
काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८१/२०८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५ सय २६ जना अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् ।