२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूसी कब्जामा रहेको भू–भाग त्याग्ने जेलेन्स्की संकेतको आलोचना, युक्रेन वार्ता गर्न तयार

shivam cement
२०८२ मंसिर २८ गते १८:५९
Shares
रूसी कब्जामा रहेको भू–भाग त्याग्ने जेलेन्स्की संकेतको आलोचना, युक्रेन वार्ता गर्न तयार

किएभ : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्णरूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे । 

गत महिना ट्रम्पले सार्वजनिक गरेको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भू–भाग त्याग्नुपर्ने संकेत रहेको भन्दै आलोचना हुँदै आएको छ ।

यसैबीच वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भएको छ र युक्रेनी अधिकारीहरूले त्यसको संशोधित प्रस्ताव हालै वासिङ्टन पठाइसकेको जनाएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले संशोधित प्रस्तावमा अमेरिकाबाट औपचारिक प्रतिक्रिया नआए पनि आवश्यक सबै संकेतहरू प्राप्त भइरहेको बताए । ‘बर्लिनमा हुने शिखर वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । हामी अमेरिकी र युरोपेली दुवै पक्षसँग आज र भोलि बर्लिनमै भेट गर्दैछौं,’ उनको भनाइ थियो ।

ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पका दूत स्टिभ विटकफले शान्ति वार्ताको अवस्थाबारे छलफल गर्न यस सप्ताहन्तमा जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गर्नेछन् । 

जेलेन्स्कीले शान्ति योजनाले निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, ‘सबैभन्दा पहिले यो युक्रेनका लागि न्यायोचित हुनुपर्छ, किनकि युद्धको सुरुआत रुसले गरेको हो ।’

यसैबीच, सन् २०२२ मा रुसले आक्रमण गरेयता दशौं हजार मानिसको ज्यान लिएको युद्ध अझै जारी छ । पछिल्लो प्रयासका बीच युक्रेनले नयाँ रूसी हवाई आक्रमणको रिपोर्ट गरेको छ । युक्रेनी वायु सेनाका अनुसार रूसले रातारात १ सय ३८ वटा ड्रोन र एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

खेरसनमा रहेको एक अस्पतालमा ड्रोन प्रहार हुँदा एक नर्ससहित दुई जना घाइते भएका छन् भने जापोरिझिया क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । –रासस/एएफपी

सम्बन्धित खबर