–खिमराज गिरी
बहुदलीय प्रजातन्त्र र गणतन्त्र आएको यतिका वर्ष भइसक्यो । तर, के रगतको खोलो बगाएर ल्याएको प्रजातन्त्रको वास्तविक जीवन्तता पाउन सकिएको छ त ? यस विषयमा अहिले व्यापकरूपमा बौद्धिक जगत, विज्ञ बहस, चुलाचौका, चौतारी अनि खेतबारीमा समेत चर्चा हुन थालेको छ । वि.सं. २००७ सालमा जनताले प्रजातन्त्र प्राप्त गर्नुको पछाडिको कारण राणा शासनको एकलौटी शासन तथा हैकमवाद कारकको रूपमा रहँदा त्यसमा स्वयम् स्व. राजा त्रिभुवन र राजपरिवार पनि पीडित थियो । तथापि, सत्ता परिवर्तनको कारक तत्व भनेको सत्तामा बस्नेहरूको सत्ता स्वार्थको एकाधिकारवाद नै थियो ।
वि.सं.२००७ सालदेखि २०१७ सालसम्म प्रजातान्त्रिक व्यवस्था त कायम रह्यो तथापि, त्यो अवधिमा नेपाली कांग्रेसको बहुमतको सरकार हुँदा पनि आफ्नै आन्तरिक कारण, विदेशी हस्तक्षेप तथा राणाहरूमा पनि सत्ता छोड्दाको हुटहुटीले अन्ततः राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेरै छोडे । पञ्चायतकालको ३० वर्षको अवधिमा सञ्चार माध्यममा प्रतिबन्ध, शासन सत्ताको चाबी राजाको हातमा, राजाको आशीर्वाद नै सत्ता प्राप्तिको चाबी आदि कारणले प्रायः नेताहरू दरबारको वरिपरि रमाउन थाले, जसले गर्दा देश जनताको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार खोसिन पुग्ने नै भयो । जसको प्रभाव विभिन्न दलहरू, सामाजिक अभियन्ता, जनता तथा सञ्चार माध्यमको ठूलो भूमिकाको कारण नै वि.सं.२०४६ सालको परिवर्तन सम्भव भयो ।
तर प्रजातन्त्र प्राप्तिको लागि भएको ठूलो संघर्ष सत्ता खेलमा पुग्दा पुनः कमजोर बन्यो । जुन एक दशककै बीचमा विकल्प खोज्ने अवस्थामा आइपुग्यो । संवैधानिक दायरामा पुगेको राजसंस्थाले पनि आफूलाई संविधानमाथि पार्न खोज्यो भने दलहरूको भूमिका पनि जनअपेक्षित बन्न सकेन । जसको कारण छोटो अवधीमै गणतन्त्रका लागि जनता सडकमा ओर्लने अवस्था बन्यो ।
१० वर्षे सशस्त्र युद्ध र २०६२/०६३को ऐतिहासिक आन्दोलनको जगमा मुलुक हिँडिरहेको छ । आन्दोलनबाट प्राप्त गणतान्त्रिक व्यवस्थामा हामी छौं । यद्यपि, अन्तिम विकल्प मानिने यो व्यवस्थाभित्रै पनि तमाम विकृति देखिएका छन् । निश्चित नेताको वरिपरि शासन रिंगिरहेको छ । मुलुक एकपछि अर्को गरी पराधिनता उन्मुख छ । सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । रोजगारी, आर्थिक क्रान्ति, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता तथा सांस्कृतिक धरोहरका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बर्द्धताबारे नारामा मात्र सीमित छ । गणतान्त्रिक व्यवस्थाभित्र दैनिक हजारौं युवा विदेशिएका छन् । दसौं वर्षको नेपालको मिहिनेतको फल आखिर विदेशीको पोल्टामा सुम्पिन बाध्य छ नेपाल सरकार ।
नीति परिमार्जन गरिन्छ तर, नैतिकताको धरातल कमजोर छ । नियम बनाए पनि नियतिमा खोट लाग्छ । नेता सत्तामुखी, कार्यकर्ता नेतामुखी साथै, जनता केवल मतदानको सेरोफेरोमा रमाउने बाहेक न त नेतृत्वमा विवेक रह्यो न त कार्यकर्ता र जनतामा । गाउँका खेतबारी बाँझो मात्र होइन, ढकमक्क फुलेका ती बगैंचा अनि लटरम्म फलेका धान, मकै, कोदो, रहर, फापर अनि फलफूलका बँगैचाहरू अहिले प्राकृतिक बनमारा घाँसको आक्रमणमा परि सुडानका जनता त्यहाँका विद्रोहीको घेरामा परेजस्तो घेरिइरहेका छन् । किनकी अहिले गाउँघरका बस्ती सबै उजाड पहाड र जंगलमा परिणत भइसकेका छन् । केही मानिस सहर, केही मानिस बेसी अनि केही परदेशी आखिर कसले धान्ने ती हराभरा पहाडको अस्तित्व ? पहिला घनाबस्ती भएका ती सुन्दर गाउँबस्तीहरूमा अहिले जंगली वन्यजन्तुको राजकाज चलिराखेको छ । दिनदहाडै बाँदरको आक्रमणले पातलिएका बस्तीहरूमा डर र त्रास फैलिएको छ ।
यसो हुनाको कारण राजनीतिक नेतृत्वको कमजोरी, विदेशिने युवा तथा शहरीकरणको लालच, सुखसुविधामा रुमलिने प्रवृत्ति, धार्मिक तथा सांस्कृतिक विचलन, अर्काको देखासिकीका साथै सौखिन मनोवृत्ति नै प्रमुख कारणको रूपमा देखिएको छ । यसको लागि सरकारी तवरबाट गर्नुपर्ने पहिलो पहल भनेको नेता आफैं सच्चिने, नीति निर्माणको तहमा स्पष्ट कानुनी प्रावधान, जुनसुकै दलको सरकार आएपनि भारतमा जस्तो परराष्ट्र नीति एउटै हुनुपर्ने, शैक्षिक क्षेत्रको पाठ्यक्रममा व्यापक सुधार, कक्षा एकदेखि नै सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने, जातीय तथा क्षेत्रीय द्वन्द्वको विषयलाई धार्मिक मुद्दामा परिणत गरी समाजमा फैलाउन लागिएको विकृति र बिसंगतीको बेलैमा अन्त्य गर्ने, प्राकृतिकरूपमा हराभरा नेपालको हरेक क्षेत्रमा रहेका जडिबुटी, रूख, बोटविरुवा, खनिज पदार्थ अर्थात् जल, जमिन, जंगल, जनावर, जडिबुटी तथा जनसरोकारका विषयमा कसरी सदुपयोग गर्ने भन्ने तर्फ राज्य संयन्त्रको ध्यान खिच्नुपर्ने, प्रत्येक पालिकामा निष्पक्ष तथा दलविहीन दबाब समूह गठन गर्नुपर्ने र जसको काम, कर्तव्य अधिकार जनसरोकार तथा विकाससम्बन्धी कुराहरूमा निहित हुन सकुन् । विदेशिएका युवाहरूबारे किन र कसरी के कारणले यसको अवस्था पहिचान गरी राष्ट्रियरूपमा एक सशक्त बुद्धिजीवी परिषद् गठन गरेर यसबारेमा सरकारलाई सुझाव दिने तथा हरेक युवाहरूमा स्वदेशमा नै आफ्नो श्रम र शक्ति परिचालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।
यसरी नेपालमा प्रजातन्त्र आएपश्चात् विकासको लहर त छाएको छ तथापि जति विकास हुनुपर्ने हो त्यति विकासको लक्ष्य प्राप्त गर्न नसक्नुको मुख्य कारण नै भ्रष्टाचार तथा प्रशासनमा बस्नेहरूको सात पुस्तासम्मको लागि कमाइको चिन्ता हो । राजनीतिकरूपमा नेतालाई सत्तामा पु¥याउने काम जनताको हो तर, प्रजातन्त्रमा जनताद्वारा जनतालाई नै शासन गरिन्छ भन्ने मान्यता व्यवहारमा लागू हुन सकेको छैन । देशको विगतको राजनीतिक