२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कथा : माया र जीवन

ADV
२०८१ साउन १२ गते ०६:४०
कथा : माया र जीवन

–अनिल नेपाली

हिउँद लागेपछि तलकोटबासीहरू पैसा र अन्नको जोहो गर्न बिहानीपख खोरबाट निस्केका कुखुराजस्तै टाढा–टाढा पुग्छन् । कोही भारत झर्छन्, कोही पोखरा र काठमाडौँसम्म आउँछन् त कोही कहिल्यै गाउँ नफर्किने गरी टाढा पुग्छन् । हिउँदमा तलकोट गाउँ धौलागिरीझै चम्किन्छ तर, त्यही बस्ने पवित्राको जिन्दगीमाथि भने सधैँ दुःखका बादल बढारी रह्यो । धन्न यस पटक ऊ याल्वाङ, सार्पुनाथ, र सर्केगाउँको उत्तरी सिमानातिर यार्सागुम्बा टिप्न चाहार्नु परेन । किनकि, उसैको घर मुनिको सल्लेरी वनमा पारी बुङ्गल र थलारा गाउँ जाने बाटो बन्दै छ । पवित्रा र उसको लोग्ने हिजोआज त्यही काम गर्छन् । 

रातभरि पिएर भाले बास्ने बेला ओछ्यानमा ढलेको लोग्नेलाई उठाएर काममा लिएर हिँड्नु स्वास्नी मान्छेको निम्ति थाप्लोमा कति ठुलो बोझ बोक्नु हो । लोग्नेलाई दिनहुँ पिएर हिँड्ने बानी परेको छ । यसैपनि हिजोआज नुनेले स्वास्नीलाई देखि सक्दैन । बोल्नुपरे झर्किन्छ, फर्किन्छ, तर्किन्छ । र पनि बिहानै घरमा चुकुल ठोकेर पवित्रा लोग्नेसँगै सडक खन्न सल्लेरी झरी । हातमा उम्लेको गुन्द्रुक र तातो भातको पोको छ । तर, त्योभन्दा अनेक व्यथाका तातो पोको उसले छातीमा बोकेर हिँडेकी छे । ऊ रूपकी रानी छे । मानौँ ऊ चन्द्रमाबाट फुटेकी टुक्रा हो । उ स्वर्गका अप्सराहरूबाट छुट्टिएर ईन्द्रलोकतर्फ जान बाटो भुलेकी अलपत्र परी हो । हायः तर, वर्षौँदेखि मरुभूमिजस्तो बाँझो कोखले उसको सुन्दरतामा कालो मोसो दलेझै भएको छ । स्त्रीका बत्तीस गुणलाई एउटै दोसले छायामा पार्दछ । उसको बाँझो कोख लोग्नेको सच्चा प्रेमको निम्ति तगारो बनेको छ । किनकि, स्वास्नीको पवित्र प्रेम र सुन्दरता मात्रै लोग्नेलाई अनन्तसम्म आफ्नो बनाइराख्ने पूर्ण प्रेमको प्रतीक बन्न सक्दैन । 

उसले धोती र चोलो लाएर सडक खन्न पहाड फोर्दा दक्षिणबाट आएका ज्यामी ठिटाहरू भुतुक्क भएर मूलको पानीमा मुख चोपिरहन बानी परे । एउटा फोहोरी ठिटो ज्यामीले उसको लोग्नेलाई घनले हानेर मारेर पवित्राको सिउँदोमा सिन्दूर पोखिदिने गोप्य योजना बनायो र कसैलाई नभन्ने सर्तमा आफ्ना दौतरी ज्यामीसँग सहयोग माग्दै एक महिनाको कमाई दुई हप्ता अघिदेखि रक्सी र मासुमा खर्च गर्‍यो । एक दिन त्यो फोहोरी ठिटो ढिलो काममा आयो । ऊ सिन्दूर चोर्न गाउँ छिरेको रहेछ । ठिटोले सुरुवालमा सिन्दुरको पोको लुकाएर राख्यो र इमानदार भएर नुनेकै छेउमा घन समाएर ढुंगा फोर्न लाग्यो । ठिटोले एक पटक पवित्राको मुहारमा हेर्‍यो र नुनेलाई हेरेर दाह्रा किट्यो । उसले जोडजोडसँग ढुंगामा घन बजार्‍यो । ठिटोले आफूलाई सम्हाल्न सकेन । घन ढुङ्गाबाट उच्छिट्टीएर नुनेको टाउकोमा बजारियो । नुने भुइमा ढल्यो । पवित्रा चिच्याउँदै आई र फरर फरिया फुकाई धरर च्यातेर रुँदै लोग्नेको फुटेको टाउकोलाई बाँधी । ठिटो पवित्राको सिउँदोमा सिन्दूर पोखिदिन झम्टियो । अरु ज्यामीले उसलाई समातेर पछारे । रक्सी र चुरोटले मक्किँदै गएको ठिटोको शरीर हल्लिन सकेन । उसले धुलोमा मुख घसार्दै पवित्रालाई हेरेर आँखाबाट बलिन्द्र आँसु खसाल्यो र धोद्रे स्वरमा भन्यो– ‘पवित्रा, मैं तुमसे बहुत प्यार करता हुुँ, तुम्हारे बिना इस दुनियाँ मैं नहीं रह सकता हुँ ।’ यति भनेर उसले त्यही प्राण ओकल्यो । 

