– प्रमोद भट्टराई ‘प्रतिक’, भक्तपुर
आँखा खुल्ने बित्तिकै
बेडस्वीच तिर लम्किएका हातले
खिटिक्क पारेपछि छरिएको उज्यालोमा,
सबै भन्दा पहिले आँखा जुध्दछ
सामुन्ने ढोका माथिको भित्ते घडीमा
चार बजेर दश मिनेट बितेको समयले
मनलाई आश्वस्त पार्छ
सुत्, अझै बिस मिनट सुत्दा हुन्छ !
आँखा झिमिक्क गरिसक्दा
आखिर त्यो बिस मिनट बितिसक्छ
अनि द्वन्द्व सुरु हुन्छ
घडी र सिरक बिचमा
घडीको टिक टिक आवाजले नै
उठ् उठ् भनेको आभास गराउँछ
सिरकले शरीरलाई अँठ्याइरहन्छ
अझै एकछिन... सुत् सुत् भन्छ ।
शनिबार बाहेक,
बिचमा कुनै सार्वजनिक बिदा नपर्दा
हप्ताको छ दिन लगातार चल्ने
घडी र सिरकको घम्साघम्सीमा
अनाहकमा चेपुवामा परेको हुन्छु आफू
कसको पक्ष लिउँ
कसलाई विपक्षी बनाउँ
एउटाले मायाँ दर्शाउँछ
अर्कोले जिम्मेवारी प्रति झक्झक्याउँछ
आफ्नो स्थानमा दुवै दुरुस्त लाग्छन् ।
त्यसैले दुवैको कुरा मनन गर्दै
जीवनलाई सन्तुलित बनाउने क्रम
चल्दैछ चलिरहने छ....!
किनभने,
मलाई राम्रोसँग थाहा छ
जबसम्म आफू रहन्छु
यो द्वन्द्व यसैगरी चलिरहने हो
तर पनि ढुक्क छु,
एउटा दिन त पक्कै पनि आउनेछ
न सिरकले अँठ्याएर राख्छ
न घडीले उठ्न दवाव दिन्छ
दुईटैको समस्याको जड भनेको
आखिर आफू नै पो रहेछु !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies