
पर्सा : सशस्त्र प्रहरीले पर्साको सिमावर्ती ठोरी गाउँपालिका–४, निर्मलबस्तीबाट ९१ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले बुधबार राति गस्तीका क्रममा लागुऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक किशन केसीको कमान्डमा रहेको टोलीले जंगल मार्ग हुँदै भारततर्फ गाँजा लैजाने तयारीमा रहेको १०–१२ जनाको समूहबारे गुप्त सूचना पाएपछि खटिएको थियो । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि तस्करहरूले गाँजा फालेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनास्थलबाट ६ वटा प्लास्टिकका पोका फालिएको अवस्थाम फेला परेका थिए । ती पोखामा ९१ किलो गाँजा भएको पुष्टि भएपछि बरामद गरिएको सशस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्टले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले जनाएको छ ।