तत्काल नुनेलाई उपचार गर्न सहर लानुपर्ने भयो । पवित्राले एउटा पोथी कुखुरा र कानका मुन्द्रा छिमेकीलाई तुरुन्त बेचेर पैसा लिइ । भैँसीको पाडो फुकाएर वनतिर धपाई र लोग्नेलाई लिएर सहर हिँडी । 

पवित्राले कहिल्यै काठमाडौँ सहर गएकी थिइन । कसैले भव्य र विशाल सहर काठमाडौँ भनेको मात्र सुनेकी थिइ । एम्बुलेन्स ड्राइभरको सहयोगमा लोग्नेलाई काठमाडौँ पुर्‍याई र अस्पताल भर्ना गरी । नुनेको उपचार सुरु भयो । तुरुन्त बिरामी खातामा एक पृष्ठ औषधी लेखियो र किनेर ल्याउन भनियो । पैतालामा काउकुती लागेजस्तो हिँडाइले पवित्रा तुरुन्त नजिकैको फार्मेसी पुगि । एकजना सुन्दर युवक फार्मेसीमा औषधी मिलाउन व्यस्त थिए । पवित्राले युवकलाई खाता दिँदै हताशको स्वरमा औषधी मागी । त्यति सुन्दर आइमाई हतास र वेचैन देखेर युवकले मृदु भावमा सोधे, “तपाई पहिलो पटक सहर आउनुभएको हो ? अझ ठुलै बज्रपातले लखेटे झैँ तपाई यो सहरका साँघुरा पर्खाल र सडक नै छोप्ने ज्यानमारा घरहरूसँग ठोक्किन लागे झैँ अनौठो पारामा हिँड्नुहुँदै छ । मलाई त यस्तो लाग्छ, तपाई भिर पहरासँग ठोक्किएर रगत पसिना बगाउन त बानी नै पर्नुभएको छ । स–सानो पिर–चिन्ताको भुमरीले मानिसका पाइलाहरू सजिलै लुला बन्दैनन् । बैंसले सुन्दर देखिनुपर्ने बेलामा व्यथाले कुरूप बनाउन लागेको यति राम्रो शरीरभित्र के छ फिक्री ? मलाई भन्नुहुन्छ भने जति हतार भए पनि कान थापेर सुनौला ।” ओहो ! त्यो बिरानो सहरमा उसले कसैलाई चिनेकी छैन । तर, त्यो सुन्दर युवक धेरै पुरानो चिनारी भए झैँ बोलिरहेको छ । पवित्राले प्रेमपूर्वक भनी, “मेरो सबै बज्रपात कसैलाई मन खोलेर भनेमात्र म बाचुँला । म तपाईँलाई भन्नेछु । म फेरी आउँछु तर, अहिले म जान्छु ।”

यति भनेर ऊ एक पोको औषधि लिएर तुरुन्त फर्की । लोग्नेलाई कुर्दै गर्दा उसले सम्झी, “तपाईँको व्यथा भन्न मिल्छ भने कान थापेर सुनौला ।” बिरानो सहरमा एउटा सुन्दर युवकले देखाएको सद्भावबाट ऊ प्रभावित भई । उसले मनमनै सोची, सहरले सुन्दर र असल मान्छे लखेट्छ वा सहरको भिडले निल्छ भन्ने सुनेको थिएँ । तर, सुनेका कुरा गलत पनि हुन्छन् भन्ने कुरामा उसले फेरी चित्त बुझाई र कल्पनामा डुब्दै सोची, त्यो सुन्दर युवक को होला ? पवित्रा नियमित औषधि किन्न त्यहीँ जान थाली । उसले मन खोलेर सबै कुरा डा. पल्लवसँग भनी । पल्लव र पवित्रा असल साथी भए । अब पवित्रालाई बिरानो सहर रमाइलो लाग्न थाल्यो । सहरको भिडका एक–एक मानिसहरू चिनेजस्तो लाग्यो । ज्यानमारा घरहरूको काखमा बालापन बितेजस्तो रमाइलो लाग्न थाल्यो । लोग्नेलाई बिरामी बेडमा सधैँ एक्लै कुरेर बस्नुपर्दा ऊ दिक्क मानेर भन्थी, “एकछिन म घुमेर आउँछु ।” 

