२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पोर्चुगल पुगेर काम खोज्न पाउने भिसा बन्द, अन्य खुलै

ठगीबाट बच्न नेपाली दूतावासको आग्रह

Nada
भरत प्रधान
२०८२ कार्तिक २८ गते ०६:२०
Shares
पोर्चुगल पुगेर काम खोज्न पाउने भिसा बन्द, अन्य खुलै

लिस्बन : पोर्चुगलले विदेशी कामदार भिसा सम्बन्धमा केही परिवर्तन गरेको छ । उक्त मुलुकमा केही समयअघि गठन भएको नयाँ सरकारले आप्रवासी कामदार नियमनमा परिवर्तन गरेको हो । 

ncell

गत अक्टोबर २२ मा सार्वजनिक भएको कानुनअनुसार त्यसअघि विदेशीलाई दिइने गरिएको जागिर खोज्ने भिसा बन्द गरिएको छ । तर दक्ष कामदारका लागि प्रदान गरिने बि–१ भिसामा परिवर्तन गरिएको छैन । अक्टोबर २३ देखि पोर्चुगिज कन्सुलर कार्यालयहरू र बाह्य सेवा प्रदायक भनिने भिएफएस ग्लोबल, बिएलएस इन्टरनेसनललगायतका भिसा आवेदन केन्द्रहरूले अब जागिर खोज्ने भिसा आवेदनहरू स्वीकार नगर्ने बताएका छन् । अक्टोबर २३ देखि जागिर खोज्ने भिसाका लागि सबै एप्वइन्टमेन्ट (अन्तर्वार्ता) रद्द गरिएका छन् ।

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा पहिलेजस्तो रोजगारी खोज्ने भिसा उपलब्ध गराउने भन्दै कामदार भिसाका नाममा हुन सक्ने ठगीबाट बच्न आग्रह गरेको छ ।

दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गतेदेखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेकाले पोर्चुगल गएर पहिलेजस्तै काम खोज्न पाउने कामदार भिसाका नाममा हुने ठगीबाट बच्न र प्रलोभनमा नपर्न आग्रह गरेको हो । 

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगी गर्ने प्रयास भइरहेको उल्लेख गर्दै दूतावासले यस्ता गैरकानुनी गतिविधिमा नलाग्न र नगर्न चेतावनी दिएको छ । साथै, कसैको बहकाउ र प्रलोभनमा नपर्न आग्रह गर्दै दूतावासले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

पोर्चुगल पुगेर रोजगारी खोज्न पाउने कामदार भिसा बन्द गरिसकेको अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि आउन नपाउने स्पष्ट पार्दै दूतावासले पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट बच्न सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालबाट छनोट भई संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत बि–१ भिसामा जान पाउने व्यवस्थामा कुनै परिवर्तन नभएको बताइएको छ ।

सम्बन्धित खबर