२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चार वर्षमा पारित भयो सुरक्षण मुद्रणसम्बन्धी विधेयक

Nada
२०८१ जेठ २४ गते २१:३९
Shares
चार वर्षमा पारित भयो सुरक्षण मुद्रणसम्बन्धी विधेयक

काठमाडौं : प्रतिनिधि सभाले बिहीबार सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । २०७७ असार २४ गते राष्ट्रिय सभामा दर्ता भएको सो विधेयक चार वर्ष लगाएर संसद्बाट बिहीबार पास भएको हो । देशभित्रै सुरक्षण मुद्रण सामग्रीको सुरक्षित, भरपर्दो र गुणस्तरीय छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र स्थापना तथा सञ्चालनका लागि सो विधेयक निर्माण गरिएको थियो ।

ncell

पारित विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनी दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ । सुरक्षण मुद्रण केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा रहने र सुरक्षण मुद्रण केन्द्र स्थापना गरिने प्रावधान विधेयकमा छ । विधेयकअनुसार सो केन्द्रलाई सञ्चालन गर्न सञ्चार मन्त्रालयको सचिवको नेतृत्वमा अर्थ, गृह, परराष्ट्र मन्त्रालयका सहसचिवहरुसहितको एक सञ्चालक समिति हुनेछ ।

विधेयकमा भएको व्यवस्थाअनुसार स्थापना हुने केन्द्रले सुरक्षण मुद्रण सामग्रीको प्रबन्ध तथा तयारी गर्ने र सुरक्षण मुद्रण सामग्री मुद्रण गर्ने, केन्द्रको छापाखाना, उत्पादनस्थल वा तयार भएका सुरक्षण मुद्रण सामग्रीको विश्वसनीय र भरपर्दो सुरक्षाको व्यवस्था गर्ने, सुरक्षण मुद्रण सम्बन्धी सेवा प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्रमा भाग लिने लगायतका काम र अधिकार तोकिएको छ ।

विधेयकको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याएको बताइन् । साथै उनले सो मुद्रण स्थापना गरेपछि मुद्रण सुरक्षा कायम हुने र मुद्रणमा विदेशी मुद्रा बाहिरिने समस्या पनि समाधान हुने बताइन् ।

तर, सो विधेयक कहिलेबाट कार्यान्वयनमा आउँछ भन्नेमा भने कुनै टुंगो देखिएको छैन । बिहीबार संसदमा विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै सांसद प्रेम सुवालले विधेयक कहिलेदेखि कार्यान्वयनमा आउने भन्ने विषयपनि उल्लेख गर्न आवश्यक भएको धारणा राखेका थिए । सञ्चारमन्त्री शर्माले पनि सांसदहरुको प्रश्नको जवाफ दिँदै सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्री कहिलेदेखि देशभित्रै छपाइ शुरु हुन्छ भन्ने बारेमा जवाफ दिन सक्ने अवस्था नरहेको बताइन् ।

ताजा खबर

सम्बन्धित खबर