ऊ डा. पल्लवलाई भेट्न जान्थी । दुवैजना सहर घुमे, मिठा खानेकुरा खाए, चिडियाघर, भाटभटेनी, धरहरा र पशुपति सँगै घुमे । यो कुरा अस्पतालको बेडमा ढलिरहेको नुनेको कानमा पुगिहाल्यो । उपचारमा खटिने डाक्टरहरूको छातीमा टाउको राखेर नुने केटाकेटी झैँ क्वाँ–क्वाँ रुन थाल्यो । डाक्टरहरू पनि नुनेसँगै रोए । नुनेले गीत गायो ।

आज माया पर–पर बन्छे

मायाले पेट भरिँदैन भन्छे 

माली गाईलाई वनमा घाँस छैन 

मलाई रुवाउने मायाले, मलाई हँसाउला भन्ने त

कति नि आस छैन । 

नुने निको भयो । नुने र पवित्रा गाउँ फर्किने तयारीमा जुटे । उता पवित्रा र पल्लवलाई छुट्टिन गाह्रो भयो । बसपार्कमा गाडीको पछाडिपट्टि लुकेर दुवै जना सँगै रोए । पल्लवले भने, “म पर्खेर बस्छु ।” पवित्राले भनी, “म फर्केर आउँछु ।” अनि दुवै एक–अर्काका आँसु पुछिदिएर रुँदै छुट्टिए । 

गाउँ फर्केपछि पवित्रा पल्लवको सम्झनामा पागल हुँदै गई । ऊ झस्किने, तर्सिने, नखाने, नसुन्ने, नसुत्ने, हातमा काम नलिने, कपाल नर्कोर्ने, मध्यान्हमा मुख धुने, रुनुपर्दा हाँस्ने, हाँस्नुपर्दा रुने भइ । शहर छेकिने क्षितिजतिर हेरेर टोलाइरहने भई । दिनदिन ऊ थला पर्दै गई । उता नुनेले स्वास्नीसँग बदला लिएरै छोड्ने योजना बनायो । अस्पतालमा जीवन–मृत्युसँग लडिरहँदा बारम्बार एक्लै छोडेर पल्लवसँग घुम्न गएको ईखले नुने स्वास्नीप्रति क्रुर र निर्दयी हुँदै गयो । नुने पल्लो गाउँकी मिश्रीलाई घर भित्र्याउन पागल भएर लाग्यो । ऊ एक वर्ष अघिदेखि मिश्रीको पछि लागेको थियो । नुनेले मनमनै सोच्यो– अब पवित्रा मर्छे, अवश्य मर्छे । शोक नभएको मानिस चित्ताबाट पनि उठ्न सक्छ । तर, चित्तामा सजिलै पुग्नेहरू अधिकांश शोक हुनेहरू हुन्छन् । अब पवित्रा बाँच्दिन । उसको मरेको शरीर यस घरबाट निकाल्नुपर्‍यो भने मैले कति ठुलो झन्झट व्यहोर्नुपर्छ ? सनातन हिन्दु धर्ममा मानिसको अन्त्य पद्धति कति कष्टकर छ । यो पञ्च भौतिक शरीरको आत्मा अजर अमर भएकाले मृत्युपश्चात् आत्मा प्रेतको रुप लिई जान्छ र प्रेतत्व विमुक्तिको लागि गर्नुपर्ने कृतकर्म कति खर्चिलो हुन्छ ? प्रेम बदल्ने पापीनीको निम्ति यत्रो पुण्य गर्न सक्दिनँ म । बरु त्यसको मृत्युको कर्मकाण्डीमा लाग्ने खर्च मेरी मिश्रीलाई श्रृङ्गारेर भित्र्याउन खर्च गर्छु । त्यसको महत्त्वहीन शरीरमा पाप बनेर अड्केको प्राणलाई ज्युँदै तल्कोटीगाड र उरइ भन्ज्याङ कटाउनुपर्छ । फटाफट यति सोचेर ऊ मिश्रीलाई भेट्न हल्लिँदै पल्लो गाउँतिर हिँड्यो । 

अब स–साना कुरामा नुने र पवित्राको झगडाले त्यस घरमा अशान्ती हुँदै गयो । कपाल नकोर्दा, बेलैमा खाना नपाक्दा, कुरा नबुझ्दा हड्डी भएर सुकेको पवित्राको सिन्के शरीरमा नुनेले बुट बजाथ्र्यो । नुने भने मिश्रीसँग वनमा, भिरमा, घरमा, पँधेरो, चौतारी, जताततै भेटिन थाल्यो । यतिसम्म नुनेले मिश्रीलाई ऐँचोपैँचो मेलापर्वको बहानामा स–साना घरयासी काममा बोलाउँथ्यो र पवित्राकै सामु जवर्जस्ती मिश्रीको हात समातेर दशौंपटक चुप्पा खान्थ्यो । लोग्नेको असह्य हर्कतको विरोध गर्दा भकभक उम्लेको तातो पानीमा डुबाएर मार्छु भन्दै रातको बाह्र बजे ठुलो डेक्चीमा पानी उमाल्थ्यो वा तँलाई मारेर गाड्छु भन्दै खाल्डो खन्न खन्ती र बेल्चा बोकेर मध्यरात खर बारीमा पुग्थ्यो । तेल हानेको खुकुरी बिजुलीमा स्वास्नीको घाँटीमाथि नचाउनु त नुनेको निम्ति सामान्य भइसकेको थियो । स्वास्नी मान्छेको निम्ति विशाल बज्रपात उसको लोग्नेको सम्बन्ध परस्त्रीसँग अश्लील भएर गाँसिनु हो । यसको विरोध गर्ने तागत पवित्रामा कति पनि रहेन । 

नुने र पवित्रा सँगै बस्न नसक्ने भए । पवित्राले लोग्ने मात्र होइन, त्यो घर र गाउँ नै सधैँको लागि छोड्ने निधो गरी र नुनेले मिश्रीलाई घर भित्र्याएकै दिन ऊ कहिल्यै गाउँ नफर्किने गरी घरबाट निस्की । 

पवित्रा सरासर आफ्नो माइती गाउँ दैलीचौर गइ । उसका बाबुआमा बितिसकेका थिए । कान्छी बहिनी हत्केलीले पोहोर साल भातेखोलाको ठेकेदारसँग भागेर बिहे गरिछ । कान्छो भाइ पाँच महिनाअघि घरमा चुकुल ठोकेर गाउँबाट हराएछ । गाउँमा कोही भेटिएनन् । पवित्रालाई पहाडहरू खिच्दै आकाश खसेजस्तो लाग्यो । चोक्टा चोक्टा बनेर पाताल भासिएझैँ लाग्यो । ऊ मानिसहरू नभएको शून्य माइती गाउँमा हावामा हात फालेर चिच्याउँदै रुन लागि । रोएर थाकेपछि ऊ पल्लवसँग बिहे गरी घरजम गर्ने झिनो सपना बोकेर दुर्गा थलीबाट काठमाडौँको रात्रि बस चढी । 

उता पवित्रा गाउँबाट छिट्टै फर्केर आउँछु भनेर नआएको विरहमा पल्लवले कहिल्यै देश नफर्किने गरी विदेश जाने निर्णय गर्‍यो । उसले कौडीको भाउमा फार्मेसी बेच्यो र सधैँको लागि पश्चिमतिर उड्यो । पवित्रा बसबाट काठमाडौँ झरी र तुरुन्त पल्लवलाई भेट्न फार्मेसी पुगी । एक घण्टा अघि मात्र पल्लव विमानस्थल पुगेको थाहा पाई र पवित्रा हुरीको धुलो भएर विमानस्थल पुगी । तर, पल्लवसँग तीन पाइला बराबरले भेट भएन । पवित्रा त्यहीँ मुर्छा परेर ढली । होसमा आउँदा ऊ नजिकैको देवालयमा भक्तजनसँग हाँसेर जीवन बिताइरहेकी हुन्छे । हिजो आज ऊ रुवाउने मायाबाट मुक्त भएर ईश्वरको मायाले हाँस्न सिकेकी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise