२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

महिला उद्यमशीलता विकासको सवाल

ADV
२०८१ साउन ९ गते ०६:३०
महिला उद्यमशीलता विकासको सवाल

–डा. दिबाकर बशिष्ठ

नाफा कमाउने उद्देश्यले महिलाद्वारा प्रवर्द्धिधत तथा व्यवस्थापन गरिएको कुनै पनि क्रियाकलापलाई महिला उद्यमशीलता भनिन्छ । महिला उद्यमशीलताको मुख्य लक्ष्य साना तथा मझौला उद्योगको विकासमार्फत देशमा गरिबी हटाउने र नारी पुरुषबिचको विभेद हटाउने देखिन्छ । नेपाल जस्तो कम आम्दानी भएका मुलुकमा महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि र महिलामा के गरौँ भन्ने भावना जगाउनको लागि महिला उद्यमशीलता जरुरी छ । जोखिम बहन गर्दै स्रोत र साधनको उच्चतम परिचालन गर्ने प्रक्रिया उद्यमशीलता हो । भनिन्छ उद्यमी सात पटक लड्छ र आठौँ पटकमा बल्ल उठ्छ । व्यवसायमा निरन्तरताको जरुरी पर्दछ एक दिन अवश्य उद्देश्यमा पुगिने छ । हाम्रो जस्तो पुरुष प्रधान देशमा संविधानमा महिलाको लागि ३३ प्रतिशत आरक्षणका कुरा उठेता पनि व्यवहारमा लागु भएको देखिँदैन । बरु महिलाले काम गर्न सक्दैनन् र उनीहरूमा योग्यता र दक्षता एवम् व्यावसायिकताको अभाव छ, जस्ता आरोप लगाई महिलालाई नेतृत्व तथा व्यावसायिक अवसर एवम् राज्यको सुविधाबाट पछाडि धकेल्ने प्रवृत्ति अहिले पनि हाबी देखिन्छ । तथापि, व्यावसायिक नेतृत्व सबलीकरणमा पछिल्ला दिनहरूमा महिलाहरू थप अब्बल बन्दै गएको देखिन्छ । 

महिलाहरूले हरेक कार्य गर्न सक्दछन् भन्ने कुरा टेम्पो चालक, विमान चालक, अन्य सवारी चालक, राष्ट्रपति, सभामुख मुख्य सचिव, प्रधानन्यायाधिश सम्मको पद वा व्यवसायमा पुगी कुशलतापूर्वक कार्य गरेकोबाट समेत पुष्टि भइसकेको कुरा सरोकारवाला सबैले बुझी तदअनुरूपको पुरुष सरह समान व्यवहार गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत सहभागी भएको एक लाख २६ हजार ऋणीहरू मध्ये ७५ हजार महिला उद्यमी मात्र रहेको र उनीहरूले मात्र ४३ अर्ब ऋण लिएको देखिन्छ । 

राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा सञ्चालित करिब नौ लाख २३ हजार ३५६ औद्योगिक व्यावसायिक प्रतिष्ठानमध्ये महिला संस्थापक भएको प्रतिष्ठानको संख्या दुई लाख ४७ हजार ८८० रहेको देखिन्छ । यस कार्यबाट करिब पाँच लाखभन्दा बढीले रोजगारी पाएको देखिन्छ । तसर्थ, महिलाको आर्थिक सबलीकरण र क्षमता वृद्धि गर्न अपेक्षित रूपमा बैंक कर्जामा पहुँच, विभिन्न सुविधा, छुट र आरक्षणको व्यवस्था एवम् विभिन्न क्षेत्र र निकायमा पदीय अवसर प्रदान गर्न ढिला भैसकेको देखिन्छ । तथापि, पछिल्ला दिनहरूमा आर्थिक गतिविधि, शिक्षा, उद्योग, व्यापारलगायतमा महिलाको कुशलता र क्षमता हेर्दा प्रशंसनीय र अब्बल देखिन्छ । 

नेपालमा महिला उद्यमीको विकासको लागि नेपाल सरकारले महिला उद्यमी विकास कोष खडा गरी विभिन्न निकायमार्फत महिला उद्यमीहरूलाई बैंकिङ्ग क्षेत्रमार्फत ऋण सुविधा र अन्य सहयोग समेत उपलब्ध गराउँदै आएको र उद्योग मन्त्रालयको सुरुवातीमा घरेलु तथा साना उद्योगमार्फत बिना धितो सहुलियतदरमा विभिन्न बैंकमार्फत महिला उद्यमीलाई ऋण सहयोग प्रदान गर्दै आएको थियो । सरकारको कार्यक्रम लागु गर्ने कर्तव्य बैंक तथा वित्तीय संस्थाको हो भने बैंक तथा वित्तीय संस्थाले समेत महिला लक्षित कर्जा कार्यक्रमलाई बृहतरूपमा अगाडि बढाउन सकेमा मात्र देशमा महिला उद्यमशीलताको विकास सम्भव रहन्छ । साहसका साथ महिला उद्यमीहरूले महिला व्यवसायको स्थापना, जोखिम र अनिश्चितताको बहन, नयाँ कुराको खोजी, नेतृत्व र निरीक्षण तथा सुपरिवेक्षण जस्ता कार्य प्रशंसनीय ढंगले कार्य गरिरहेको पाइन्छ तथापि, महिलालाई उद्यमी बन्न अझै पनि सकस पर्ने गरेको कुरा महिलाहरूले नै बताउने गरेका छन् ।

नेपालमा महिला उद्यमीहरूले धेरै समस्या भोग्नु परेको देखिन्छ, जसमा पुँजीको अभाव, कच्चा पदार्थ अभाव, शिक्षाको अभाव, पुरुषको अधिपत्य रहेको समाज, पारिवारिक असहयोग, प्रतिस्पर्धा, जोखिम व्यहोर्ने क्षमताको अभाव, प्राविधिक सीप र दक्षताको कमी देखिन्छ । यद्यपि, यी तमाम समस्याका बाबजुद महिला उद्यमशीलताको क्षेत्रमा विगत केही समयदेखि उत्साहजनक प्रगति नभएको भने होइन । महिला उद्यमीले नियमित तालिमको व्यवस्था, महिला उद्यमीबारे जनचेतना फैलाउने, महिलाद्वारा सञ्चालित उद्योग तथा व्यवसायमा विशेष सहुलियतको व्यवस्था, बजार तथा बैंक ऋणको व्यवस्थापनमा सहयोग, निजी क्षेत्र र सरकारको साझेदारी जस्ता रणनीति बनाउने र कार्यान्वयन गर्ने कार्यमा पनि महिला अग्रपंक्ति मा देखिन्छन् ।

नेपालको संघीय राज्य प्रणालीमा महिला उद्यमीको भूमिकालाई हेर्दा राज्यको राजस्व दरमा वृद्धि, रोजगारीको सिर्जना, देशको निर्यातलाई बढाउन सकिने, सामाजिक चेतनाको अभिवृद्धि, आत्मनिर्भरताको वृद्धि, निर्णय क्षमताको विकास, स्रोत साधनको उचित परिचालन, महिला परिवर्तनका संवाहक जस्ता छन् तथापि, व्यावसायिक नेतृत्व सबलीकरण अझै पनि ओझेलमा परेको देखिन्छ । यसर्थ, बैंक तथा वित्तीय संस्थाहरूले महिला उद्यमीको विकासको लागि विभिन्न कार्यक्रममार्फत वित्तीय सहयोग गरिरहेको छन् तापनि यो पर्याप्त देखिँदैन । 

बैंक तथा वित्तीय संस्थामा समेत महिलाप्रतिको विश्वासमा कमी देखिन्छ । महिलाहरूमा उद्योग धन्दाको लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन निकै कठिन भयो अर्थात् वित्तीय पहुँचमा महिलालाई सहज वातावरण भएन भन्ने गुनासो दर बढिरहेको अवस्थामा महिलाहरूलाई लक्षित कर्जा कार्यक्रमको विस्तार र विकासको लागि बैंकहरूले महिला सम्बन्धी कर्जा हेर्ने र उद्यमशीलताको विकास गर्ने हेतु छुट्टै विभागसमेत गठन गर्न ढिला भइसकेको छ । महिलाले पनि कुनै कार्य गर्न सक्दछन् र ? भन्ने मनस्थिति अहिले पनि धेरै निकायमा देखिएको पाइन्छ । 

परिवारमा विश्वास दिलाउने, गुणस्तरीय शिक्षामा महिलालाई प्रेरणा र प्रोत्साहन दिने, महिला सशक्तीकरणका विभिन्न कार्यक्रम ल्याउने, महिलालाई विभेद गर्ने नीति हटाउने, विभिन्न उद्यमशील कार्यमा महिलालाई सहुलियत र सहजीकरण गर्ने कार्यबाट मात्रै महिलाको नेतृत्व क्षमतामा विकास हुनुको साथै, उद्यमशीलताको समेत विकास हुने गर्दछ । महिला उद्यमशीलतामा बैंकिङ्ग क्षेत्रको भूमिका भएता पनि नेपाल राष्ट्र बैंकको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा लिन सहज नभएको महिला उद्यमीहरूको गुनासो छ । सरकारले कार्यक्रम त राम्रो ल्याउँछ तर, कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेको गुनासो उनीहरूको छ । महिलामा वित्तीय साक्षरताको अभावको कारण पनि यस्ता कर्जाको उपयोगमा कमी आएको हो भन्नेहरू पनि छन् ।

महिला उद्यमीलाई आर्थिक स्रोत र साधनको उपलब्धतालाई हेर्दा, सरकारी अनुदान, वित्तीय क्षेत्रबाट ऋण सहयोग, सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग, महिला उद्यमशीलता कर्जा घरेलु विभागमार्फत आयआर्जन कार्यक्रम आदि देखिन्छ । महिला उद्यमशीलता विकासमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिकालाई हेर्दा महिला उद्यमशील कर्जा, विपन्न वर्ग कर्जा र कृषि कर्जामार्फत महत्त्वपूर्ण योगदान गरिरहेको छ । महिला उद्यमशीलताको विकासको लागि महिला उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि २०६९ समेत सञ्चालनमा आएको थियो । यसको उद्देश्य लघु घरेलु तथा साना उद्योगका लागि महिला उद्यमीलाई सरल, सहज ढंगले बिना धितो कर्जा उपलब्ध गराउने जसबाट महिला उद्यमशीलताको विकास हुन्छ । कोषको स्रोत र यसको परिचालनलाई हेर्दा, नेपाल सरकारबाट प्राप्त रकम, कोषको कर्जा प्रवाहको सावाँ–ब्याज असुलीबाट प्राप्त रकम, स्वदेशी तथा विदेशी संस्था वा सरकारबाट प्राप्त रकम रहेको छ भने कोषको सञ्चालनको लागि केन्द्रित समिति र जिल्ला समितिको गठन हुने व्यवस्था रहेको छ ।

बैक तथा महिला उद्यमीबिच आपसी सुझबुझको अभाव देखिन्छ । महिला उद्यमशीलता लक्षित कार्यक्रम र कर्जाको बारेमा महिलामा उचित ज्ञानको अभाव, महिला उद्यमीलाई विश्वासमा लिन नसक्ने र कर्जासँग सम्बन्धित बैंकिङ्ग नियमको बारेमा महिलाहरूलाई बुझाउने कुरामा बैंकहरू चुक्नु र सरकारको पनि महिला उद्यमशीलता विकासमा नीति नियमभन्दा पनि कुराअनुसारको कार्यान्वयन पक्ष कमजोर भएको हुँदा महिला उद्यमशीलता छायामा परेको अनुभूति हुन्छ । साथै, सरकारको महिला मन्त्रालयले समेत समयमा नै महिला उत्थान र महिला उद्यमशीलताको विकासमा पर्याप्त ध्यान दिनुपर्दछ तब मात्र महिला उद्यमशीलताको विकास सम्भव छ भन्ने कुरामा कसैको दुई मत नहोला । 

महिला उद्यमशीलताको वृद्धिको लागि नेपाल राष्ट्र बैंक र महिला मन्त्रालयको अगुवाइमा महिला साक्षरता, महिलामा नेतृत्व विकास, कर्जाको सदुपयोगिता जस्ता विषयमा बैंक तथा वित्तीय संस्थाहरूसँग सघन रूपमा छलफल थाल्न ढिला भैसकेको छ, जसले महिलाको व्यावसायिक नेतृत्व क्षमतालाई ओझेलमा पार्दै गएको देखिन्छ । तसर्थ, महिलालाई घरको चुलो चौकोमा मात्र सीमित नराखी गरिबी, बेरोजगारी र आर्थिक पछौटेपन र व्यावसायिकलगायतका अवसरबाट अगाडि बढाउनको लागि आर्थिक सहयोग र उद्यमशीलताको विकासमा राज्य, बैंकिङ्ग र निजीलगायत सबै क्षेत्रले सहयोग गर्नुपर्दछ भन्नुमा अत्युक्ति नहोला । 

(लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी जानकार हुन् ।) 

ADVADV

सम्बन्धित खबर

Advertise