
पोर्चुगल लिस्बन : पोर्चुगलको मदेइरा आइल्यान्डमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
लिस्बनस्थित नेपाली दूतावासको टोलीले यही डिसेम्बर ६ र ७ तारिख शनिबार र आइतबार मदेइरा आइल्यान्डको फुन्चालमा सो शिविर सञ्चालन गर्ने भएको छ । दूतावासका अनुसार शिविरमा राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिनेछ ।
टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद ६ महिनाभन्दा कम रहेकाहरूको विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि जैविक विवरणसहितको आवेदन संकलन गर्ने दूतावासले जनाएको छ । राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट)लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज सेवा उपलब्ध गराउने योजनाअनुरूप मदेइरामा घुम्ती शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए ।
‘मदेइरा आइल्यान्डबाट दूतावास धाउन टाढा भएकै कारण सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागेका हौं,’ राजदूत पौडेलले भने, ‘हामीले सो क्षेत्रका नेपालीको सहजताका लागि दूतावासको बिदाको दिन सदुपयोग गरेर शिविर सञ्चालन गर्न लागेका हौं ।’ शिविरबाट त्यहाँ रहेका धेरै नेपाली लाभान्वित हुने अपेक्षा गरिएको उनले बताए ।
घुम्ती शिविर सञ्चालन हुने भएपछि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सो क्षेत्रका नेपालीलाई राहत मिल्ने भएको छ । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेको थियोे ।