२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

बेमौसमी वर्षाको असर : धान उत्पादन घट्ने, धानचामल आयात बढ्ने

shivam cement
२०८२ कार्तिक २७ गते ०६:२५
Shares
बेमौसमी वर्षाको असर : धान उत्पादन घट्ने, धानचामल आयात बढ्ने

काठमाडौं : यसपालि धानको उत्पादन घट्ने भएको छ । रोपाइँ गर्नेबेला पानी नपर्दा र काट्ने बेलामा बेमौसमी वर्षा हुँदा धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । 

रोपाइँका बेला वर्षा नहुुँदा यस वर्ष धान खेती क्षेत्र घटेको थियो भने धान काट्न ठिक्क परेको बेला परेको वर्षाले झन् धेरै क्षति ग¥यो । बेमौसमी वर्षा, बाढी पहिरो र डुबानलगायत कारण धान उत्पादनमा ५ प्रतिशतभन्दा धेरैले कमी आउने कृषि मन्त्रालयको प्रारम्भिक प्रक्षेपण छ । धान रोपाइँका बेलामा तराई क्षेत्र र विषेशगरी मधेश प्रदेशमा पानी नपर्दा किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण मधेश प्रदेशमा रोपाइँसमेत कम भएको थियो । 

धान उत्पादन बढी हुने तराईका जिल्लामा बेमौसमी वर्षा र डुबानले उत्पादनमै असर पारेको हो । वर्षाका कारण देशभर कृषि क्षेत्रमा साढे ३ अर्बभन्दा बढीको क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको तथ्यांकका आधारमा धान उत्पादन घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले बताए । उनले भने, ‘समयमै वर्षा नहुँदा र धान काट्नेबेला आएको बेमौसमी वर्षाले यस वर्षमा धान खेतीमा असर गरेको छ । प्रदेशबाट क्षतिको तथ्यांक अझै आउन बाँकी छ । क्षतिको अनुमान हेर्दा गत वर्षभन्दा धान उत्पादनमा घटेको देखिएको छ ।’ 

उनका अनुसार गत वर्ष वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकभर गत वर्ष १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यो वर्ष गत वर्षको तुलनामा धान रोपाइँमा समेत क्षेत्रसमेत घटेको छ । सोही कारण गत वर्ष बढेको धान उत्पादन यस वर्ष खडेरी र बेमौसमी वर्षाले घट्ने देखिएको हो । 

जलवायु परिवर्तनको प्रभावले अतिवृष्टि र अनावृष्टिका कारण कृषि क्षेत्रमा त्यसको असर बढ्दो छ । पछिल्ला वर्षमा धान उत्पादन बढ्दै जाँदा यस वर्षसमेत धान उत्पादन बढ्ने अनुमान गरिएकामा पछिल्लो वर्षाले उत्पादन भएको धानमा नै असर गरेको हो । 

धानको उत्पादनमा ह्रास आउनासाथ धानचामल आयात बढ्ने अनुमान गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँबराबरको ५ लाख ३३ हजार ७ सय १५ मेट्रिक टन धान आयात गरिएको थियो । यस्तै, १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँबराबरको २ लाख ४१ हजार ५ सय ५३ मेट्रिक टन चामल आयात भएको थियो । 

ADV

सम्बन्धित खबर