
रुकुमपूर्व : सरकारको प्राथमिकता पर्नुपर्ने राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र सहिदमार्गको रुकुमपूर्व खण्ड लामो समयदेखि अलपत्र परेको छ ।
निर्माण व्यवसायीको ढिलासुस्ती र बेवास्ताका कारण सडक निर्माण तथा मर्मत सम्भार कार्य अघि बढ्न नसकेको हो । मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्डमा भूमे–१ लुगुमदेखि सिस्ने–६ रानीकोटसम्म ५५ किलोमिटरमा फैलिएको छ । त्यसमध्ये ३५ किलोमिटरमा कालोपत्रे भए पनि बाँकी खण्ड अधुरै छ ।
पञ्चासे–यिरतेता १३ किलोमिटर खण्डको ठेक्का २०७२/०७३ मा सिद्धिशाही प्रकाश र भारत खिन्टी महादेव कन्स्ट्रक्सन जेभीले पाएको थियो । तर नौ वर्ष बितिसक्दा पनि कालोपत्रे काम पूरा भएको छैन । त्यस्तै, कालिका प्यासिफिक जेभीले काम गरिरहेको रानीकोट–खोपीचारको ७ किलोमिटर खण्डमा पनि काम अघि बढेको छैन ।
कालोपत्रे पनि बिग्रँदै
कालोपत्रे भइसकेको ३५ किलोमिटर खण्ड पनि जीर्ण बन्दै गएको छ । पानीको निकास नहुँदा सडकमा भल पस्ने गरेको र कतिपय ठाउँमा सडक हिलाम्ये बनेर सवारी चल्नै नसक्ने अवस्था आएको स्थानीयको गुनासो छ । त्यसै त गुणस्तरहीन सडक, त्यसमाथि नियमित मर्मत सम्भार नहुँदा छोटो समयमै सडक खाल्डाखुल्डीमा परिणत भएको स्थानीयहरु बताउँछन् । यसअघि, भूमे गाउँपालिका वडा नं. ३ र ४ को सिमामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाउँपालिकाको पहलमा सञ्चालनमा ल्याइएको थियो ।
सम्पर्कमै आउँदैनन् ठेकेदार
भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ निर्माण कम्पनी फिल्डमै नहुँदा सडक खुलेर सवारी सञ्चालनमा ल्याउन समस्या भएको बताउँछन् । उनले भने, ‘ठेकेदारले सडक स्तरोन्नति नगर्दा नागरिकलाई आउजाउमा सास्ती छ । सडक अवरुद्ध हुँदा हामीले नै मर्मत गर्नुपर्छ ।’
श्रेष्ठका अनुसार, गाउँपालिकाले हरेक वर्ष मर्मतमा ४० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गर्नुपर्छ । ‘गाउँपालिकाको आफ्नै योजनामा बजेट अभाव हुन्छ,’ उनले भने । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी पनि गाउँपालिकाले मर्मतमा हरेक वर्ष १५ देखि २० लाख रुपैयाँ खर्च गर्नुपरेको बताउँछन् । ‘संघ र प्रदेश सरकारको गैरजिम्मेवारीकै कारण गाउँपालिकाले सास्ती खेप्नुपरेको छ,’ रेग्मीले भने ।
महालेखाले बेरुजु देखाउँछ
पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिक पनि सहिदमार्ग मर्मतमा पनि हरेक वर्ष ३० देखि ४० लाख रुपैयाँ खर्च हुने गरेको बताउँछन् । ‘नागरिकका लागि सडक खोल्छौं, तर पछि महालेखापरीक्षकले त्यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन भनी बेरुजु निकालिदिन्छ,’ उनले दुखेसो पोखे । बिकका अनुसार, संघ र प्रदेश सरकारले आफ्ना आयोजनामा समयमै ध्यान नदिँदा गाउँपालिकाले दुबैतर्फबाट मार खेप्नुपरेको छ ।
मध्यपहाडी लोकमार्ग र सहिदमार्ग योजना कार्यालयले पनि ठेकेदारले समयमै काम नगरेको स्वीकार गरेको छ । पटक–पटक निर्देशन दिँदा पनि ठेकेदार कम्पनीहरूले फिल्डमा काम अघि नबढाएको दाबी सो कार्यालयको छ । आयोजना कार्यालय दैलेखमा रहेको छ तर रुकुमपूर्व खण्डको काममा कुनै प्रत्यक्ष अनुगमन भने हुँदैन । ‘कार्यालयका जिम्मेवार अधिकृतहरूसँग सम्पर्क गर्न खोज्दा फोनसमेत उठ्दैन’, भूमेका अध्यक्ष होमप्रकाश श्रेष्ठले भने ।
ठेकेदार कम्पनी र आयोजनाको गैरजिम्मेवारीपनले सडक अलपत्र परेको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएका सडक खण्ड हिलाम्य र खाल्डाखुल्डीमा परिणत हुँदा सरकारको लगानी खेर गइरहेको छ भने नागरिकले सास्ती ब्यहोर्नुपरेको छ ।