२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अब सबैतिर माओवादी प्रतिपक्ष

ADV
दिवाकर अधिकारी
२०८१ साउन १२ गते ०६:५०
अब सबैतिर माओवादी प्रतिपक्ष

काठमाडौं : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । गत २१ फागुनमा सत्ता समीकरण फेरिएपछि कोशीमा पनि माओवादी केन्द्रका नेताहरु सरकारमा गएका थिए । 

तर फेरि अर्को समीकरण बनेपछि उनीहरुले राजीनामा बुझाएका हुन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की वन बातावरण तथा पर्यटन, राजेन्द्र कार्की स्वास्थ्य र बन्दना झाँगर पर्यटन राज्यमन्त्री थिइन् । उनीहरु गत २७ वैशाखमा मात्र सरकारमा गएका थिए । 

यसअघि पनि माओवादी नेताहरु सरकारमा आउने÷जाने गरिरहन्थे । तर संघीय सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दै आएका थिए । प्रधानमन्त्री पद जोगाउन प्रचण्डले समीकरण फेरिरहँदा कोशी सरकारमा पनि माओवादी नेताहरुले राजीनामा बुझाउने र शपथ लिने क्रम चलिरहन्थ्यो । 

ती सबैजसो सरकारमा माओवादी सहभागी भएको थियो । १० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्री बनाउँदा कोशीमा माओवादीको समर्थन लिएर हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए । तर माओवादीले समीकरण फेर्दा कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट समर्थन फिर्ता लियो । 

माओवादीको समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री बने । थापा नेतृत्वको सरकारमा पनि माओवादी सहभागी भयो । तर थापाले विश्वासको मत पाउने अवस्था थिएन । यद्यपि दुईपटक थापा मुख्यमन्त्री बने, माओवादी साझेदार दल बन्यो । 

फेरि हिक्मत कार्की मुख्यमन्त्री भए । यो सरकारमा भने माओवादी सहभागी भएन । अर्को सरकार कांग्रेसका नेता केदार कार्कीको नेतृत्वमा बन्यो । त्यसमा पनि माओवादी सहभागी थियो । 

तर कांग्रेस र माओवादीको गठबन्धन भत्केपछि एमालेका हिक्मत नै मुख्यमन्त्री बने । फेरि माओवादी सरकारका सहभागी थियो । तर शुक्रबार राजीनामा दिएर बाहिरिएको माओवादी भने अहिलेकै समीकरण रहेसम्म सत्तामा फर्कने संभावना देखिदैन । बरु शुक्रबार कोशीको सरकारबाट बाहिरिएसँगै अब माओवादी सबैतिर प्रतिपक्षी भूमिकामा गएको छ । 

यसरी सबै प्रदेश सरकारबाट बाहिरिएर प्रतिपक्षी भूमिकामा जाने निर्णयको थालनि भने केन्द्रबाट सुरु भएको थियो । गत १७ असारमा कांग्रेस–एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय भएपछि माओवादी प्रतिपक्षी शक्ति बनेको थियो । कांग्रेस र एमालेलाई अरु साना दलहरुले पनि साथ दिएपछि गत २८ असारमा प्रतिनिधि सभामा मत विभाजन हुँदा प्रचण्डको पक्षमा ७३ मत मात्रै परेको थियो भने विपक्षमा १९२ मत परेको थियो । 

त्यही मतविभाजनबाट माओवादी प्रतिपक्षी बन्न पुगेको हो । सत्तामा भने एमाले–कांग्रेस नेतृत्वमा रहेका दलहरु पुगेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise