
कपिलवस्तु : कपिलवस्तुको तौलिहवामा मुस्लिम अगुवाहरूले प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति आपत्तिजनक र समुदायविरोधी भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति महिला हिंसाविरुद्धको १६ दिने अभियानकै दिन आएकोले यसको संवेदनशीलता अझै गम्भीर बनेको बताएका छन् । उनीहरूले उक्त टिप्पणीले मुस्लिम महिलाको पहिचान, सामाजिक प्रतिष्ठा र धार्मिक मर्यादामा प्रत्यक्ष आघात पुर्याएको बताएका छन् ।
कांग्रेस नेता अतहर कमालले प्रधानमन्त्रीको ‘अविवेकी शब्दचयन’ ले सम्पूर्ण मुस्लिम समुदायलाई गलत रूपमा चित्रित गरेको आरोप लगाए । उनले यस्तो अभिव्यक्तिले राष्ट्रको सहअस्तित्व, सहिष्णुता र बहुलवादको मूल्य कमजोर हुने खतरा रहेको बताए ।
मुस्लिम अगुवा रउफ अहमद खा र हजरत अलीले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको उल्लेख गर्दै तुरुन्त सच्याएर सार्वजनिक रूपमा माफी माग्न आग्रह गरे ।
प्रदर्शनपछि अगुवाहरूले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत राष्ट्रपतिलाई विरोधपत्र बुझाउँदै सरकारका उच्च पदाधिकारीले संवेदनशील समुदायप्रति दिइने प्रत्येक अभिव्यक्ति अत्यन्त जिम्मेवार, सन्तुलित र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।