राप्त मापदण्ड अनुसार तयार गरिएको कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका प्रमुख बुद्धिराज घिमिरेले स्थानीय जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी रूपमा काम गर्न सकिने बताए । उनले कृषि क्षेत्रमा लगानी भए पनि सन्तोषजनक उपलब्धि नदेखिएकोले यस विषयमा सबै स्टेकहोल्डरले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था रहेको बताए । कृषिमा भएको सामान्य उपलब्धिको जस लिने धेरै भए पनि समन्वय गरेर काम गर्ने प्रचलन कम भएकाले आगामी दिनमा विषयगत कार्यालयहरू एउटै बाटोबाट वास्तविक कृषकहरूसम्म पुग्ने अवस्था गराउनुपर्ने उपसचिव घिमिरेको भनाइ छ ।
गोष्ठीमा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुखहरूले स्थानीय स्तरमा कृषकहरूले नियमित माटो परीक्षणको कार्यक्रम, बीज वृद्धि, मौरीपालन, टनेल निर्माण, विषादी वितरण, बिउपुंज वितरण जस्ता कार्यक्रम तालुकदार कार्यालय ज्ञानकेन्द्रले व्यवस्था गर्नुपर्ने किसानमैत्री कार्यक्रम माग गरेका थिए । उनीहरूले दक्ष जनशक्ति र समय अनुसार उनीहरूको क्षमता विकासमा ध्यान दिनुपर्ने समेत बताए । यसका साथै कृषि क्षेत्रको सम्भाव्यता अध्ययन, मल उत्पादनका लागि कारखाना, प्रविधिको प्रदर्शन, ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा गर्न ज्ञान केन्द्रलाई आग्रह समेत गरेका छन् ।
जिल्लामा रहेका रैथाने बालीको संरक्षण र उत्पादनमा ध्यान दिँदै नगरपालिकाले कृषि क्रान्ति गरिरहेकाले अहिले किसानहरू हर्षित भएको नगरपालिका उपप्रमुख बालकृष्ण बञ्जाडेले बताए । उनले योजना तर्जुमा सदरमुकामको स्थानीय तहमा नगरी भूमिकास्थान नगरपालिकामा आयोजना गरेकोमा धन्यवाद दिँदै जनताको आवश्यकताका आधारमा योजना बनाउन ज्ञान केन्द्र प्रमुख र कर्मचारीलाई आग्रह समेत गरे । बजेट तथा कार्यक्रम बनाउँदा लक्ष्य, उद्देश्य र आवश्यकतालाई मध्यनजर गरी अगाडि बढेमा गन्तव्यमा पुग्न सकिने बताउँदै उपप्रमुख बञ्जाडेले उपलब्धि गर्ने योजना निश्चित नभए बजेट खर्च गर्न नहुने बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले विषयगत शाखा र स्थानीय तहका प्रमुखहरूसँग बजेट निर्माण गर्दा समन्वय गरेर काम गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका थिए । कार्यक्रममा स्थानीय तहका कृषि शाखा प्रमुखहरूले अब कृषि ज्ञानकेन्द्रसँग समन्वय गरेर काम गर्दा आफूहरूलाई सहज हुने समेत बताए । यसका साथै जिल्लामा कृषिको विकासका लागि यान्त्रिकरण, बजारीकरण, मूल्यशृंखला, कृषक र व्यापारीहरूको डिजिटल विवरण व्यवस्थापनमा ध्यान दिनुपर्नेमा प्राविधिकहरूले जोड दिएका थिए । अनुदान लिने कृषकहरूमा दोहोरोपन हटाउन अनुदान लिएका कृषकहरूको तथ्यांक डिजिटल रूपमा राख्ने, रोग किराको व्यवस्थापनमा उचित योजना बनाउँदा कृषि क्षेत्रमा नतिजामुखी काम हुने ज्ञान केन्द्रका प्रमुख घिमिरेले बताए । कार्यक्रममा भूमिकास्थान नगरपालिकाका योजना शाखा प्रमुख हरिषचन्द्र भुसाल, कृषि ज्ञानकेन्द्रका कर्मचारी शारदा आचार्यको उपस्थिति रहेको थियो ।