गतिविधिलाई औंल्याउने हो भने चुनावको बेलामा हरेक घरघरमा समृद्धिका रेखाहरू कोरिन्छन्, गाउँगाउँमा बाटाघाटाहरू मोडिन्छन्, विकासले छलाङ मार्छन्, जनतालाई चकित पार्छन्, तर चुनाव सकिएपछि ती सबै बोली खोलीसँगै बगेर जान्छन् । भ्रष्टाचारीहरूको स्वर ठूलो हुन्छ किनकी उ भ्रष्टाचार गरिसकेपछि यसको विरोध गर्न माइतिघर मण्डला पुग्दछ । विरोध गरिसकेपछि पुनः उ भ्रष्टाचारमा नै लिप्त हुन्छ र सातपस्ताको चिन्तनमा रुमलिन्छ । त्यसैले दक्षिण एसियाका राष्ट्रहरूमा अफगानिस्तान पछिको नेपाल भ्रष्टाचार गर्ने मुलुकमा दुई नम्बरमा पर्दछ ।
त्यही कमाउने र सातपुस्तालाई रमाउने वातावरण मिलाउनको लागि नै सत्तामा पुग्ने हुटहुटी जागेको छ, नेपालको राजनीतिक फाँटमा अनि ती पात्रहरूमा । त्यसैले भन्ने गरिन्छ किः बुद्धि बेचेर खानेहरू अमेरिका, अष्ट्रेलिया अनि क्यानडातिर, श्रम बेचेर पसिनाको कमाई खानेहरू खाडी मुलुकतिर, एक छाक खान संघर्ष गर्नेहरू गाउँघरतिर, आलोकाँचो तथा बेमौसमी बाजा बजाउन जान्नेहरू सहरबजारतिर अनि कहीँ कतै पहुँच नभएकाहरू अलपत्र अवस्थामा रहन्छन् ।
तसर्थ, दिनानुदिन नेपाली समाजमा न त लेख्न सकिने न त देख्न सकिने घटनाहरू घटिरहेका छन् तथापि, देशबाट युवाहरू पलायनको अवस्था बढिरहेको छ । तर अझै पनि कर्मभन्दा पनि भाग्यमा विश्वास गर्ने हाम्रो जस्तो नेपाली समाजमा विकृति र विंसगतिको कालो बादल मडारिइरहेको छ । तसर्थ, गोल्डस्मिथले भनेका पनि थिए कि, “विकृति रहेको समाजमा कानुनले गरिबमाथि र धनीले कानुनमाथि शासन गर्दछन् ।”
नेपाली राजनीतिक फाँट नै कमाउ धन्दाको लागि यति उर्वरा भूमि भइदियो जहाँ प्रायः सत्ताको वरिपरि केन्द्रदेखि तलसम्म नै रमाउनेको लर्को लाग्न थाल्यो । लामो समयसम्म टिकाउ सरकार नहुनु र विभिन्न गठबन्धनलाई कुर्चीको भाग पु¥याउन खेलिने सत्ताको हुटहुटी खेल नै अहिलेको आर्थिक अभाव र सामाजिक विकृतिको कारक तत्व हो । पहिलाको हैसियत बिर्सिएर अहिले सबै नभनौ केही नेतृत्वहरू फ्रान्सका सम्राट नेपोलियन बोनापाटेकी श्रीमती जोसेफाइनको जस्तो सौखिन अवस्थामा पुग्न सफल भएका छन् । उनले एक पटक लगाएको जुत्ता अर्को पटक लगाउन इन्कार गर्दथिन् भनिन्छ । हो, त्यस्तै भइसक्यो अहिले नेपाली केही नेतृत्वकर्ताहरूको जीवनशैली ।
तसर्थ, अब पनि सचेत नभए कहिले हुने र प्रत्येक टोल, समाज तथा गाउँगाउँबाट एउटा दबाब समूह गठन गरी राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक सचेतना कार्यक्रम सञ्चालन गरी मिडिया क्षेत्रसँग समन्वय गर्न अत्यन्त जरुरी भइसकेको अवस्था छ । सबै जनाले पत्रपत्रिका पढ्ने बानी बसाल्नु पनि जरुरी देखिन्छ । किनकी यस्ता सामाग्रीको उपादेयता भनेको सामाजिक एकताको भावना जागृत गराउने नै हो, जसले घरको एक व्यक्ति बदलिएर सचेत हुनु भनेको परिवार सचेत हुनु हो र परिवारबाट समाज अनि राष्ट्र ।